साप्ताहिक संवाददाता
काठमाडौंको गौशालास्थित भण्डारखाल मर्निङ ट्रयाकमा एकाबिहानै हिँडिरहेका भेटिए— विनोद गौतम । उनी बिहानी समयमा नियमित हिँड्न थालेको झन्डै १५ वर्ष बितिसक्यो । भीमसेनगोला घर भएका उनी हरेक बिहान २ घण्टा हिँड्दा रहेछन् । चिसो मौसममा ७ बजे घरबाट निस्कने उनी गर्मीमा ४ बजे नै निस्कन्छन् । पहिले घरबाट एयरपोर्ट हुँदै वनकालीसम्म दौडिन्थे, तर दुर्घटनाका कारण शरीरमा समस्या भएपछि दौडिन भने छाडेका छन् । केही वर्षयता मधुमेहबाट पीडित ५५ वर्षीय गौतम भन्छन्, ‘शरीरमा रोग देखा परेपछि त झनै हिँड्न थालेको छु । यसले मधुमेहलाई पनि नियन्त्रण गरेको छ ।’
मर्निङ वाकले शारीरिक र मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पारेको अनुभव गर्ने गौतम एक्ला होइनन् । बझाङ घर भएर हाल सिनामंगल बस्दै आएकी आस्था जोशी अर्की प्रतिनिधि हुन् । दुई वर्षदेखि निरन्तर मर्निङ वाक गर्दै आएकी उनी निद्रा खुल्नेबित्तिकै घरबाट निस्किहाल्छिन् । कैलाशडाँडा र वनकाली घुम्छिन् र फर्किन्छिन् । मर्निङ वाकको थुप्रै फाइदा उनले अनुभव गरेकी छिन् । नेपाल ल क्याम्पसमा अध्ययनरत २१ वर्षीया उनी सुनाउँछिन्, ‘मर्निङ वाक गरेपछि शरीर फिट हुन्छ । अल्छी लाग्दैन । मीठो निद्रा पर्छ । मानसिक रूपमा स्वस्थ अनुभव हुन्छ ।’
आस्थाजस्तै निरन्तर मर्निङ वाक गर्छन् सर्लाहीका प्रदीप अधिकारी । ४० कटिसकेका उनको ‘फिट एन्ड फाइन’ शरीर देखेर उनका साथीहरू तारिफ गर्छन् । ‘मेरै उमेरका साथीहरू मभन्दा १० वर्ष जेठा देखिन्छन्,’ उनी भन्छन्, ‘म नियमित मर्निङ वाक गर्छु, शरीर फिट छ ।’ त्यसो त उनी मर्निङ वाकसँग जिम पनि नियमित जान्छन् ।
सहरको व्यस्त जीवन, अव्यवस्थित खानपान, तनावयुक्त वातावरण, धूवाँधूलोसहितको जीवनशैलीले स्वास्थ्यमा देखिने समस्यालाई मर्निङ वाकले राहत दिएको अनुभव सुनाउने सहरवासी धेरै छन् ।
मर्निङ वाकबारे चिन्ता
मर्निङ वाकका यी फाइदाको चर्चा गरिरहँदा धेरैजसो मानिस चिसो मौसममा मर्निङ वाकमा ननिस्कने गरेको तथ्य पनि बिर्सनु हँुदैन । चिसो मौसममा मर्निङ वाक गर्नु स्वास्थ्यका दृष्टिकोणले राम्रो हो कि होइन भन्नेमा धेरैलाई दुविधा छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले करिब चार वर्षअघि गरेको अनुसन्धानले झन् त्यसमा बल दियो, जसले चिसो मौसममा बिहान र बेलुका प्रदूषण बढी हुने देखाएको थियो । त्यही प्रदूषणलाई देखाएर कतिपयले बिहान हिँड्न छाडे । परिषद्का अनुसन्धान प्रमुख डा. मेघनाथ धिमाल भन्छन्, ‘चिसो मौसममा खासै पानी पर्दैन । त्यसैले मंसिरदेखि फागुन–चैतसम्म बिहान–बेलुका वातावरणीय प्रदूषण हुन्छ । यो अवधिमा मर्निङ वाक गर्नेले सावधानी अपनाउनुपर्छ ।’ वर्षा सुरु भएपछि भने प्रदूषण घट्ने उनी बताउँछन् ।
