दुई साताअघि हलमा एकसाथ दुई नेपाली चलचित्र रिलिज भए– विपिन कार्कीको ‘सेल्फी किङ’ र विराज भट्टको ‘साङ्लो’ । ‘सेल्फी किङ’ मा ट्रेलर रिलिज हुँदै चर्चा कमाएको एउटा संवाद छ– ‘यो स्टारडम, सेलिब्रेटी, पपुलारिटी, फेम भन्ने कुरा छ नि, मूतको न्यानोजस्तो मात्रै हो । एकछिन तातो हुन्छ, मज्जा आउँछ । एकछिनपछि घिन लाग्न थाल्छ, गनाउँछ ।’ ‘साङ्लो’ रिलिजको पूर्वसन्ध्यामा अभिनेता विराज भट्ट प्रतिस्पर्धी चलचित्रको यो डायलगसँग सहमत थिएनन् । उनले भनेका थिए, ‘यी सब वाहियात डायलग हुन् । एउटा कलाकारको स्टारडम कहिल्यै सकिँदैन ।’
लगातार ५ वर्ष भोजपुरीमा काम गरेपछि ‘जय पर्शुराम’ मार्फत नेपालीमा फर्किएका उनी कमब्याक चलचित्र फ्लप भएको तीन वर्षपछि पनि यस्तै ठानिरहेका थिए । पहिलो कमब्याक चलचित्र असफल भएपछि फेरि भोजपुरीतिरै फर्किएका उनी तीन वर्षपछि पुन: नेपाली दर्शकमाझ आएका थिए । तैपनि आफूलाई नेपाली चलचित्रको ‘बाघ’को संज्ञा दिँदै भनिरहेका थिए, ‘म कतै हराएको थिइनँ । मात्रै जंगल परिवर्तन भएको थियो । अहिले फेरि आफ्नै जंगलमा आएको छु ।’
यतिमात्रै होइन, उनको थप दाबी थियो– ‘नेपालमा एक्सन हिरोहरू नै थिएनन्, त्यसैले एक्सन चलचित्र चलेनन् । अब म आएँ, केही हुन्छ ।’ तर, यति आत्मविश्वासका साथ रिलिज भएको उनको यो चलचित्रले एकाध हलमा एकाध शो हाउसफुल गर्नबाहेक अरू केही गर्न सकेन । अझ मल्टिप्लेक्स हलहरूले त चलचित्र नचल्ने ठानेर सुरुमै शो संख्या घटाइदिए । झन् क्युएफएक्स चेनले त ‘सेल्फी किङ’ लाई ३५ शो दिँदा यो चलचित्रलाई ११ शोमात्रै दिएको थियो । चलचित्र समीक्षकले समेत चलचित्रको आलोचना गरे । र, यसरी व्यापार र समीक्षा दुवै हिसाबले विराजको यो चलचित्र यसअघिको जस्तै कमजोर देखियो ।
० ० ०
अब फर्कौं चार वर्षअघि । लामो समयको आरामपछि ‘वागमती’ मार्फत अभिनेता राजेश हमाल नेपाली चलचित्रमा कमब्याक हुने घोषणा भयो । तामझामपूर्ण घोषणापछि धेरैलाई लाग्यो– ‘अब नेपाली चलचित्रमा राजेश दाइको दमदार कमब्याक हुने भयो ।’ चलचित्रमा निरन्तर काम गरेको करिब २७ वर्षपछि आराम लिएका राजेशलाई पनि कमब्याक हुँदा त्यस्तै लागेको थियो । कारण, चलचित्र बन्नुअघि यसको तडकभडक नै त्यस्तै थियो । निर्देशक मात्रै होइन प्राविधिकको ठूलो टिम पनि साउथ इन्डियाबाटै ल्याइएको घोषणा गरिएको थियो । चलचित्रको बजेट पनि २ करोड सुनाइएको थियो ।
