स्कुले विद्यार्थीमा  नेटको नशा

- जनक तिमिल्सिना

फाल्गुन १७, २०७६

विद्यार्थीका लागि ज्ञानको नवीनतम माध्यम र स्रोत कुनै बेला किताब मात्रै थियो । नयाँ ज्ञान सिक्न बालबालिकाहरूले किताबका पानाहरू पल्टाउनुपथ्र्यो, त्यसका लागि स्कुल अनिवार्य जानुपथ्र्यो । प्रविधिमा आएको क्रान्तिले किताबबाट धेरै फड्को हानिसकेको छ । मोबाइल फोनहरू र कम्प्युटरका पर्दाहरूले सिकाइका अनेक पर्दाहरू उघारिरहेका छन् । प्रविधिले जीवनशैलीमा यो सकारात्मक दैलो मात्रै उघारेको छैन, गलत गन्तव्यतिर पुर्‍याउने दोबाटाहरू पनि इन्टरनेटले नै हातहातमा पुर्‍याएको छ । इन्टरनेटको सही उपयोग भएन भने यो कुलत हुने खतरा पनि त्यत्तिकै छ । पछिल्ला दिनमा इन्टरनेट र डिजिटल प्रविधिको सुरक्षित प्रयोग समाजको मुख्य चासो बन्न थालेको छ । किनभने अत्याधुनिक प्रविधिहरूलाई दुरुपयोग गरेर अपराध गर्ने प्रवृत्ति संसारैभरि देखिएको छ ।

इन्टरनेट र डिजिटल प्रविधि बिनाको आधुनिक समाज अब कल्पनाबाहिरको विषय हो । ज्ञान–विज्ञान आर्जनको मानव सभ्यतामा यो एउटा अभूतपूर्व फड्को हो । तर, नेपालजस्तो तेस्रो विश्वको मुलुकमा बालबालिका, किशोर–किशोरी र प्रौढ पंक्तिमा समेत साइबर–साक्षरता कमजोर छ । हालै प्रकाशित एक अध्ययनले इन्टरनेटमार्फत हुने अपराध र बालहिंसाबारे अभिभावकहरू अत्यन्तै चिन्तित भएको देखाएको छ । एक्प्याट नामक संस्थाले हालै गरेको अध्ययनका अनुसार ७४ प्रतिशत अभिभावकले बालबालिका र किशोर–किशोरीहरूमा अनलाइनमार्फत हुने यौनशोषण ‘बढ्दो समस्या’ भएको बताएका छन् । इन्टरनेटमार्फत हुने खराबीबारे जसले नेट र मोबाइल चलाउँछन्, तिनीमध्ये आधाआधी बालबालिका पनि सचेत छैनन् भन्ने पनि सो अध्ययनको निष्कर्ष छ । 

कक्षा ६ देखि कक्षा १२ सम्म पढ्ने स्कुले विद्यार्थीहरूमध्ये ७२ प्रतिशतले मोबाइल फोन र इन्टरनेट प्रयोग गर्छन् । लैंगिक हिसाबले किशोरीहरूभन्दा किशोरहरू धेरै संख्यामा फोनमा ‘इन्गेज’ भएको पाइएको छ । सर्वेक्षणमा सहभागी ६१ प्रतिशत विद्यार्थीले आफ्नो बेग्लै फेसबुक आइडी भएको बताएका छन् । त्यसमध्ये २७ प्रतिशतले त फेक फोटो र फेक नाम राखेर फेसबुक चलाएका छन् । बालबालिकाले स्कुले उमेरदेखि नै वास्तविक परिचय लुकाएर सामाजिक सञ्जाल चलाउन थाल्नुलाई आउँदो समाजको मनोविज्ञानसँग तुलना गरेर पनि हेर्न सकिन्छ । 

इन्टरनेट र डिजिटल प्रविधि नेपाली समाजको आधाआधी जनसंख्यामा विस्तार भइसकेको विभिन्न अध्ययनहरूले देखाएका छन् । यो विस्तारले आफ्नो गति अझै बढाउँदै छ । र, त्यसको प्रभाव कलिला बालबालिकादेखि हुर्कंदै गरेका किशोर–किशोरीहरूसम्म परिरहेको विभिन्न सर्वेक्षणहरूको रिपोर्ट छ । ‘साप्ताहिक’को यस अंकमा हामीले स्कुले उमेरका विद्यार्थीहरूमा इन्टरनेट र डिजिटल प्रविधिको प्रयोग र प्रभावसम्बन्धी सामग्री प्रस्तुत गरेका छौं :

सर्वेक्षण के भन्छ ?

