साप्ताहिक संवाददाता
काठमाडौँ जिल्ला अदालतले मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजायको फैसला गरेको छ । आर्थिक लेनदेनको विषयमा पिडितको तर्फबाट दायर गरिएको मुद्दाको सुनुवाइपछि न्यायाधिश श्रीकृष्ण भट्टराईको इजलासले मोडल ओलीलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।
खुस्बुले सप्तरी, राजविराज–८ का गोपाल कटुवालसँग घरजग्गा कारोवारका लागि भन्दै ३६ लाख रुपैयाँ सापटी लिएकी थिइन् । सापटी फिर्ताका क्रममा खुस्बुले ३६ लाख रुपैयाँको चेक दिएकोमा कुमारी बैंक न्यूरोड शाखाबाट तीनपटक सम्म नसाटिएर ‘बाउन्स’ भएको थियो ।
गत वर्ष कटुवालले काठमाडौँ जिल्ला अदालतमा खुस्बुविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले खुस्बुलाई ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवानाका अतिरिक्त चेक काटेको मितिदेखिको साँवा, ब्याजसमेत तिर्नुपर्ने फैसला गत जेठमा गरेको थियो ।
यद्यपि अदालतको फैसला कार्यान्वयन भएन । त्यसपछि पिडित कटुवाल न्याय माग्दै पुनः अदालत समक्ष पुगेका थिए । अदालतले म्याद तामेली गर्दासमेत खुस्बु सम्पर्क आइनन् । त्यसपछि कटुवालले गत पुसमा जिल्ला अदालतमा निवेदन दिएका थिए । सोही मुद्दाको फैसला गर्दै अदालतले खुस्बुलाई दुई वर्ष कैद सजाय तोकेको हो ।