यसरी तयार गरिएको चलचित्र रिलिज भएपछि ‘सुपरफ्लप’ भयो । यसले निर्मातालाई मात्रै होइन, राजेशलाई समेत निराश बनायो । तैपनि राजेशले हार मानेनन् । त्यसको केही समयलगत्तै उनी फेरि अर्को चलचित्रसँग जोडिए, ‘शकुन्तला’ । भूमिका बदल्दै आफूलाई महिला अवतारमा प्रस्तुत गरे । उनलाई लाग्यो, यो महिला अवतारलाई दर्शकले स्विकार्लान् । तर, फेरि नतिजा उही निराशाजनक निस्कियो । त्यसपछि अहिलेसम्म कमब्याक हुन नसकेका राजेश भन्छन्, ‘ती दुई चलचित्रपछि म निराश भएँ, त्यसैले सतर्कता अपनाइरहेको छु । अब म आफ्नो समय सुहाउँदो भूमिका आयो भने मात्र चलचित्र खेल्छु । चलचित्र गर्नका लागि मात्र त अब म चलचित्र गर्दिनँ ।’
० ० ०
धेरै कलाकार छन्, जो बजारमा चल्दाचल्दै चलचित्र क्षेत्रबाट टाढा भए । केही यस्ता पनि छन्, जसले केही समय आराम गर्ने बहाना सुनाउँदै चलचित्रबाट विश्राम लिए । पछिल्ला केही वर्षयता यसरी विभिन्न बहानामा हराएका कलाकारहरू अहिले नेपाली चलचित्र क्षेत्रमा फर्कने क्रम बढेको छ । तर, के उनीहरूसँगै उनीहरूको पुरानो क्रेज पनि फर्किरहेको छ त ?
उनीहरूको ‘कमब्याक करिअर’ रिभ्यु गर्दा थाहा हुन्छ, प्राय: सबैको परिणाम उस्तै छ– कमजोर, उनीहरूको सिनेमा जस्तै, सिनेमाले गरेको व्यापारजस्तै । चलचित्र समीक्षक अनुप सुवेदीका अनुसार एक समय चम्किएका स्टारहरूको कमब्याक कमजोर हुनुपछाडिको कारण उनीहरू परिवर्तन हुन नसक्नु नै हो ।
‘बजारले सधैं एउटै कुरा रुचाउँदैन । समयअनुसार बजारको रुचि परिवर्तन भइसक्यो,’ उनी भन्छन्, ‘तर, जो कमब्याक भए उनीहरू बजारमा स्वाद परिवर्तन भइसक्दा पनि पुरानै कुुरा बोकेर आए । यसरी सफल हुने कुनै सम्भावना थिएन र भएनन् पनि । अहिलेको ट्रेन्डअनुसारको कथा र अभिनय शैली लिएर आएको भए राम्रो हुन सक्थ्यो ।’
चलचित्र समीक्षक एवं निर्देशक मनोज पण्डितसमेत सुवेदीको मतसँग सहमत छन् । ‘दर्शक र चलचित्रकर्मी दुवैमा सिनेमा साक्षरता निकै कम भएका बेला जन्मिएका स्टारहरू अहिले आफूलाई कमब्याक भनिरहेका छन्,’ उनको विश्लेषण छ, ‘हिजो हिन्दी चलचित्रलाई महान ठानेर त्यसैको कपी गर्दै नेपाली सिनेमा बनाइन्थ्यो । र, तिनै चलचित्रमा अभिनय गरेर स्टार बनेकाहरू आज पनि त्यही पुरानै मनोविज्ञान बोकेर आइरहेका छन् । अहिले नेपाली दर्शकमा चलचित्र साक्षरता बढिरहेको छ, विकल्पहरू प्रशस्तै छन् भन्ने नुबझी आउँदा उनीहरू चिप्लिरहेका हुन् ।’
को–कसरी फर्किए ?
