योनि कार्यशालाका तरंग

- कला अनुरागी

फाल्गुन १७, २०७६

 

केतपाईंले आफ्नो योनि नियालेर हेर्नुभएको छ ?’ नेपाली समाजमा कुनै महिलालाई यो प्रश्न सोधियो भने के उत्तर आउला ?

‘कस्तो घिनलाग्दो प्रश्न π’ व्यक्त वा अव्यक्त रूपमा पहिलो उत्तर यही हुनेछ । र, धेरै यो प्रश्नबाट भाग्नेछन् । 

अभिव्यक्ति र अध्ययन–अध्यापनबाटै परिचय बनाएकी सगुना शाहलाई पनि यो प्रश्नलाई सहज लिन गाह्रै पर्‍यो । किताब प्रेमीहरूको फेसबुक समूह बुकाहोलिक्स र चकटी बहसमार्फत निरन्तर बहस चलाइरहेकी उनलाई आफ्नो योनिको सेल्फी खिचेर अध्ययन गर्नुपर्ने गृहकार्य जब दिइयो, उनी झन् उल्झनमा परिन् । ‘म आफूलाई धेरै नै फराकिलो मानसिकता बनिसकेको व्यक्ति ठान्छु तर यो सन्दर्भमा मैले आफूलाई निकै साँघुरो पाएँ’, सगुना सम्झिन्छिन्, ‘मेरो धेरै दिनको प्रयत्न असफल भयो । तर, मैले आफ्ना सबै भावना, लज्जा र दुविधालाई जितेर गृहकार्य गरेँ ।’

सन्दर्भ थियो– भी–डे काठमाडौंले प्रस्तुत गर्न लागेको अमेरिकी अभियन्ता एभ एन्सलरको नाटक ‘द भजाइना मोनोलग्स (टिभिएम)’ कार्यशालाको । महिलामाथि हुने सबै हिंसा अन्त्य गर्न सन् १९९८ फेबु्रअरी १४ अर्थात् भ्यालेन्टाइन डेकै दिन एन्सलरले थालेको ‘भी–डे’ अभियानको ऐक्यबद्धतामा सन् २०१५ देखि नेपाली महिलाहरूले पनि नाटक मञ्चन सुरु गरे । त्यसकै पछिल्ला श्रृंखलामा सगुना जोडिइन् । हुन त, उनले यो नाटकमा आफूलाई प्रस्तुत गरेको दोस्रो पटक हो । ‘कथा घेरा’ रंग समूहले तीन वर्षअघि नाटकको नेपालीकृत संस्करण ‘योनिका कथाहरू’ मञ्चन गर्दा उनी पनि सहभागी थिइन् । 

‘भी–डे काठमाडौं’ को यो प्रस्तुतिमा उनले निकै फरक अनुभूति बटुलिन् । उनी भन्छिन्, ‘त्यहाँ हामीले प्रस्तुतिलाई जोड दिएर रिहर्सल बढी गर्‍यौं । तर, यहाँ व्यावहारिक रूपमै हामीले आफूलाई व्यक्त गर्‍यौं, अरूलाई सुन्यौं र महसुस गर्‍यौं । हरेक कथालाई आफ्नो व्यक्तित्वसँग रिलेट गरेर हेर्दा एकदम सान्दर्भिक लागेकाले त्यो भूमिका निर्वाह गर्न पनि सजिलो भयो ।’

‘भी–डे काठमाडौं’ले शनिबार शिल्पी थिएटर, बत्तीसपुतली र आइतबार यलमाया केन्द्र, पाटनढोकामा ‘दि भजाइना मोनोलग्स’ प्रस्तुत गर्‍यो । यसअघि दुई महिना हरेक शनिबार तीन घन्टा कार्यशाला भएको थियो, जसमा १९ देखि ४४ वर्षसम्मका ३२ महिला सहभागी थिए । कार्यशालामा सहभागी हुन अडिसन आह्वान गरिएको थाहा पाएलगत्तै सगुनाले फर्म भरेकी थिइन् । त्यही कार्यशालामा दिइएको गृहकार्य पूरा गर्न उनलाई लामो समय लागेको थियो । कार्यशालामा सहभागी धेरैले त्यस्तो अनुभूति गरेका थिए । सामाजिक संरचनाको दबाबका कारण आफैलाई खुल्न समय लागेको शाहले बताइन् । भनिन्, ‘मलाई त यस्तो लाग्छ भने पिछडिएको समाजको स्थिति के होला ?’ दुई घन्टाको प्रस्तुतिका लागि दुई महिनाका हरेक शनिबार कार्यशालामा उनले त्यही प्रश्नको उत्तर आफू र अन्य सहयात्रीसँग खोजिरहिन् । 