त्यसो त जाडोको अवधिमा चिसोले असर गरेर मर्निङ वाक छोड्ने पनि छन् । चाबहिलका माधव दाहाल दम्पतीले चिसो मौसमकै कारण मंसिरदेखि माघसम्म मर्निङ वाक गर्न छाडे । ‘चिसोमा बिहान हिँड्दा हातगोडाका जोर्नीहरू दुख्न थाले,’ ५६ वर्षीय दाहाल भन्छन्, ‘चिसोकै कारणले होला भनेर करिब ३ महिना मर्निङ वाक गरिनँ ।’ तर चिसो कम हुँदै गएपछि मर्निङ वाकलाई निरन्तरता दिन थालेका छन् । दिउँसो कार्यालयमा व्यस्त हुने उनी मर्निङ वाक गरेको र नगरेको दिनमा शरीरको स्फूर्ति बेग्लै हुने बताउँछन् । मर्निङ वाक नै नगरेको दिन पनि उनी करिब १ घण्टा हिँड्छन् ।
मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलचाहिँ हिंड्नका लागि समय र तापक्रमले केही पनि फरक नपार्ने बताउँछन् । बिहानको समयमा हिँडनु स्वास्थ्यका लागि अझ लाभदायक हुने उनको तर्क छ । उनी भन्छन्, ‘बिहान खाली पेटमा हिँड्दा कुनै जोखिम हुँदैन ।’ यद्यपि चिसो मौसममा घाम उदाएपछि हिँड्न सुझाव दिन्छन् । त्यसो गर्दा चिसोले असर गर्ने सम्भावना नहुने उनको भनाइ छ ।
मर्निङ वाकमा सुरक्षा जोखिम
गत मंसिर ८ मा मर्निङ वाकमा निस्किएका बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालका चिकित्सक प्रभु जोशी सडक दुर्घटनामा परे । बानेश्वरमा बाटो काट्ने क्रममा सवारी साधनले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो । यो त एउटा उदाहरण मात्र हो । बाटो काट्दा मात्रै होइन, सडकको छेउबाट हिँड्दासमेत सवारीको ठक्करले पैदल यात्रुले ज्यान गुमाइरहेका छन् ।
यस्ता उदाहरण धेरै छन् । सडक सुरक्षा विज्ञ आशिष गजुरेल सडकमा छुट्टै फुटपाथ नभएका कारण पैदलयात्रुले ज्यान गुमाइरहनुपरेको बताउँछन् । सहरका सबै स्थानमा मर्निङ वाकका लागि छुट्टै वा खाली स्थान नहुँदा सडक नै प्रयोग गर्नुपर्ने बाध्यता अधिकांशको छ । त्यसो हुँदा दुर्घटनाको त्रास बोकेर मर्निङ वाक गर्नुपर्ने बाध्यता छ ।
‘यतातर्फ राज्यले ध्यान दिनुपर्छ,’ प्रदीप अधिकारी भन्छन्, ‘नियमित मर्निङ वाक गर्न चाहनेका लागि राज्यले खुला ठाउँको व्यवस्था गर्नुपर्छ ।’
हिँड्नै बनेको हो मानव शरीर
डा. ओममूर्ति अनिल मुटुरोग विशेषज्ञ
मानवको विकासक्रम हिँडाइसँग जोडिन्छ । खानाको खोजीमा दिनहुँ ४० देखि ५० किलोमिटरसम्म हिँड्दै मानिसको विकास भएको छ । मरुभूमिमा घोडाभन्दा बढी मानिस हिँड्न सक्छ । मानिसको पसिनाले शरीरलाई सन्तुलित गर्छ र नियमित हिँड्न सक्छ । यसरी हिँड्नका लागि बनेको मानव शरीरले हिँड्न छोड्दा अनेक रोग लाग्छ ।
मर्निङ वाकले मानवको त्यही हिँडाइको आवश्यकता पूरा गर्छ । नियमित मर्निङ वाक गर्दा शरीरमा विभिन्न रसायन उत्पन्न हुन्छन्, जसले एन्जाइटी/डिप्रेसनबाट बचाउँछ, शरीरमा स्फूर्ति ल्याउँछ । शरीरबाट इन्डोर्फिन भन्ने रसायन रिलिज हुँदा ताजापन र उत्साह पैदा गर्छ । हड्डी, मांसपेशी, पाचन प्रणाली, मुटु, रक्तसञ्चार प्रणाली, स्नायु प्रणालीदेखि मानसिक अवस्थालाई समेत स्वस्थ राख्न मद्दत पुर्याउँछ । आधुनिक विकासले मानिसलाई कम हिँडाइरहेको छ । यसले दिनानुदिन मानिसमा रोग बढिरहेको छ । त्यसैले हिँडाइलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।
कुन बेला हिँड्ने ?