    ६१ प्रतिशत विद्यार्थीले आफ्नो बेग्लै फेसबुक आइडी खोलेका छन् ।

    स्कुले विद्यार्थीमध्ये ७२ प्रतिशतले मोबाइल र इन्टरनेट चलाउँछन् ।

    १५ दशमलव ७ प्रतिशत बालबालिकाले प्राप्त गर्छन् पोर्नेग्राफिक्स वा अश्लिल म्यासेज ।

    ८ दशमलव ७ प्रतिशत रिसको झोकमा बदला लिनका लागि अरूलाई हानि हुने 

पोस्ट गर्छन् ।

 ५५ दशमलव ५ प्रतिशतले कोही नभएका बेला र कसैले अनुमान नगरेको बेलामा इन्टरनेट चलाउँछन् । 

    ४९ प्रतिशतलाई यसको प्रयोगबाट हुने हानिबारे ज्ञानसमेत छैन ।

    ५६ दशमलव ६ प्रतिशत किशोरकिशोरी साइबर कानुनबारे बेखबर छन्।

    ९ दशमलव ३ प्रतिशतको पासवर्ड साथीभाइलाई पनि थाहा छ ।

    ५६ दशमलव २ प्रतिशतको मात्रै आफ्नै फोटो र नामसहितको सोसल मिडियामा एकाउन्ट छ ।

                                                                                   -स्रोत : एक्प्याट सर्वेक्षण—२०१९

के सिकाउँदैछइन्टरनेट

०७४ माघ अन्तिम साता ‘फेसबुकको ग्रुप च्याट’को एडमिनबाट हटाएकै कारण १० कक्षामा पढ्ने नुवाकोटमा १६ वर्षीय कुमार सूचीकारले ज्यान गुमाए । बालाजुस्थित फूलबारीमा उनको हत्या गरेर फालेको अभियोगमा पक्राउ परेका १० जना पनि १६ देखि २० वर्ष नै उमेर समूहका थिए । सूचीकारलाई उनका साथीहरूले नै आफूलाई फेसबुकको च्याट ग्रुपको एडमिनबाट हटाएको भन्दै हत्या गरेका थिए । त्यस घटनामा सूचीकारलाई घटनास्थलसम्म बोलाउने अस्त्रका रूपमा एक किशोरी प्रयोग भएकी थिइन् । 

०७५ फागुनको अन्तिम साता फेसबुकमा अफेयर चलेका प्रेमी भेट्न जाँदा सुर्खेतमा १७ वर्षीया एक किशोरी सामूहिक बलात्कारको सिकार भइन् । फेसबुकमा चिनजान भएपछि भेट्न बोलाएका १६ वर्षका उनका प्रेमी र १७ वर्षका उनका प्रेमीका साथीले उनीमाथि सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भयो । 

०७५ चैतमा धादिङ सिद्धलेक गाउँपालिका–१ की १५ वर्षीया किशोरी ममताको फेसबुक ह्याक गरेर ब्ल्याकमेलिङ गरेको आरोपमा नुवाकोटका १८ वर्षीय सुदीप काठमाडौंमा पक्राउ परे । उनलाई महानगरीय अपराध महाशाखाले थप कारबाहीका लागि काठमाडौं प्रहरी परिसरलाई जिम्मा लगायो ।

