साप्ताहिक संवाददाता
ठगीको आरोपमा युवास्टार अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी परेको छ । फिल्म्स नेपाल, जयन श्रेष्ठ इन्टरटेनमेन्ट प्रालिबाट निर्माण हुने भनिएको चलचित्र ‘धूपौरे’मा काम गर्ने सहमती गरेका अनमोल एकाएक उक्त चलचित्र छोडिदिएका थिए । अनमोलले उक्त चलचित्रबाट ५ लाख एडभान्स लिएको र बिचमै भागेको भन्दै उक्त चलचित्रका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले अनमोलविरुद्ध ठगीको आरोपमा जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले पुष्टि गरेका छन् ।
अनमोललाई निर्माण टिमले गत असोज ३ गते ४० लाख पारिश्रमिक दिने सम्झौता गरेको थियो । सोहिअनुरुप उनले एडभान्स रकम समेत बुझेका थिए ।
एडभान्स बुझेसँगै उनी चलचित्रको स्क्रिप्टमा समेत सहयोग गरिरहेका थिए । साथै उनी वर्कशपमा समेत व्यस्त थिए । तर, उनले एकाएक उक्त चलचित्रमा काम नगर्ने भन्दै सर्वत्र मिडियामा समाचार आएको थियो । त्यस्तै जिम र खानपानका लागी भन्दै उनले साढे २ लाख समेत खर्च गरिदिएको निर्माण टिमले उजुरी पत्रमा उल्लेख गरेका छन् ।
उजुरीमा केसीले हानी नोक्सानी पुराई क्षति बिगो तथा कानुन बमोजिम क्षतिपूर्ति समेत दिलाइदिन माग गरिएको छ । आज मात्रै चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन थालेका अनमोलले यस विषयमा भने केहि बोल्न चाहेनन् ।
अनमोल कुर्दै प्रहरी
प्रहरीले एक हप्तादेखि उनलाई कुरिरहेको स्रोतले जनाएको छ । प्रहरी उनलाई कार्यालयमा बोलाएर छलफल गराउने योजनामा छ । यद्यपी उनी नआएको खण्डमा उजुरी प्रक्रियाअनुसार अगाडि बढ्ने प्रहरीको रणनीति छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएअनुसार अनमोलविरुद्ध एक हप्ताअघि उजुरी परेको हो ।