साप्ताहिक संवाददाता
अमेरिकी गायिका जेनेट ज्याक्सन जनावरप्रेमी गायिकाका रूपमा चिनिन्छन् । एक समय उनका वरपर निकै संख्यामा जनावर हुन्थे । हालै जेनेटले ‘द टुनाइट शो स्टारिङ जिमी फैलोन’ नामक शोमा आफ्नो जनावर प्रेमबारे खुलाएकी छन् । उनले जनावरसँग आफूले लामो समय बिताएको र त्यो क्षण आफ्ना लागि निकै स्मरणीय रहेको खुलाएकी हुन् ।
‘हामीसँग एक हरिणको बच्चा, जंगली भेडा, मयूर र एक जिराफ थियो । मेरो काम उनीहरूलाई खाना खुवाउनु र उनीहरूको सफाइ गर्नु थियो’, उनले भनेकी छन्, ‘तर अहिले व्यस्तताका कारण उनीहरूलाई पूर्ण समय दिन सकेको छैन ।
उनीहरूको स्याहारमा म निकै थकित हुन्छु । मलाई सुत्नका लागि पनि सही समय मिलेको छैन ।’ उनले आफ्नो आमाले जनावरको स्याहार गरेको देखेर आफू प्रेरित भएको बताएकी छन् । उनले आगामी दिनमा पनि आफूले जनावरको सेवा गरिरहने उल्लेख गरेकी छन् । आफूले जनावरलाई स्याहारसुसार गरे पनि अन्यले आफ्नो कार्यमा मद्दत नगरेको देख्दा आफूमा खिन्नता आएको बताइन् ।