साप्ताहिक संवाददाता
फाल्गुन १६, २०७६
चार वर्षअघिको हिट फिल्म ‘परदेशी’माथि अहिले सिक्वेल बनिरहेको छ–‘परदेशी–२’ । गायक प्रकाश सपूतलाई अभिनेता बनाएर निर्देशक नारायण रायमाझी फ्लोरमा गइसकेका छन् । प्रकाशको अपोजिटमा फाइनल भएकी छिन्– वर्षा शिवाकोटी । वर्षासँगै केकी अधिकारी पनि फिल्मका लागि अनुबन्धित भइसकिन् ।
तर, धेरैलाई थाहा नहोला, यो फिल्मको लिड हिरोइनका लागि सुरुमा वर्षालाई होइन, स्वस्तिमा खड्कालाई अफर गएको थियो । फिल्ममा स्वस्तिमालाई लिनका लागि फिल्म युनिटले निकै प्रयास गरेको थियो । तर, उनी फिल्म खेल्न तयार भइनन्, अनेक बहाना बनाउँदै तर्किइन् । स्वस्तिमा निकट स्रोतअनुसार पहिलो श्रृंखला नै मन नपरेपछि उनी सिक्वेलमा अभिनय गर्न तयार नभएकी हुन् । त्यसपछि आएकी वर्षाले के कमाल गर्ने हुन्, हेर्न बाँकी छ ।