साप्ताहिक संवाददाता
अन्तत: अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीको लगनगाँठो कसिने मिति तय भएको छ । प्रियंकाले इन्स्टाग्राममार्फत यही फागुन १५ गते आयुष्मानसँग लगनगाँठो कस्ने घोषणा गरेकी हुन् ।
यसअघि उनीहरूले फागुन १७ मा विवाह गर्ने योजना बनाएका थिए, तर ज्योतिषले दुई दिनअघिकै साइत शुभ हुने बताएपछि उनीहरूले पूर्वनिर्धारित मितिभन्दा दुई दिनअघि नै विवाह गर्ने निर्णय गरेका हुन् ।
यसअघि दुई पटक इन्गेजमेन्ट गरिसकेको यो जोडीले विवाहअघि नै ललितपुरको भैंसेपाटीमा आफ्ना लागि घरसमेत किनिसकेको छ । यतिबेला उनीहरू त्यही घर सजाउन लागिपरेका छन् । विवाहपछि उनीहरू त्यही नयाँ घरमा बस्नेछन् ।
प्रियंकाले अभिनय गरेको पछिल्लो चलचित्र हो— लक्का जवान । त्यसपछि उनले कुनै पनि चलचित्र साइन गरेकी छैनन् । आगामी चैतदेखि मात्र आफू पुन: अभिनयमा फर्किने प्रियंकाले स्पष्ट पारेकी छन् ।