राजेश र विराज उदाहरण मात्रै हुन्, लामो समयपछि चलचित्रमा ‘कमब्याक’ हुने कलाकारको सूची लामै छ । सुरु गरौं ‘एक्सन किङ’बाटै । ‘वागमती’ चलचित्रबाट अभिनेता शिव श्रेष्ठ पनि नेपाली चलचित्रमा फर्किए । यसको प्रचार–प्रसार ब्यापक भएको थियो । तर, परिणामले राजेशसँगै उनी पनि निराश भए । त्यसपछि छोरा शक्तिलाई समेत डेब्यु गराउने तयारीसहित आफैं चलचित्र निर्माण गर्ने घोषणा समेत गरे– ‘एउटा यस्तो प्रेमकहानी ।’
चलचित्रका लागि १ करोडभन्दा बढी लगानीसमेत भयो । तर, डेढ वर्ष बितिसक्दा पनि उनको यो चलचित्र पूरा बन्न सकेको छैन । न आज चलचित्र जगत्मा उनको हिजोजस्तो खोजीनीति नै छ । न उनको चलचित्रलाई लिएर दर्शकमा चासो नै छ ।
२० वर्षअघि ‘पिजंडा’ चलचित्रमा सात तलाबाट हामफालेपछि एकाएक स्टार भएका थिए– अभिनेता निखिल उप्रेती । त्यसपछि करिब १० वर्षसम्म निरन्तर चलचित्रमा काम गरेर उनी एकाएक हराए । बजारमा खबर सुनियो– उनी बलिउडमा प्रवेशको प्रयास गर्न मुम्बई पुगे ।
प्रयास सफल भएन । बलिउड चलचित्र नगरीकनै मुम्बई पुगेको पाँच वर्षपछि उनी नेपाल फर्किए, सन् २०१५ मा । आफूलाई दर्शकले एक्सनमै रुचाएको भन्दै उनले कमब्याक गरेको चलचित्रको विधा पनि एक्सन नै थियो– ‘भैरव’ । चलचित्रले मल्टिप्लेक्सको हल नपाए पनि सिंगल थिएटरमा ‘ओपनिङ’ दर्शक राम्रै पायो तर अपेक्षित होइन ।
यो चलचित्रपछि पनि उनले थुप्रै एक्सन चलचित्र गरे, ‘लुटेरा’, ‘किङ’, ‘निर्भय’, ‘राधे’ लगायत । तर चलचित्रले सोचेजस्तो परिणाम नदिएपछि अहिले उनी सुस्ताएका छन् । उनी चलचित्र क्षेत्रमा ‘कमब्याक’ त भए तर अहिले न उनको पहिलेजस्तो चर्चा छ, न माग ।
लगातार बनाएका एक्सन चलचित्र दर्शकले सोचे जसरी नहेरिदिएपछि सायद उनी अहिले निराश छन्, त्यसैले खासै चलचित्र गरिरहेका छैनन् । ‘नाच्न जान्ने हिरो’को ट्याग पाएका दिलीप रायमाझी चलचित्र ‘दर्पणछायाँँ’ खेल्दाताका निकै हिट थिए । रोमान्टिक हिरोका रूपमा उनलाई रुचाइएको थियो । तर, अभिनय गरेर जीविकोपार्जन गर्न नसकिने महसुस भएपछि उनी एक्कासि अमेरिका भासिए । कम प्रचारसहितका चलचित्रमार्फत फर्किएर त आए तर उनको दोस्रो विनिङ सफल हुन सकेन । ‘चर्खा’, ‘रमिता’, ‘कहीँकतै’ लगायत अनेक चलचित्र गरिसके तर अझै ‘दर्पणछायाँ’ ले दिलाएको त्यो उचाइ फेरि भेट्न सकेका छैनन् ।
‘अहिले कमब्याक भइरहेका कलाकारहरू हिजो मलाई जस्तो भूमिकामा दर्शकले मन पराएका थिए, आज पनि त्यस्तै गर्यो भने मन पराउँछन् भन्ने मनोविज्ञानबाट अब मुक्त हुनुपर्छ,’ चलचित्र समीक्षक पण्डित भन्छन्, ‘अब निखिल उप्रेती, विराज भट्ट र दिलीप रायमाझीहरूले मलाई अझै दर्शकले सात तलाबाट हामफालेको, १० जना गुन्डालाई किक हानेको र छमछमी नाचेको मन पराउँछन् भन्ने मनोविज्ञान त्याग्नुपर्छ । नत्र सिनेमाका मामिलामा दर्शक साक्षर भइरहेको यो अवस्थामा त्यो पुरानो समय फर्किने चान्स छैन ।’
