खेलाडीको चोटसँगको संघर्ष

- हिमेशरत्न बज्राचार्य

फाल्गुन १७, २०७६

खेलकुदको एउटा पक्ष हो— चोट । नचाहेर पनि खेलाडीले कुनै न कुनै समय चोट बेहोरेकै हुन्छ । अझ भन्दा, खेलाडीले आफ्नो पूरा खेल जीवनमा चोटसँग संघर्ष गरिरहेकै हुन्छ । त्यसै अर्थमा हो, चोट पनि खेलको एक पक्ष हो भनेको । 

चोटबाट बच्न खेलाडीले लगातार मेहनत गरिरहेको हुन्छ । खेलाडीले चोटबाट कसरी बच्ने हो भनेर अध्ययन गरेकै हुनुपर्छ । तर, पनि चोटले खेलाडीलाई छोड्दैन । यसमध्ये केही चोट सामान्य हुन सक्छन्, केही दिनको उपचार पनि निको हुने । तर, केही चोट यस्ता पनि हुन्छन्, जसले खेलाडीको पूरा खेल जीवननै समाप्त पार्न सक्छ । यसका लागि फुटबलका दुई तीता उदाहरण पेस गर्न सकिन्छ । एन्फा एकेडेमीको पहिलो ब्याचका सुरुवाती कप्तानमध्येका एक हुन्— प्रशान्त गिरी । उनी नेपाली फुटबलले पाएका सबैभन्दा राम्रा खेलाडीमध्ये एक थिए, तर उनको खेल जीवन उमेर समूहको फुटबलभन्दा माथि जान सकेन, उनी नराम्रोसँग घाइते भए । उनको खुट्टामा गम्भीर चोट लागेको थियो र अपेक्षाभन्दा धेरै अघि उनको खेल जीवनमै पूर्णविराम लाग्यो ।

जनकसिंह थारुले कम्तीमा नेपाली राष्ट्रिय टिमका लागि खेल्न त पाए, तर त्यो खालि १४ मिनेटको मात्र रह्यो । भयो के भन्दा उनले सन् २००५ को कराँचीमा भएको साफ च्याम्पियनसिपमा भारतविरुद्ध डेब्यु गरे । सुरुवाती टिममा परेका जनकको १४ औं मिनेटमा खुट्टामा चोट लाग्यो र मैदान छाड्न बाध्य भए । त्यति बेला भनिएको थियो, उनले केही दिनमै खेल्नेछन् । तर, त्यस्तो केही पनि भएन, उनले राम्रोसँग खेल्न सकेनन् । घरेलु फुटबलमा पुनरागमनको केही प्रयासमा चुकेपछि उनको खेल जीवन टुंगियो । उनी अझै त्यो चोटबाट मुक्त हुन संघर्ष गरिरहेका छन्, भलै उनले खेल्न छाडिसके । यसरी चोटकै कारण प्रशान्त र जनकको खेल जीवन चाँडै टुंगियो । 

यस्ता केही उदाहरण छन्, जसमा खेलाडीहरू गम्भीर चोटपछि पनि उत्कृष्ट पुनरागमन गरेका छन् । यसको राम्रो उदाहरण नेपाली फुटबलमै छ । 

आरसीटीका लागि खेल्ने क्रममा मधु कार्की नराम्रोसँग घाइते भएका थिए, उनको खुट्टा नराम्रोसँग भाँचिएको थियो । केही चरणको शल्यक्रियापछि खुट्टामा स्टिल नै हाल्नुपरेको थियो । लामै समय फुटबलबाट टाढा रहे पनि उनी अन्तत: मैदानमा फर्के । उनले फर्केर कडा मेहनत गरेर नेपाली राष्ट्रिय टिमकै लागि खेले । तर, सबै खेलाडीको जीवनमा कहाँ उनको झैं संयोग हुन्छ र ? 

अहिलेको सन्दर्भमा नेपाली भलिबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार प्रतिभा मालीलाई ठूलो चोट लागेको छ र भनिएको छ, एक वर्षभन्दा बढी समय उनी कोर्टमा देखिने छैनन् । 

पूरा कथा यस्तो छ— केही साताअघि भएको एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनल खेल्ने क्रममा एपीएफविरुद्धको खेलमा प्रतिभालाई चोट लाग्यो । त्यसको केही समयअगाडि भएको दक्षिण एसियाली खेलकुदमा उनले नेपालका लागि लोभलाग्दो प्रदर्शन गरेकी थिइन् । 