फरक–फरक प्रकृतिका भए पनि माथिका तीनवटै घटनाको सम्बन्ध इन्टरनेटसँग छ । अझ त्यसभन्दा बढी यसको सुरक्षित प्रयोगसँग । च्याटरुममा विकसित हुने ‘भर्चुअल रिलेसन’को तरंगमा बाँचिरहेको अहिलेको पुस्ताका लागि यस्ता घटनाहरू पक्कै पनि सुखदायक छैनन् । फेसबुक च्याट ग्रुपको एडमिनबाट हटाउँदैमा साथीकै हत्याकै तहसम्म ओर्लने क्रोधी मन र फेसबुकबाट मायामा पारेकी प्रेमिकालाई साथीसँगै मिलेर बलात्कार गर्ने भावनाहीन प्रेमीका घटनाले इन्टरनेट संसारका विकसित ‘कृत्रिम सम्बन्ध’को कच्चापन मात्रै देखाउँदैन्, ‘भर्चुअल वल्र्ड’ले किशोर–किशोरीमा विकसित गरिरहेको अपराधिक मनोवृत्तिलाई पनि दर्शाउँछ । 

हात–हातमा स्मार्टफोनहरू पुगेसँगै बढेको इन्टरनेटसम्मको पहुँचले साइबर अपराधको ग्राफ पनि उकालो लाग्दै गएको देखिन्छ । परिणाम नै मान्नुपर्छ, कतिपय जानाजान त कतिपय अन्जानमै सामाजिक सन्जालमा गाली–गलौज, मानहानि, अश्लील सन्देश, तस्बिर तथा भिडियो सेयरिङ, ब्ल्याकमेलिङदेखि हत्या र बलात्कारजस्ता जघन्य अपराधका शिकार भइरहेका छन् । कतिले अपरिचितकै फ्रेन्ड रिक्वेस्ट एसेप्ट गरेकै कारण हैरानी बेहोर्नुपरेको छ भने कति प्रेमीको दिल राख्न दिएको पासवर्डको मिसयुजका कारणका तनावमा परेका घटना प्रहरीमा उत्तिकै भेटिन्छन् । सुमधुर सम्बन्ध हुँदा खिचिएका गोप्य च्याट, तस्बिर तथा भिडियो सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेलिङका अस्त्र बन्ने घटनाले पनि धेरैलाई सताएको छ, जसमा कति किशोर–किशोरी जानेर त कति नजानेर पीडित बनेका छन्, कति पीडक ।

साइबर अपराधसँग सम्बन्धित घटनाहरू हेर्दै आएको नेपाल प्रहरीको महानगरीय अपराध महाशाखामा पछिल्ला ८ महिनामा मात्रै २० वर्षमुनिका साइबर क्राइमका ८६ घटना दर्ता भएका छन् । प्रहरीका अनुसार साउनमा २६, भदौमा २७, असोजमा ८, कात्तिकमा १२, मंसिरमा ५, पुसमा ८ घटना दर्ता भएका हुन् । साइबर अपराध हेर्ने नेपाल प्रहरीको विशिष्ट एकाइ केन्द्रीय साइबर ब्युरोमा यो आर्थिक वर्षमा मात्रै १ हजार ९६ निवेदन दर्ता भए, जसमध्ये १८ वर्षमुनिकासँग सम्बन्धितको कसुरको संख्या ४४ छ । 

केन्द्रीय साइबर ब्युरोका एसएसपी नवीन्द्र अर्याल ब्युरोमा आएका टिएनजर्ससँग सम्बन्धित अधिकांश साइबर अपराधका उजुरी ‘साइबर स्टकिङ’सँग सम्बन्धित रहेको बताउँछन् । भन्छन्, ‘टिनएजर्सका अधिकांश उजुरीहरू चरित्रहत्या, ब्ल्याकमेलिङ, सेक्सुअल ह्यारेसमेन्ट, एवियुज, एक्सप्लाइटेसनजस्ता विषयसँग सम्बन्धित छन् ।’ उनकाअनुसार सम्बन्ध सुमधुर हुँदाका टेक्स्ट, च्याट, फोटो र भिडियोजस्ता विभिन्न गोप्य प्रमाण सम्बन्ध बिग्रिएपछि फेसबुकमा हाल्दिन्छु, परिवारलाई पठाइदिन्छु भनेर ब्ल्याकमेलिङ गर्ने क्रम पनि एकदमै धेरै छ । एक्प्याट (इसिपीएटी) नामक संस्थाले ७ वटै प्रदेशका १० देखि १८ वर्षसम्मका बालबालिकाको इन्टरनेट प्रयोगबारे गरेको अनुसन्धानमा पनि यस्तै तथ्य देखिएको छ । उक्त अनुसन्धानमा १५ दशमलव ७ प्रतिशतले पोर्नोग्राफिक्स वा भल्गर कन्टेन्ट आफूहरूले सोसल मिडियामा प्राप्त गर्ने गरेको बताएका छन् । जसमध्ये ५९ दशमलव १ प्रतिशत केटी र ४० दशमलव ९ प्रतिशत केटा छन् । 