आफू चलिरहेकै बेला चलचित्र क्षेत्रलाई माया मारेर मुम्बई पुगेकी अर्की अभिनेत्री हुन्, निरुता सिंह । चलचित्र क्षेत्रमा खराब मान्छेहरू प्रवेश बढेपछि आफूले चलचित्र खेल्न छाडेको बताउने उनी लामो समयपछि दुई वर्षअघि ‘नाइँ नभन्नु ल ५’ बाट नेपाली चलचित्रमा फर्किइन् । तर, यो चलचित्रमा उनको केमियो रोलमात्रै थियो । त्यसपछि महजोडीले बनाए, ‘दाल भात तरकारी’ । जहाँ उनी हरिवंश आचार्यको जोडीका रूपमा प्रमुख भूमिकामा देखिइन् । निर्माण युनिटको दाबीअनुसार चलचित्रले व्यापार त राम्रै गर्यो । तर, अधिकांश समीक्षकले चलचित्रसँगै निरुताको अभिनय कमजोर रहेको भन्दै आलोचना गरे ।
निरुता स्वयम् स्वीकार्छिन्, ‘आफ्नो अभिनय देखेर मलाई लाज लाग्छ । भगवान मान्छेले मलाई कसरी चलचित्रमा काम दिएको भन्ने लाग्छ । आजसम्म पनि म मेरो अभिनयबाट कहिल्यै सन्तुष्ट भइनँ ।’ निरुताको ‘कमब्याक’ले उनको करिअरमा कुनै कमाल गर्न सकेन । त्यसैले निरुता चित्त बुझाउँछिन्, ‘अहिले नयाँ पुस्ताहरू आइरहेका छन्, यसमा मैले डाह गर्नुको कुनै अर्थ छैन ।’ र, यही सत्य स्वीकारेर अहिले निरुता मुम्बई फर्किसकेकी छन् ।
चलचित्र क्षेत्र छाडेर लामो समय अमेरिका बिताउने कलाकार धेरै छन् । करिष्मा मानन्धर, सरोज खनाल, रमेश उप्रेती, गौरी मल्ल लगायत तिनैमध्येका हुन् ।
करिष्मा त करिब ९ वर्ष अमेरिका बसेर नेपाल फर्किएकी थिइन् । तर, उनको कमब्याकले पनि कुनै जादु गर्न सकेन । आफ्नै लगानीमा ‘फागु’ चलचित्रसमेत निर्माण गरिन् उनले । तर, फ्लप भयो । त्यसपछि निराश उनी अचेल अभिनयमा सक्रिय छैनन् । तैपनि ‘सदावहार अभिनेत्री’को ट्यागसहित कार्यक्रममा आतिथ्यता ग्रहण गर्दै रमाइरहेकी छिन् । १५ वर्ष अमेरिका बसेर नेपाल फर्किएका सरोज खनाल अहिले चलचित्र त पाइरहेका छन् तर पहिलेजस्तो ‘हिरो’ बनेर होइन, हिरोको बाबु बनेर । समयअनुसारको परिवर्तन भन्दै यसमै रमाइरहेका छन् ।
एक समय चल्तीका ‘चकलेटी हिरो’ थिए, रमेश उप्रेती । चकलेटी चलचित्रका दर्शकले रुचाइरहेकै बेला अमेरिका हराए । सात वर्षपछि चलचित्र ‘ब्रासलेट’ मार्फत कमब्याक त भए तर चलचित्र सुपरफ्लप भयो । तैपनि निराश भएनन् । आफ्नै लगानीमा दोस्रो चलचित्र बनाए, ‘ऐश्वर्य’ । र, भन्न थाले– ‘योचाहिँ मेरो कमब्याक चलचित्र हो ।’ चलचित्रले धमाकेदार व्यापार त गरेन तर औसतमा चित्त बुझाउने बाटो खोलिदियो । यो चलचित्र रिलिज भएको दुई वर्ष भइसक्यो तर रमेश अझै चलचित्रमा देखिएका छैनन् । यसले प्रस्टै संकेत गर्छ, उनको कमब्याक पनि धमाकेदार हुन सकेन । भइदिएको भए सायद यतिखेर उनीसँग चलचित्रको ताँती हुन्थ्यो ।
कमजोर किन ?