खेलको तेस्रो सेटमा स्पाइक प्रहार गर्ने क्रममा ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो । कोर्टमा लड्नेबित्तिकै निकै पीडा भएपछि उनलाई अस्पताल लगिएको थियो । सुरुमा भनिएको थियो– सम्भवत: चोट सामान्य हो । तर, पछि नराम्रो समाचार आइहाल्यो, जसको डर थियो । ब्ल्यू क्रसमा उनको उपचारमा संलग्न चिकित्सकको भनाइ थियो— एक वर्षजति समय प्रतिभाले भलिबल खेल्न सक्ने छैनन् । उनको तत्काल शल्यक्रिया आवश्यक परेको थियो । 

उपचारको खर्च राष्ट्रिय खेलकुद परिषद्ले नै बेहोरेको थियो । अस्पताल छाड्ने क्रममा प्रतिभाले नेपाली मिडियालाई भन्न भुलिनन्– ‘जति बेला म निको हुनेछु र भलिबलको कोर्टमा फर्कनेछु, मेरो खेल अझ माझिएको हुनेछ । मैले यसका लागि कडा मेहनत गर्नेछु ।’ उनको यो भनाइमा खुसी नहुने को मात्र होला र ? नेपाली भलिबललाई पूरा विश्वास छ, प्रतिभा पक्कै पनि फेरि कोर्टमा फर्किनेछिन् र उनको खेल उनकै दाबी जस्तै अझ राम्रो हुनेछ । 

यस्तो लामो र गम्भीर खाले चोटबाट मुक्त हुन खेलाडीले कडा मेहनत गर्नुपर्ने नै हुन्छ । यो पुनरागमनको बाटोमा खेलाडीका लागि सबैभन्दा बढी चुनौतीको पक्ष हुने गर्छ, मानसिक रूपमा बलियो हुनुपर्ने । एउटा खेलाडीले यस्तो ठूलो चोटबाट मुक्त भएर मैदानमा फर्कन कत्तिको संघर्ष गर्नुपर्छ, यसका लागि सबैभन्दा राम्रो कथा हुन्छ, नेपाली फुटबल टिमका खेलाडी विक्रम लामाको । उनकै भाषामा भन्ने हो भने फेरि फुटबल खेल्न पाउनु पनि उनको ठूलो भाग्य हो । 

थ्री स्टारका लागि बूढासुब्बा गोल्डकपको फाइनल खेल्ने क्रममा उनलाई चोट लागेको थियो र खेल लगत्तै उनलाई काठमाडौं ल्याइएको थियो । लगत्तै ग्रान्डी अस्प्तालमा उनको शल्यक्रिया पनि भयो र लामै समय फिजियोथेरापीको उपचारबाट गुज्रिनुपरेको थियो । थ्री स्टारले पनि उनको उपचारमा सहभागी सावित भयो र खर्च गर्न पछाडि परेन । त्यो अर्थमा उनी भाग्यमानी पनि रहे, किनभने उनले कम्तीमा आर्थिक पाटोलाई लिएर तनाव बेहोर्नु परेन । 

विक्रमले विदेशमै पनि उपचार गरे र लगभग एक वर्ष जत्तिको समयपछि खेलमा फर्के पनि, अनि राष्ट्रिय टिममा स्थान बनाए पनि । जति बेला उनी मैदानमा पहिलोपल्ट फर्केका थिए, उनको भनाइ थियो, ‘यसरी गम्भीर चोटपछि मैदानमा फर्कने काम सजिलो नहुँदो रहेछ । उपचार क्रम आफैंमा लामो हुने गर्छ । राता–रात चोट निको हुन्न । यस्तोमा खेलाडीलाई मानसिक दबाब हुन्छ । यस्तो स्थितिमा खेलाडी मानसिक रूपमा निकै बलियो हुनुपर्छ ।’ 

खेलाडीलाई पहिलो डर के हुने गर्छ भने फेरि कतै आफूलाई लागेको चोट बल्झिने त होइन ? डर के पनि हुन्छ भने चोट कहीँ निको नै नहुने त होइन ? यस्तै अनेक प्रश्नमा खेलाडी रुमल्लिने गर्छन् र चोट निको हुन अझ समय लाग्छ । विश्वास गरौं, प्रतिभाले पनि विक्रमले जस्तै बलियो पुनरागमन गर्नेछिन्, किनभने यी भलिबल खेलाडी मानसिक रूपमा उत्तिकै दरिलो छिन् । अनि सबै खेलाडीले आफू व्यावसायिक हो भने बुझ्नुपर्छ, चोटबाट बच्न सावधानी उत्तिकै आवश्यक छ । 

प्रकाशित :फाल्गुन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×