महानगरीय अपराध महाशाखामा दर्ता भएका अधिकांश उजुरीमा पनि ब्ल्याकमेलिङ केन्द्रमा देखिन्छ । अझ रोचक त के भने किशोरी–किशोरी र बालबालिकाहरूले इन्टरनेटमार्फत गरेका अपराधका मुद्दा अदालतसम्मै पनि पुग्ने गरेका छन् । काठमाडौं जिल्ला अदालतको बाल–इजलासमा मात्रै पछिल्ला ११ महिनामा ९ वटा विद्युतीय कारोबार ऐनअन्तर्गतका मुद्दा दर्ता छन् । एक्प्याट (इसिपिएटी)को अनुसन्धानमा ८ दशमलव ७ प्रतिशतले रिसको झोकमा बदला लिनका लागि अरूलाई हानि हुने पोस्ट गर्ने देखिएको थियो, यस्तो गर्नेमा ५५ दशमलव ३१ प्रतिशत केटा र ४६ दशमलव ७ प्रतिशत केटी छन् । 

सन् २०१७ मा निस्चिन्टले गरेको एक अनुसन्धानबाट इन्टरनेटका कारण किशोर–किशोरीहरूमा सेक्सुअल शोषण, साइबर बुलिङ, बाहिरी संसारसँग अनभिज्ञ, प्राइभेसीको समस्या, धेरै समयको नष्ट, निद्रा परिवर्तन र निद्रा नलाग्ने, असुहाउँदा र अनावश्यक सम्बन्ध विकास, अनैतिक कार्यसँगै अल्छीपना र रोगहरू सिर्जना गर्ने गरेको देखाएको छ । 

किशोर–किशोरीहरू इन्टरनेट र सामाजिक सन्जालको असुरक्षित प्रयोगबाट निर्मित परिस्थितिले निम्त्याउने अपराध र हैरानीजन्य आँकडा सूक्ष्म विश्लेषण र रोकथामका लागि पहलको जरुरी आवश्यक भइसकेको देखिन्छ । यसले किशोर–किशोरीमा इन्टरनेट र सामाजिक सन्जाल प्रयोगलाई कसरी सुरक्षित बनाउने भन्ने बहस टड्कारो बनाइदिएको छ । देशभरिका ७७ प्रतिशत बालबालिका फोन र इन्टरनेटको पहुँचमा रहेको देखाएको छ । यति ठूलो जनसंख्याका हात–हातमा फोन र फोन–फोनमा इन्टरनेट छ । 

तर, सरकार तथा सरोकारवाला पक्ष त्यहीअनुसार न त इन्टरनेटको सुरक्षित प्रयोगबारे सचेतना बढाउन सकेका छन्, न त उनीहरूलाई साइबर अपराध तथा साइबर स्पेसमा गर्न हुने र गर्न नहुने कामबारे जानकारी दिन सकेका छन् । एक्प्याटको उक्त अध्ययनले इन्टरनेटको प्रयोगबाट किशोर–किशोरीहरू सुरक्षित नरहेको देखाएको छ । अध्ययनमा संलग्नमध्ये ५५ दशमलव ५ प्रतिशतले कोही नभएको बेला र कसैले अनुमान नगरेको बेलामा इन्टरनेट चलाउने देखिएको छ भने २१ दशमलव १ प्रतिशतले परिवारलाई नभनेर नै अनलाइनमा भेटेको मान्छेले धोका दिइरहेको उल्लेख गरेका छन् । अभिभावकको आँखा छल्ने र अनलाइनबाट भेटेको मान्छेबाट प्राप्त धोकाको यो आँकडाले पनि सचेतना जरुरी भइसकेको देखाउँछ । 