‘हामी योनिहरूबारे साहै्र चिन्तित थियौं,’ यही संवादबाट प्रस्तुति सुरु हुन्छ । वृद्धा, तन्नेरी, विवाहित, अविवाहित, कलेज प्राध्यापक, यौनकर्मी र कलाकार गरी २०० महिलासँगको अन्तर्वार्तापछि एन्सलरले यो नाटक लेखेकी हुन् । तर नाटकमा योनिको मात्रै कुरा गरिएको रहेछ भन्ने अनुमान कसैले गर्छ भने सरासर गलत हो । नाटकमा योनिका कथामार्फत महिलाले भोग्नु परिरहेको दुव्र्यवहार, बलात्कार र युद्धअपराधविरोधी अभिव्यक्ति प्रकट हुनुका साथै यसले योनि आफैंमा प्रकृति, शक्ति र आनन्द हो भन्ने कुरा उठाइएको छ । संरचनागत विभेदका कारण आफ्नो शरीरमाथि आफ्नै अधिकार कायम हुन नसक्दा भोग्नु परिरहेको पीडा र विभेदको कथा पनि नाटकमा छ । 

योनि वरिपरिका रौं काट्न श्रीमान्ले बाध्य पारेपछिको श्रीमतीले भोगेका पीडा वर्णन छ । योनिरस धेरै आउने समस्याका महिलाले भोग्नुपरेको अवहेलना र यौनआनन्दको वञ्चनाको कथा छ । योनिको ‘क्लिटोरिस’ र चरमआनन्दबारे थाहा नपाएकी युवतीको भोगाइ छ । समाजको अवहेलनाका कारण आफूलाई दबाएर राख्नुपर्दा तेस्रोलिंगीले भोग्नुपरेको उकुसमुकुसको वर्णन छ । ‘क्लिटोरिस’ काट्ने क्रुर चलनबाट उत्पीडित समुदायको कथादेखि बोस्नियाको शरणार्थी शिविरमा बलात्कृत युवतीको चित्कारसम्म छ । आफ्नै बाबुको साथीबाट बलात्कृत किशोरीको कथादेखि महिलाको पहिरनलाई बलात्कारको कारण मान्ने ‘परम्परागत’ सोचमाथि प्रस्तुतिमा प्रहार छ । बच्चा जन्माइरहेकी महिलाको योनि वर्णन गरेर हरेक मानिसको जीवन योनिद्वारबाट सुरु हुने सत्यलाई पुनप्र्रकाश पारिन्छ । 

‘महिलाका हरेक क्रियाकलाप समाजले कसरी हेर्छ भन्ने प्रश्नबाट सुरु गर्नुपर्ने बाध्यता अहिले पनि छ’, अभियानमा सुरुवाती चरणदेखि जोडिएकी श्रेया थापा भन्छिन्, ‘त्यसैले दुई दशकअघिको नाटक अहिले पनि सान्दर्भिक छ । यो दु:खद् कुरा हो ।’ महिलाहरूले घन्टौं घन्टा यौन र यौनिकताबारे कुरा गर्नु हाम्रो सन्दर्भमा जटिल भए पनि टिभिएमले यस्तो अभियान अघि बढाएको उनको बुझाइ छ । प्रित शाहले प्रस्तुतिको प्रक्रियामा सहभागी भएपछि आफूलाई परेको समस्याबारे आफैं बुझ्नु र बोल्नुपर्छ भन्ने गहिरो गरी मनन गरिन् । अनि उनलाई लाग्यो– विवाहित महिलाका लागि यो झनै महत्वपूर्ण छ । ‘उनीहरूका लागि आफ्नो कुरा बोल्ने स्थान हुँदैन । श्रीमान्, परिवार वा समाजले के भन्ला भनेर दबिएर बस्नुपर्छ । त्यसैले यस्तो कार्यशाला धेरै आवश्यक छ,’ उनले भनिन् । 