चलचित्र क्षेत्रका कलाकार जो फेरि पहिले जसरी धमाल मच्चाउँछु भन्ने अपेक्षासहित फर्किए, उनीहरू कसैले आफ्नो पुरानो क्रेज फर्काउन सकेनन् । न अहिलेको चलचित्र पुस्ताले उनीहरूलाई स्विकार्यो ।
‘यदि पात्र निर्माणमा उनीहरू आधुनिक भइदिएको भए, समयअनुसार आफूलाई अपग्रेड गर्न तयार भइदिएको भए, चलचित्रको सिर्जनात्मकतामा ध्यान दिएको भए आज पक्कै ती कमब्याक भएका कलाकारहरूको नतिजा सुखद हुने थियो,’ चलचित्र समीक्षक पण्डित भन्छन्, ‘तर, यहाँ त स्टारडमकै धमास ज्यादा भयो, मैले जे जानेको छु त्यो नै सबथोक हो भन्ने भ्रम ज्यादा भयो, म जे गर्नु सक्छु त्यो नै दर्शकले रुचाउँछन् भन्ने आत्मविश्वास बढी भयो । र, यही कारण उनीहरूको कमब्याक कमजोर भइरहेको हो ।’
कमब्याक भएका कलाकारको चलचित्र हेर्दा देखिन्छ पनि त्यस्तै । उदाहरणका लागि विराजकै नयाँ चलचित्र ‘साङ्लो’लाई लिन सकिन्छ । चलचित्र रिलिज हुनुअघिसम्म उनले ठूलै फुर्तीफार्तीसहित दाबी गरेका थिए, ‘नेपालमा म जत्तिको एक्सन गर्ने हिरो नै छैन ।’
तर, उनको चलचित्र हेर्दा त्यहाँ अनावश्यक फाइटहरूको कलेक्सन र उनको सिक्स प्याक बडीबाहेक अरू केही छैन् । ५ वर्ष भोजपुरी सिनेमामै हराएका उनलाई थाहा हुनुपर्ने हो, ‘नेपाली चलचित्रका लागि यो फर्मुला अब वासी भइसक्यो ।’ तैपनि चलचित्र समीक्षक पण्डितले भनेझै उनमा पुरातन मानसिकता नै हावी देखियो । विराज मात्रै होइन, अधिकांश कलाकार पुरानै मनोविज्ञानबाट निर्देशित देखिन्छन् । निखिल, दिलीप, राजेश, करिश्मा, विराज सबैका कमब्याक चलचित्र हेर्दा लाग्छ, उनीहरू फर्किन त फर्किए तर आफूलाई समयअनुसार अपग्रेड गर्न सकेनन् । चलचित्र निर्माण र चरित्र निर्वाहको पुरानो ढर्रालाई समयसँगै छाड्न सकेनन् ।
‘कलाकारहरू मान्छन्, हामी सधैं जीवित हुन्छौं, सधैं शक्तिशाली हुन्छौं तर यो भ्रम हो । किनभने खासमा कलाकार होइन, उनीहरूले निर्वाह गर्ने पात्रचाहिँ सधैं बाँच्ने हो, सधैं शक्तिशाली हुने हो,’ चलचित्र निर्देशक पण्डितको टिप्पणी छ, ‘कलाकारले आफ्नो नाम, आफ्नो स्टारडमभन्दा महत्त्वपूर्णचाहिँ पात्र हुन्छ भन्ने बुझ्न सकेको भए सायद उनीहरूको कमब्याक सफल हुन सक्थ्यो । किनभने त्यतिबेला उनीहरूको ध्यान पात्र निर्माणतर्फ हुन्थ्यो । तर, यहाँ त हिजो मैले घ्यू खाएको हो त्यसैले आज पनि बलियो हुनुपर्छ भन्ने मनोविज्ञान हावी छ । र, यही मनोविज्ञानले उनीहरूलाई डुबाइरहेको छ ।’
जो तयारीमा छन्
अझै केही पुराना कलाकार कमब्याकको तयारीमा छन् । राजेश हमालदेखि करिश्मा मानन्धर सबै उचित समय र स्क्रिप्टको पर्खाइमा रहेको बताउँछन् । क्रिकेटर शरद भेषवाकरसँग विवाह गरेपछि अभिनेत्री निशा अधिकारी पनि चलचित्रबाट टाढा छिन् । २१ महिनाअघि अमेरिकामा छोरा जन्माएकी उनीसमक्ष अहिले प्रश्न उठेको छ– ‘कमब्याक कहिले हुने ?’ उनको जवाफ छ, ‘म अहिले फुलटाइम मदर भएर बसिरहेको छु । अब विस्तारै कमब्याक गर्ने सोच छ । वान्स एन आर्टिस्ट, अलवेज एन आर्टिस्ट ।’
