साप्ताहिक संवाददाता
पाटन दरबार परिसरमा किताबमा लगाइएको भन्सार महसुल हटाउनुपर्ने मागसहित लेखक, प्रकाशक, रंगकर्मी, प्राध्यापक तथा विद्यार्थीहरुले एक साता अघिदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।
पाटन दरबार स्क्वायर परिसरमा लेखक कुमार नगरकोटीले साहित्यकार शंकर लामिछानेको निबन्ध ‘शंकर लामिछानेको दृष्टिमा शंकर लामिछाने’ बाट केही अंश पढेसँगै ‘करमुक्त किताब अभियान’ सुरु गरिएको थियो ।
यो अभियानलाई पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विश्लेषक सिके लाल, नेपाल कम्युनिस्ट पार्टीका नेता राम कार्की समेतले प्रतिबद्धता जनाइसकेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ दखि विदेशबाट आयात गरिने विभिन्न मुद्रित सामग्री (पाठ्यपुस्तकसमेत) मा १० प्रतिशत भन्सार महसुल लगाउन थालेपछि बजारमा पाठ्युस्तकसँगै अन्य पुस्तकको पनि अभाव देखिएको छ ।
पुस्तक विक्रेता तथा नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक सघंका अध्यक्ष लिखत पाण्डेका अनुसार गत साउनदेखि नेपाली बजारमा पुस्तक आयात ठप्प छ ।
किताबमा लगाइएको करको विरोधका लागि सामाजिक सञ्जालबाटै पुस्तकप्रेमी र विद्यार्थी जोडेर अभियान सुरु गरिएको हो । यो अभियानमा कविता वाचन, नाटक मञ्चन, पुस्तक अध्ययन, संगीतिक प्रस्तुति तथा ट्याण्डअप कमेडिमार्फत सिर्जनात्मक तरिकाले विरोध जनाइन्छ ।
विरोधमा सहभागी हुन पुगेका शिक्षाविद् केदारभक्त माथेमाले किताबमा लगाएको भन्सार महसुल नलिन् आफूहरुले बजेट बनाउने समयमै अनुरोध गरेको बताए । उनले भने, ‘किताबमा लगाइएको भन्सार महसुलले भविष्यको पुस्ता कस्तो हुने हो भन्ने चिन्ता लागेको छ । भर्खरै मौलाउँदै गरेको पठन संस्कृतिमा ठूलो चोट पर्यो ।’
विरोधमा सहभागी हुन पाटन पुगेका लेखक नारायण ढकालले ज्ञानसित रिस गर्ने मानिस तानाशाही हुने टिप्पणी गरे । १० फागुनमा विरोध स्वरूप पाटन दरबार परिसरमा २० जना युवा कविले कविता वाचन गरेका थिए । कविता वाचनमा पुगेकी साहित्यकार आन्विका गिरीले किताब नपढ्ने मान्छे कम्युनिस्ट रहेकी रहेनन् भन्दै सरकारलाई व्यंग्य गरिन् ।
दरबार परिसरको कृष्ण मन्दिरमा हरेक साँझ आरती र भजन किर्तन हुन्छ । त्यसैको छेउमा विरोध अभियान थालिएको छ । विरोध र भजनको विरोधाभाषतर्फ संकेत गर्दै चलचित्र निर्देशक मनोज पण्डितले भने, ‘हे कृष्ण अब त तिम्रा भागवत गीता पनि महँगो हुनेछन् ।’
साहित्यकार जोडी अर्चना थापा र सञ्जिव उप्रेती पनि विरोधमा सहभागी हुन पुगेका थिए । उप्रेतीले संविधानको धारा ३१ मा व्यवस्था गरिएको शिक्षा सबैको मौलिक हक स्मरण गर्दै प्रश्न गरे, ‘मौलिक हकमाथि कसरी कर लगाउन मिल्छ ?’
प्रकाशन गृह अक्षर क्रियसनसमेत सञ्चालन गरिरहेकी थापाले राणा र पञ्चायत कालमा किताब पढ्न नपाएकै कारण नेपाल पछाडि परेको तर्क राखिन् । त्यस्तै रंगकर्मी केदार श्रेष्ठ र घिमिरे युवराजले व्यंग्य गर्दै किताबका अंश पढेका थिए ।
किताबमा लगाइएको भन्सार महसुलको विरोधमा पाटन पुगेका राजनीतिक विश्लेषक उज्जवल प्रसाईंले सरकारले नागरिकलाई प्रश्न गर्न नदिन र प्रश्नबाट बिमुख गर्न किताबमा भन्सार महसुल लगाएको टिप्पणी गरे ।
उपन्यासर नयनराज पाण्डेले किताबमा लगाइएको भन्सार महसुललाई राजनीतिक परिवर्तनसँग जोड्दै भने, ‘हरेक पटकका परिवर्तनमा मैले आम नागरिकको जीवन राम्रो होला भन्ने सोचेको थिएँ । तर, हरेक पटकका परिवर्तनले हामी नागरिकको जीवन झन्–झन् अप्ठेरो पो बनायो ।’ विरोध कार्यक्रममा लेखक तथा राजनीतिक विश्लेषक युग पाठक, पूर्वराजदूत तथा विश्लेषक विजयकान्त कर्ण पनि सहभागी भएका छन् ।
मारमा विद्यार्थी
सरकारले विदेशबाट आयात हुने किताबमा भन्सार महसुल लगाएसँगै विद्यार्थी मारमा परेका छन् । ख्वप इन्जिनियरिङ कलेजमा अध्ययनरत पवन ढुंगाना भन्छन्, ‘कतिपय किताब त पाउनै छाडेको छ । पाइने किताब पनि साह्रै महँगो भएका छन् ।’
विद्यार्थी र शिक्षक दुवैलाई किताबमा लगाएको भन्सारले अप्ठेरो परेको भन्दै त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्री कार्यालयलाई पत्राचार पनि गरिसकेको छ । विश्व विद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीलाई त्रिविले २ फागुनमा पत्र पठाएर किताबमा लगाइएको भन्सार महसुलबारे पुनर्विचार गर्न अनुरोध गरेको छ ।
सरकारले यसअघि नेपाली प्रकाशकले विदेशमा किताब छपाएर ल्याएमा छापाखानाले जारी गरेको बिलमा १५ प्रतिशत महसुल लिने गरेको थियो । तर, अहिले किताबमा लेखिएको अधिकतम खुद्रा बिक्री मूल्यमा १० प्रतिशत भन्सार महसुल लिने गरेको छ । जसले गर्दा पुस्तक खरिदकर्ताले किताबमा तोकिएको भन्दा बढी मूल्य तिर्नुपर्ने भएको छ ।
विदेशी प्रकाशक तथा विदेशी लेखकले लेखेको किताबको अवस्था झन् भयानक छ । विदेशी पुस्तकको मूल्य अमेरिकी डलर या बेलायती पाउण्डमा राखिएको हुन्छ । यसरी मूल्य राखिएका अधिंकाश किताबहरुमा दक्षिण एसियाका लागि भनेर सस्तो मूल्यको अर्को स्टिकर टाँसिएको हुन्छ ।
तर, सरकारले यी किताबमा पनि डलर वा पाण्उडमै १० प्रतिशत भन्सार लिन थालेपछि व्यापारीले पुस्तक आयात नै बन्द गरेका छन् । किताबमा भन्सार महसुल लगाएसँगै पछिल्लो ६ महिनामा किताब आयात ३४ प्रतिशतले घटेको छ ।