मधुरिमा भट्टलाईले कार्यशालामा बसिरहँदा एकल जीवन बाँचिरहेकी आमालाई सम्झिन् । दुई वर्षअघिको प्रस्तुति आमालाई देखाइसकेकी उनी त्यस्तो कार्यशाला उनकै उमेरका महिलाका लागि अझ प्रभावकारी हुने लागिरहेको बताउँछिन् । श्रेयाचाहिँ यसलाई आफ्नै जीवनको ‘हिलिङ प्रोसेस’ ठान्छिन् । भन्छिन्, ‘कति सेसनमा हामी रोएर बसेका छौं । जब हामीले आफूलाई आफूजस्तै साथीबीच व्यक्त गर्‍यौं, त्यसले अनुपम ऊर्जा दियो ।’ 

महिला मुद्दालाई केन्द्रमा राखेर काम गरिरहेको संस्थाको नेतृत्व गरिरहेकी अमुदा मिश्र महिलामाथिका हिंसाका धेरै जटिल मुद्दा टिभिएममा प्रतिबिम्बित भएको देख्छिन् । उनी भन्छिन्, ‘प्रस्तुतिमा जब बोस्नियाका महिलाले युद्धमा भोगेका हिंसाको कथा आउँथ्यो, मेरो आँखामा केही वर्षअघि जनयुद्धमा भएका महिला हिंसाको घटना झल्झली आउँथे ।’

नेपालमा प्रस्तुतिको सुरुवातदेखि सहभागी सितु हाडालाई लागिरह्यो– मैले किन २६ वर्ष भएपछि मात्रै यो स्पेस पाएँ, १६ वर्षदेखि किन पाइनँ ? आफ्नो योनि र यौनसँग सम्बन्धित उत्पीडन मात्रै होइन, खुसीकै कुरा व्यक्त गर्ने सुरक्षित स्थान छैन । ‘मैले यहाँ त्यो ठाउँ पाएँ, त्यसले हाम्रो बैनित्व (सिस्टरहुड) पनि बलियो बनेको छ । मलाई लाग्छ, यस्तो स्पेस हरेक परिवार, स्कुल वा समाजमा हुनुपर्ने हो’, उनले भनिन् । नेपाली समाजमा महिलाले आफ्नो अधिकारबारे कुरा गर्दा नारीवादी ठानिन्छ, त्यसमा उनी गर्व पनि गर्छिन् । तर, समाज वा परिवारबाट कुरा आउँछ– यहाँ त ठीकै छ, तर विवाह गरेर गइसकेपछि त्यहाँ चैँ यस्तो नहोऊ । त्यसले महिलालाई लिएर समाजमा कस्तो धारणा छ भन्ने चित्र देखाउने उनको धारणा छ । 

यौन तथा प्रजनन स्वास्थ्यबारे सामाजिक अन्तक्र्रियाको राम्रो अनुभव बटुलेकी सान्या गिरीलाई थाहा थियो– हाम्रो समाजमा यौन, यौनिकता र यससँग सम्बन्धित कुरा गर्न सजिलो छैन । भन्छिन्, ‘त्यसका निम्ति आफैंलाई तयार गर्न टिभिएम राम्रो प्लेटफर्म हो ।’ प्रस्तुतिमा सहभागी भइसकेपछि सगुन भेटवाललाई लाग्यो– यो केवल योनिको कुरा होइन । हामीले समाजमा मौखिक, मानसिकदेखि शारीरिकसम्म जति विभेद भोगिरहेका छौं, त्यसको कथा हामीले एकै प्रस्तुतिमा समेट्न सक्यौं । ‘म समाजको प्रिभिलेज्ड वर्गमा पर्छु, तर पनि मैले भोगिरहेको विभेद त उस्तै छ । भनेपछि हामी आफैंले यसविरुद्ध आवाज उठाउन सुरु गर्नुपर्छ’, उनले भनिन् । 