अझ अनौठो तथ्य त के भने इन्टरनेट चलाउनेमध्ये ४९ प्रतिशतलाई त यसको प्रयोगबाट अरूलाई हानि पुर्‍याउन सकिन्छ भन्ने ज्ञान समेत छैन । ५६ दशमलव ६ प्रतिशत किशोर–किशोरी हानि पुर्‍याउने काम भएमा त्यसविरुद्ध लड्ने कानुन देशमा छ भन्ने कुरामा समेत बेखबर देखिन्छ । अझ त्यो भन्दा आश्चर्यजनक तथ्य त के भने प्रदेश १ मा ४६ दशमलव ३ प्रतिशत, प्रदेश २ मा ५९ दशमलव ७ प्रतिशत, गण्डकी प्रदेशमा ५४ दशमलव ६ प्रतिशत र प्रदेश ५ मा ५१ दशमलव ५ प्रतिशत किशोर–किशोरीलाई इन्टरनेटको दुरुपयोग गर्दा अपराध हुन्छ भन्ने कुराको समेत ज्ञान छैन । 

हात–हातमा इन्टरनेट र घरघरमा वाइफाइ भएको अहिले नेपालमा इन्टरनेट पनि सस्तो बन्दै गएको छ । यस्तो अवस्थामा आईसिटीको प्रयोगमा किशोर–किशोरीहरूको एटिच्युड, नलेज र प्राक्टिस थाहा पाउनका लागि उक्त अनुसन्धान गरिएको प्रमुख अनुसन्धानकर्ता कपिल अर्याल बताउँछन् । ५ हजार ११ जना १० देखि १८ वर्षसम्मका किशोर–किशोरी, ४ हजार ७ सय ७८ उनीहरूका अभिभावक, ३ हजार १ सय ५५ शिक्षक र ३४ जना यो क्षेत्रमा सम्बन्धित अन्य व्यक्तिमा गरिएको उक्त अनुसन्धानबाट अभिभावकहरूले आफ्ना सन्तानको इन्टरनेट प्रयोगमा निगरानी नगर्ने, शिक्षक कोर्स सिध्याउनमै केन्द्रित हुने र सर्विस प्रोभाइडहरूले पनि यसको सुरक्षित प्रयोगका विषयमा काम नगरेको पाइएको थियो । 

किशोर–किशोरीहरूमा इन्टरनेटको नियन्त्रित प्रयोगबारे काम नगर्ने, सचेतना अभिवृद्धिमा नलाग्ने हो भने अझै ठूलो समस्या निम्तिन सक्नेमा सरोकारवालाहरू चिन्तित देखिन्छन् । अपराध महाशाखाका प्रवक्ता मुकेशकुमार सिंह समयमै यसको रोकथामका लागि सबैतिरबाट पहल गर्नुपर्नेमा जोड दिन्छन् । ‘मुख्य उपाय सचेतना नै हो । घरमा अभिभावकले निगरानी गर्नुपर्‍यो, स्कुलमा पाठ्यक्रममै इन्टरनेटको प्रयोगबाट हुने फाइदा र बेफाइदाबारे र अपनाउनुपर्ने सावधानीका कुराहरू हामीले दिन सक्नुपर्‍यो,’ उनी भन्छन्, ‘हामीले यसको नियन्त्रित उपयोगमा बालबालिकालाई लगाउन सकेनौं भने उनीहरूको कलिलो मनस्थितिमा नकारात्मक असर पर्ने र अर्को अपराधतर्फ प्रेरित गर्ने र विभिन्न घटनामा उसलाई इन्भल्ब गराउने देखिन्छ ।’ अनुसन्धानकर्ता अर्याल त्यसका लागि अभिभावकले निगरानी गर्ने र शिक्षकहरूले विद्यार्थीमा कोर्स बुकबाहेक अन्य कुराहरूमा पनि सचेतना भर्नुपर्नेमा जोड दिन्छन् । 