कमब्याकको तयारीमा रहेका नयाँ कलाकारलाई चलचित्र समीक्षक सुवेदीको सुझाव छ, ‘यदि कोही फेरि कमब्याक हुन चाहन्छ भने उसले बजारको ट्रेन्डअनुसार आफूलाई ढालेर, सिकेर नयाँ कुरासहित आउन सक्नुपर्छ । नत्र हालत अरुकोजस्तै कमजोर नै हुन्छ ।’
स्टारडमकै धमासले असफल
मनोज पण्डित -फिल्म समीक्षक/निर्देशक
हिजो जस्ता चलचित्रहरू चल्थे, ती एकदमै कमजोर थिए । ती चलचित्रहरूलाई सिर्जनात्मक कसीमा तौलेर हेर्ने हो भने उच्च कोटीका थिएनन् । ०५२/०५३ साल पछाडि हामीले अत्यन्तै कमजोर चलचित्रहरू पायौं र दर्शकले त्यसैमा चित्त बुझाउनुपर्ने बाध्यता भयो । यस अवधिमा खासगरी हिन्दी चलचित्र कपी गरेर नेपाली बनाइन्थे । ती कालखण्डमा जन्मिएका ‘स्टार’हरू जसको हामी अहिले कमब्याकको चर्चा गरिरहेका छौं, उनीहरूसँग चलचित्रको अत्यन्तै कम ज्ञान थियो ।
चलचित्र साक्षरता कम भएका मान्छेहरू चलचित्र बनाइरहेका थिए । र, त्यतिबेला जसले स्टारडमको कुरा गरिरहेको थियो, खासमा उनीहरू नै नेपाली चलचित्रको विकासमा बाधक थिए । र, ०५२ सालपछिका दुई दशक त नेपाली चलचित्र क्षेत्रका लागि ‘कालो समय’ नै बन्यो । यो समयमा कलाकार, निर्देशकमात्रै होइन, दर्शकहरूमा पनि चलचित्र साक्षरता एकदमै कम थियो । यसबेला हिन्दी चलचित्रलाई महान् मानेर त्यसैको कपीमा बनेका चलचित्रहरूमा अभिनय गरेर स्टार बनेका ति कलाकारहरू ‘कमब्याक’ हुँदा सफल हुने त चान्स नै छैन ।
अहिले त दर्शकहरूमा चलचित्र साक्षरता बढिरहेको छ । उनीहरूसँग जस्तो खोजे त्यस्तै विकल्प छन् । यस्तो अवस्थामा त्यही पुरातन मनोविज्ञान बोकेर चलचित्र फर्किएका कलाकारहरू असफल हुनु स्वाभाविक हो । अर्को कुरा, अहिले केही थिएटरबाट आएका एक्टर बाहेक अधिकांश कलाकारलाई कथा के हो, बलियो कथा कस्तो हुन्छ, बलियो पात्र कस्तो हुन्छ, पात्रहरूले कस्तो–कस्तो तत्त्व बोकेको हुनुपर्छ इत्यादि कुराको ज्ञान नै छैन । यदि त्यो ज्ञान हुँदो हो त उनीहरू जुनसुकै कालखण्डमा आए पनि त्यो पात्रलाई बलियो बनाउन काम गर्थे र पात्र बलियो भएको अवस्थामा कथाको निर्माणमै महत्त्वपूर्ण भूमिका खेल्थे । त्यसपछि उनीहरू कलाकारभन्दा माथि उठेर सर्जक हुन्थे र चलचित्रको सिर्जनाशीलतामै अहम् भूमिका खेल्न सक्थे ।
हाम्रो विडम्बना भन्नुपर्छ, हिजोको चलचित्र मेकिङका बेला कलाकारलाई त के निर्देशकलाई समेत यी कुराको आवश्यकता पर्थेन । क्यामेरामा उभिन सक्ने, अलिकति वलिष्ठ, दुई/चारवटा स्टेप नाच्न जान्ने भएपछि निर्माता/निर्देशकसँग पहुँच भयो भने र खल्तीमा केही पैसा भयो भने कलाकार बनिन्छ भन्ने मानसिकता थियो । धेरैजसो कलाकार ‘पर्फमिङ आर्ट’मा प्रशिक्षित थिएनन् ।