प्रस्तुतिमा सहभागी विनिता भण्डारी किशोर पुस्ताकी हुन् । उनलाई लागिरहेको छ– आफ्नो पुस्ता आधुनिक बनिरहेको छ । तर केमा ? यौन, यौनिकता र महिला समानताका पक्षमा चाहिँ पुरानै सोचमा छ । उनी भन्छिन्, ‘मैले यो प्रस्तुतिबारे साथीहरूलाई भन्दा पनि छाडा भयो भन्ने धेरै छन् ।’

सगुनालाई पनि त्यो अनुभूति बारम्बार भइरहन्छ । उनले आफ्नो प्रस्तुतिबारे ३० वर्ष हाराहारीको एक पुरुष साथीलाई सुनाइन् । उनले प्रश्न गरे– यो केटाहरू पनि भएको ठाउँमा प्रस्तुत गर्ने हो ? 

सगुनालाई अचम्म लाग्यो र भनिन्, ‘हो त, प्रस्तुति सबैको अगाडि गर्ने हो, मेरा विद्यार्थीहरूका अगाडि पनि ।’

उनका साथीले भने, ‘म त विद्यार्थी होइन नि ।’ सगुनालाई त्यसले अचम्मित पार्‍यो । उनलाई ती पुरुष साथीको जीवनसाथीले कस्तो सोचलाई व्यहोरिरहेकी रहिछिन् भन्ने कुराले तनाव दियो । 

मधुरिमा भद्रा पनि समाजको यही साँघुरो सोचलाई भत्काउन टिभिएमलाई माध्यम बनाइरहेकी छिन् । सुरुवातकर्ताको रूपमा, सहभागी र मेन्टरको रूपमा । 

नाटक अंग्रेजीमा प्रस्तुत गर्नुको कारण दिँदै उनी भन्छिन्, ‘पहिलो त यो विश्वव्यापी आन्दोलनको अंश हो । त्यसलाई हामीले त्यही भाषामा प्रस्तुत गर्न सजिलो हुन्छ भनेर हो । अर्कोचाहिँ हाम्रोमा मास्टर्स, पिएचडी गर्नेहरू नै यसबारे खुलेर बोल्न सक्दैनन् । त्यहीँबाट सुरु गरौं भनेर पनि हो ।’ तथापि उनी नेपाली महिलाहरूकै विषय खोजेर यस्तो प्रस्तुति बनाउनु पर्छ भन्ने पक्षमा छिन् । त्यसको सोच पनि बनिरहेको छ । सगुना थप्छिन्, ‘हामीले यो सबै स्वयम्सेवी भएर गरिरहेका छौं । त्यसैले केही जटिलता छ । तर, प्रयास गरिरहेका छौं ।’ 

मधुरिमा महत्वाकांक्षी नबनिकन भन्छिन्, ‘परिवर्तन एकैचोटी हुँदैन । गर्न धेरै बाँकी छ । हामीले हरेक वर्ष एउटा पुस्तालाई योनि र यसका सुख–दु:खका कथाबारे सचेत बनाउँछौं । त्यसले पक्कै पनि केही न केही परिवर्तन ल्याइरहेको हुन्छ ।’ कार्यशालामा योनि भएकाहरू मात्रै सहभागी भए पनि आफूलाई पुरुष अनुभूत गर्ने, लिङ्गीय पहिचान खुलाउन नचाहने, लेस्वियन, क्वेरलगायत समुदायको प्रतिनिधित्व भएकाले यसको प्रभाव विभिन्न तहमा पुगेको अनुभूति उनले गरेकी छन् । भन्छिन्, ‘आफ्नै अंग योनि हेर्न नसक्ने मानसिकताबाट गुज्रिरहेको समाजमा महिलाहरू योनि त हेर्न थाले नि । स्वास्थ्यको दृष्टिकोणले भए पनि त्यो राम्रो हो । अब यस्तै अरु मुद्दामा समाजमा आवाज बलियो बन्दै जानेछ ।’

 

प्रकाशित :फाल्गुन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×