साइबर क्राइमको तत्कालीन एक्सनका लागि पनि नेपालसँग पर्याप्त टेक्निकल पावर र मेकानिज्म पनि छैन् । कञ्चनपुरमा गरेको साइबर अपराध होस् वा पाँचथरमा गरेको वा हुम्ला नै किन नहोस्, त्यसको उपचारका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । तत्कालै सल्टाइहाल्नुपर्ने कतिपय घटना काठमाडौंसम्म आइपुग्नुपर्ने बाध्यताका बीच कसरी सल्टाउने भन्ने चुनौती पनि उत्तिकै गम्भीर छ । पर्याप्त कानुनी प्रबन्धका बाबजुद पनि यस्ता घटनाहरू निराकरणका लागि साइबर सेलको विस्तार गर्ने, म्यानपावरलाई तालिम दिने, टेक्नोलोजीको विकास गर्नुपर्ने आवश्यकता भइसकेको छ । ‘कानुनहरू पर्याप्त छन्, तर प्रहरीलाई स्किल र नलेजबारे उपयुक्त तालिम र प्रविधि पनि उत्तिकै जरुरी देखिन्छ,’ अर्याल थप्छन् । साइबर क्राइम बाउन्ड्रीबाहिरको अपराध भएकाले पनि सुरक्षा र प्रविधिमा सचेतता एकदमै जरुरी भइसकेको छ । 

विश्वास ‘पासवर्ड’ माथि

प्रेम सम्बन्धमा परेपछि किशोर–किशोरीहरू मायालुसँग पासवर्ड साटासाट गर्ने ट्रेन्ड पनि उत्तिकै देखिन्छ । फेसबुक, इन्ट्राग्रामजस्ता सामाजिक सन्जालको पासवर्डको साटफेर नै प्रेमी–प्रेमिकाका विश्वासको सबैभन्दा बलियो कडी बन्ने गरेको घटनाक्रमहरूले देखाउँछ । मायाको मधुरतामा साटिएको आफ्ना सामाजिक सन्जालको पासवर्ड नै पछि उनीहरूका लागि सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्छ । 

केही समय प्रेममा बसेपछि किशोर–किशोरीहरूबीच विभिन्न कारणले विवाद आउन थाल्छ । शारीरिक आकर्षण, भूगोलको फरकपनसँगै देखिने बदलावसँगै त्यो विवाद सम्बन्ध टुट्नुको कारण बन्छ । त्यसपछि एकले अर्काका लागि त्यही पासवर्डलाई ब्ल्याकमेलिङ गर्ने र प्रतिशोध साँध्ने अस्त्रका रूपमा रुष्ट पक्षले प्रयोग गर्छ । एक्प्याटको अध्ययनले किशोर–किशोरीबीच पासवर्ड साटफेर हुने देखाएको छ । उक्त अध्ययनमा सहभागीमध्ये ९ दशमलव ३ प्रतिशतले साथीभाइलाई पासवर्ड थाहा भएको उल्लेख गरेका छन् । ४८ दशमलव ३ प्रतिशतभन्दा कमले मात्रै आफ्नो पासवर्ड आफूलाई मात्रै थाहा भएको बताएका छन् ।

अझ रोचक त के भने त्यही पासवर्ड पछिल्लो समय ‘सेक्सटोर्सन’को कारण बन्ने गरेको छ । अश्लील इन्फर्मेसनका आधारमा ब्ल्याकमेलिङ गर्ने यो प्रवृत्तिमा टिनएजर्सहरूमा झांगिरहेको देखिन्छ । महानगरीय अपराध महाशाखाले सफल १६ वर्षमुनिकाको सफल डाटा भनेर साप्ताहिकलाई उपलब्ध गराएका केही मुद्दा चलेका घटनाहरूमा पनि अश्लील इन्फर्मेसनकै आधारमा ब्ल्याकमेलिङ गरेको देखिन्छ । जस्तो काठमाडौंकी एक १३ वर्षीया युवतीलाई फेसबुकमा एक युवाले फेक आइडी बनाएर अश्लील फोटो र म्यासेज पठाउने गरेका थिए । प्रहरीका अनुसार उक्त केसमा ती युवाले प्रेमिका हुँदा खिचेका फोटोहरूमा आधारमा उनलाई सम्बन्ध बिग्रिएपछि ब्ल्याकमेलिङ गरिरहेका थिए । 