त्यो समय धेरैजसो कलाकार कि डान्स सेन्टरबाट आइरहेका हुन्थे, कि ज्यान बनाएर जिम हलबाट । तर, नाच्न जान्नु, सुगठित शरीर बनाउनु र पात्रको अभिनय गर्नु त नितान्त फरक कुरा हो । यो त सिद्धान्तसँग जोडिने कुरा हो ।
अब यस्तो अवस्थामा जन्मिएका स्टारहरू आज फर्किंदा पनि उही मानसिकता बोकेर फर्किरहेका छन् । आज पनि त्यस्तै चलचित्र चल्छ भन्ने ठानिरहेका छन् ।
कलाकारहरू मान्छन्, हामी सधैं जीवित हुन्छौं, सधैं शक्तिशाली हुन्छौं । तर, यो भ्रम हो । किनभने खासमा कलाकार होइन, उनीहरूले निर्वाह गर्ने पात्रचाहिँ सधैं बाँच्ने हो, सधैं शक्तिशाली हुने हो, राम्रोसँग निर्वाह गरेको खण्डमा । कलाकारले आफ्नो नाम, आफ्नो स्टारडमभन्दा महत्त्वपूर्णचाहिँ पात्र हुन्छ भन्ने बुझ्न सकेको भए सायद उनीहरूको कमब्याक हुन सक्थ्यो । किनभने त्यतिबेला उनीहरूको ध्यान पात्र निर्माणतर्फ हुन्थ्यो ।
तर, यहाँ त हिजो मैले घ्यू खाएको हो, त्यसैले आज पनि बलियो हुनुपर्छ भन्ने मनोविज्ञानले उनीहरूलाई डुबाइरहेको छ । दर्शक अहिले चलचित्रमा स्टार होइन, पात्र हेर्न खोजिरहेका छन् । चलचित्रलाई लिएर संसारमा दुइटा भनाइ छन् । एकथरी भन्छन्– ‘रिपिटेसन’ चल्छ, अर्कोथरी भन्छन् यस्तो चल्दैन । तर, मेरो दृष्टिकोणमा एउटै कुरा १० पल्ट कोच्याउन खोज्यो भने त्यो चल्दैन । अझ कला साहित्यको हकमा त उही स्वाद सधैं काम लाग्दैन । उदाहरण, शाहरूख खानलाई ‘दिल्वाले दुल्हनिया लेजाएगें’ फिल्ममा जस्तै अझै पनि रोमान्टिक हिरोको भूमिकामा देखाउँदा चल्छ भन्ने मनोविज्ञानले अहिले शाहरूख फसादमा छन् । त्यस्तै नेपालमा दिलीप रायमाझीलाई ‘दर्पणछायाँ’ जस्तै भूमिकामा दोहोर्याउन खोज्दा उनीहरू डुबे ।
अब निखिल उप्रेतीले मैले सात तलाबाट हाम फालेको अझै दर्शक हेर्न रुचाउँछन् भन्ने मनोविज्ञानलाई परै राख्नुपर्छ । विराज भट्टले मलाई अझै दर्शकले १० जना गुन्डालाई किक हानेको मन पराउँछन् र दिलीप रायमाझीले मलाई अझै दर्शकले नाचेको हेर्न चाहन्छन् भन्ने मनोविज्ञान त्याग्नुपर्छ ।
यदि पात्र निर्माणमा आधुनिक भइदिएको भए, समयअनुसार आफूलाई अपग्रेड गर्न तयार भइदिएको भए, सिर्जनात्मकता ध्यान दिएको भए आज पक्कै ती कमब्याक भएका कलाकारहरूको नतिजा सुखद हुने थियो । तर, यहाँ त स्टारडमकै धमास ज्यादा भयो, मैले जे जानेको छु त्यो नै सबथोक हो भन्ने भ्रम ज्यादा भयो, म जे गर्न सक्छु त्यो नै दर्शकले रुचाउँछन् भन्ने आत्मविश्वास बढी भयो । र, यही कारण उनीहरूको कमब्याक कमजोर भइरहेको हो जस्तो लाग्छ ।