जुन बेला फुर्सद मिल्छ, त्यही बेला हिँड्नुपर्छ । बिहान, बेलुका वा दिउँसो, जुन बेला हिँडे पनि केही फरक पर्दर्ैन । यसमा समय वा तापक्रमले केही फरक पार्दैन । दिउँसो अन्य काममा व्यस्त हुँदा हिँड्न नभ्याइन सक्छ, त्यसैले बिहानको समय छुट्याउँदा उत्तम हुन्छ । साथै, प्रेसर, मुटुरोग, मोटोपना र रक्तसञ्चारमा गडबडी भएका मान्छेहरूलाई खाना खाएपछि हिँड्न गाह्रो हुन्छ । त्यसैले त्यस्ता मान्छेहरूले बिहान खाली पेटमा अलिकति पानी खाएर हिँड्नु राम्रो मानिन्छ । स्वस्थ मान्छे भने खाना खाएर पनि हिँड्न सक्छन् ।
चिसोमा मर्निङ वाक
चिसो महिनामा प्रदूषण एटमस्फेरिक लेयरमा बस्छ । त्यहाँभन्दा माथि जान पाउँदैन । त्यसले हाम्रो श्वासप्रश्वासमा असर पर्ने कुरा सही हो । त्यसैले चिसो मौसममा घाम उदाएपछि हिँड्दा प्रदूषण कम भइसकेको हुन्छ र चिसोको जोखिम पनि रहँदैन । अर्को कुरा, भित्री सडकहरूमा हिँड्ने हो भने प्रदूषणले कम असर गर्छ ।
कति हिँड्ने ?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार १८ वर्षभन्दा माथिका वयस्कहरूले कम्तीमा दैनिक ३० मिनेट र हप्तामा ५ दिन हिँड्नुपर्छ । त्यस्तै हप्तामा २ दिन मसल्सको एक्सरसाइज गर्नुपर्छ । यो कम्तीमा हो । हामीचाहिँ दैनिक एक घण्टा हिँड्नुपर्छ र बच्चाहरूले एक घण्टाभन्दा बढी हिँड्नुपर्छ भन्छौं । वृद्धवृद्धाहरूले त दैनिक २ घण्टा हिँड्न जरुरी छ । उनीहरूको गति कम हुन्छ, त्यसैले बढी हिँड्नुपर्छ ।
सबैले औसतमा एक घण्टा हिँड्न जरुरी छ । स्वस्थ मान्छेलाई रोग लाग्न नदिनका लागि, रोगी मान्छेलाई रोगलाई नियन्त्रण गर्नका लागि दिनमा एक घण्टा हिँड्नु राम्रो हो । सकिँदैन भने कम्तीमा आधा घण्टा भए पनि फटाफट हिँड्नुपर्छ । ब्लडप्रेसर, सुगर वा कोलेस्ट्रोल छ भने त एक घण्टा हिँड्नैपर्छ । ३० मिनेटमा ३ किलोमिटर हिँड्नु राम्रो मानिन्छ । नसक्नेले बिस्तारै हिँड्नु पनि राम्रो हो, तर जसले हिँड्न सक्छ, उसले सकेसम्म छिटो हिँड्ने कोसिस गर्नुपर्छ ।
हिँड्दा अपनाउनुपर्ने सावधानी
हिँडिरहेको समयमा हड्डीको समस्या, रिंगटा लाग्ने, मुटुको धड्कन बढ्ने जस्ता समस्या आइरहेको छ भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । तर हिँड्न भने रोक्नु हुँदैन । यस्तै, नियमित हिँड्ने मानिसले शरीरमा पानीको कमी हुन दिनु हुँदैन । कुनै रोगको औषधि खाइरहेको छ भने कति हिँड्न जरुरी छ भनेर डाक्टरसँग सल्लाह लिनुपर्छ ।
काठमाडौंको सवालमा बिहान हिँड्दा केही सावधानी भने अपनाउनैपर्छ । अँध्यारोमै मर्निङ वाकका लागि निस्कँदा कुकुरले टोक्ने, गाडीले किच्ने, सर्पले टोक्ने र लड्नेजस्ता खतरा हुन्छन् । यी कुरामा होस पुर्याएर हिँड्नुपर्छ ।
(कुराकानीमा आधारित )