यस्तै, अर्को एक केस पनि हेरौं, जसमा मकवानपुरकी १६ वर्षकी एक युवतीलाई दोलखा घर भएका एक युवकले अश्लील फोटो मात्रै पठाएनन्, उनको अश्लील फोटो आफन्तलाई पनि पठाइदिने धम्की दिए । यस्ता अझै थुप्रै घटनामा प्रहरीमा भेटिन्छन् । महानगरीय अपराध महाशाखाको साइबर सेलमा कार्यरत प्रहरी निरीक्षक लीलाराज डाँगी पनि अश्लील इन्फर्मेसनका आधारमा ब्ल्याकमेलिङ गर्ने केसहरू बढी हुने गरेको बताउँछन् । 

फेक आइडी, म्यासेजमै गिफ्ट 

फेसबुकमा फेक एकाउन्ट फेसबुककै लागि टाइको दुखाइ बनिरहेका बेला नेपालमा पनि त्यो ट्रेण्ड देखिएको छ । एक्प्याटले देशभर गरेको अध्ययनका क्रममा पनि किशोर–किशोरीले फेक आइडी बनाउने गरेको देखिन्छ । उक्त अध्ययनले ५६ दशमलव २ प्रतिशतको मात्रै आफ्नै फोटो र नामसहितको सोसल मिडियामा एकाउन्ट रहेको देखाएको छ भने ६ दशमलव ३ प्रतिशतको नक्कली फोटो र नक्कली नामसहितको एकाउण्ट पाइएको छ । यस्तै, ६ दशमलव ८ प्रतिशतको सही नाम गलत फोटो, ६ दशमलव ४ प्रतिशतको प्रोफाइल फोटो नै नरहेको र ३ दशमलव ९ प्रतिशतको आफ्नो फोटो तर नाम प्रयोग र २० दशमलव ५ प्रतिशतको फरक–फरक सोसल मिडियामा फरक फरक नाम र फोटो रहेको पाइएको थियो । 

अध्ययनबाट अर्को रोचक पाटो के देखिएको छ भने १० प्रतिशतले अनलाइनमा भेटेको व्यक्तिलाई साँच्चिकै भेट्ने र म्यासेजमा समेत गिफ्ट पठाउने गरेका छन् । यसो गर्नेमा ६५ दशमलव ९ प्रतिशत केटा र ४३ दशमलव १ प्रतिशत केटी रहेको पाइएको थियो । ३९ दशमलव ३ प्रतिशत साँच्चिकै भेट्न नजाने र गिफ्ट लिन नकार्ने पाइएका थिए, जसमा ५६ दशमलव २ प्रतिशत केटी थिए । २४ दशमलव ६ प्रतिशतले भेट्न र गिफ्टको अफर आएमा अभिभावकलाई भन्ने, १६ दशमलव ६ प्रतिशतले साथी र नातेदारलाई भन्ने र ५ दशमलव ६ प्रतिशतले पुलिसमा नै खबर गर्ने गरेको पाइएको थियो, यस्तो गर्नेमा ४५ दशमलव ९ प्रतिशत केटा र ५४ दशमलव १ प्रतिशत केटी छन् । शून्य दशमलव ७० प्रतिशतले यसबारेमा स्कुलका सरलाई भन्ने र ३ दशमलव ५ प्रतिशतले कसैलाई नभन्ने बताएका छन् । २ दशमलव ४ प्रतिशतले भने भेट्न जाने र शून्य दशमलव ५ प्रतिशतले गिफ्ट स्वीकार गर्ने बताएका छन् । 

प्रकाशित :फाल्गुन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×