चिनियाँ ट्विटर मानिने वैपोमा भारतीय सुपरस्टार अमिर खानले एउटा भिडियो सन्देश पोस्ट गरे । त्यसमा उनले कोरोना भाइरसका कारण जनजीवन प्रभावित भएकोमा सान्त्वना दिए । उनले कोरोनाका कारण अस्तव्यस्त बनेको चिनियाँ समाज छिट्टै सामान्य अवस्थामा फर्कियोस् भनेर कामना गरे । चिनियाँ भूमिमा उनका दंगल, ठग्स् अफ हिन्दोस्तान, बजरंगी भाइजान, थ्री इडियट्, सेक्रेट सुपरस्टारलगायत फिल्महरू प्रदर्शन भएका छन्, जसबाट अमिर खान चिनियाँ भूमिमा पनि लोकप्रिय छन् ।
वैपोमा १३ लाखभन्दा बढी चिनियाँ फलोअर्स् कमाएका खान बेला–बेलामा चिनियाँहरूका जीवनमा आइरहने मेला महोत्सवदेखि सुखदु:खका आरोह–अवरोहमा पनि जोडिइरहेका हुन्छन् । हाल कोरोनाको विषम परिस्थितिले चीन र चिनियाँ चलचित्र क्षेत्रमा परेको कठिनाइप्रति उनले खिन्नता प्रकट गरे । आफ्नो बजार क्षेत्र भएकाले चिनियाँ समाजमा परेको अप्ठ्यारोले अमिर खानलाई पनि धक्का लागेको छ भने चिनियाँ बजारलाई आफ्नो ‘सफ्ट पावर’को हिस्सा ठान्ने धेरै मुलुकलाई समेत घाटा हुँदै गएको छ ।
गत डिसेम्बर अन्तिमदेखि चीनको हुबेई प्रान्तस्थित वुहान सहरमा केन्द्र बनाएर फैलिएको नयाँ कोरोना भाइरस कोभिड–१९ पछि चिनियाँ चलचित्र घरका ढोकाहरू पूर्णतया बन्द छन् । एक मानिसबाट अर्कोमा सर्नसक्ने र उपचारको ठोस विधि पनि फेला नपरेको प्राणघातक कोरोनाविरुद्धको लडाइँका लागि चीनले भीडभाडको सिलसिला ठप्प पारेको हो । यसको प्रत्यक्ष मार ‘भीडभाड’ बजारलाई परेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्रका साथै चिनियाँहरूको खुलापनको प्रवृत्तिलाई चलचित्र बजारले पनि फराकिलो पार्दै लगेको छ । उनीहरू मनोरञ्जनका लागि मात्रै चलचित्र हेर्दैनन् तर अन्य देशको संस्कृति, बोलीचाली, रहनसहनबारे थाहा पाउन पनि सिनेमाघरसम्म पुग्ने गर्छन् । त्यसैकारण बलिउड वा हलिउड चिनियाँ भाषामा ‘सब–टाइटल’ राखिएका विदेशी चलचित्रका पारखी चिनियाँ भूमिमा धेरै छन् । विदेशी चलचित्रहरू चीनमा प्रवेश गर्न नपाएपछि यहाँको बजार गुमाएका विश्वका चलचित्रकर्मीहरूलाई नराम्ररी झट्का लाग्ने नै भयो ।
नयाँ वर्षको प्रारम्भमै विश्वको शासन सञ्चालनमा पहिलो गाँसमै ढुंगाजस्तो प्रतीत भयो । चिनियाँ अर्थतन्त्र वा चीन नै विश्व राजनीतिको केन्द्रमा पर्ने मुलुक भएकाले यहाँको उतारचढावले विश्व शासनमा पनि प्रभाव पारिहाल्छ । चिनियाँ फिल्मकर्मीहरूले लुनार पात्रोअनुसार नयाँ वर्षको बिदा ताकेर जनवरी २३ तारिखका लागि पूर्वनिर्धारित चलचित्रका प्रदर्शनीहरू स्थगित भएको घोषणा गरियो । कोरोना फैलिन नदिनका लागि भीडभाड रोक्नुपर्ने बाध्यकारी अवस्था भएकाले चलचित्र घरबाट अधिकांश चलचित्रहरूले विकल्पको खोजी गर्नुपर्ने भयो । कोरोनाका कारण चिनियाँ घरेलु अनलाइन प्लेटफर्म तौ यिन् अर्थात् टिकटकको चाइनिज भर्सन, थौथ्याओ, ह्वान् सी मिडियालगायतले ७ वटा चलचित्र प्रसारण गर्ने सूचित गरे भने चिनियाँ नयाँ वर्षको पहिलो दिन ‘रसियामा बेपत्ता’ अर्थात् ‘लस्ट इन रसिया’ नामक सो दिनको मध्यराती नि:शुल्क हेर्न पाउने घोषणा गरिएको थियो । वसन्त चाडको अवधि पार गरेका चिनियाँ सिनेमाहरूले फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे लक्षित सार्वजनिकीकरणको योजना पनि कोरोना भाइरसको महामारीका कारण स्तब्ध भयो । त्यस अवधिमा निकै बहुप्रतीक्षित भनिएका १५ वटा चलचित्रको प्रदर्शनी स्थगित गर्नुपर्यो ।
चिनियाँ चलचित्रको फेरिँदो ट्रेन्ड
नोबल कोरोना भाइरसको संक्रमणपछि चिनियाँ चलचित्र भवनहरू खाली छन् । धेरैजसो चलचित्रकर्मीले चिनियाँ बिदा र प्रेम दिवस कुरिरहेका थिए । देशमा व्याप्त परिस्थितिका कारण चिनियाँ चलचित्र अब सिनेमाहलबाट उत्रिएर चिनियाँका घरघरमा पुगेका छन् । चलचित्रहरू अनलाइनबाट सार्वजनिक गर्ने क्रम सुरु भएको छ । अनलाइनबाट चलचित्र रिलिज गर्नुको विकल्प पनि छैन यतिखेर । तर, सबै चलचित्र अनलाइनबाट सार्वजनिक गर्नु कत्तिको सान्दर्भिक र दर्शकमय हुनसक्छ भन्नेबारे बहस चलिरहेको छ । कतिपय विशेषज्ञहरूले अनलाइनबाट चलचित्र सार्वजनिक उपयुक्त नहुने ठहर गरिरहेका छन् । रोमान्टिक चलचित्रहरू हेर्नका लागि युगल जोडी भएर मानिसहरू सिनेमा हलसम्म पुग्थे होला । भ्यालेन्टाइन डेको प्रतीक्षा गरिरहेका चलचित्र निर्माताहरूले जोडीहरूका लागि उपयुक्त दिन पर्खिरहेका थिए । त्यो उत्साह यत्तिकै शिथिल हुन पुग्यो । कतिपयले लुनार पात्रोअनुसार चिनियाँ प्रेम दिवस ७ दशमलव ७ अर्थात् अगस्ट २५ तारिखसम्मका लागि प्रेमकथा भएका चलचित्र साँच्नुपर्ने सुझाएका छन् । उनीहरूको आशय त्यतिन्जेलसम्ममा कोरोना भाइरसको प्रकोप हुने अपेक्षामा केन्द्रित छ ।
चिनियाँ चलचित्र उद्योगको परिवर्तित धार
कोरोना भाइरसको महामारीपछि चिनियाँ मूलधारका वेबसाइटहरूले चिनियाँ फिल्म उद्योगका लागि ठूलो भूमिका खेलिरहेका छन् । अधिकांश विश्लेषकको विचारमा अबको चलचित्रको धार चलचित्र घरबाट अनलाइनतिर मोडिने सम्भावना छ । वर्तमान कठिन घडीमा धेरै लगानीकर्ताले जोखिमलाई अनलाइनमार्फत अवतरण गर्न खोजिरहेका छन् । चीनमा मूलधारका तीनवटा अनलाइन छन्, टेन्सेन्ट भिडियो, इछियी र यौ खू जसका ठूलो परिमाणमा सब्स्क्राइबर छन् जसलाई फिल्मकर्मीहरूले कम आँक्न सक्दैनन् ।
तत्कालका लागि मानव आवागमन र भेला भीडलाई घटाउनु नै कोरोना भाइरसको प्रतिरोधको एक राम्रो उपाय हो । वसन्त चाडका बेलामा संसारमै सबैभन्दा बढी हुने मानवीय चहलपहल यसपटक भाइरसकै कारण ठप्प भयो भने मेला महोत्सव तथा मानिस जम्मा हुने सारा गतिविधि एकाएक बन्द गरिए । यतिखेर चलचित्रको उपभोग भनेको अनलाइनबाटै भइरहेको छ । इन्टरनेट अर्थतन्त्रको अवधारणाबाट आजको जमानामा सर्वसाधारणले घरमै बसेर सामान्य सिकाइ, गराइ र उपभोगको फाइदा लिनसक्छन् । चीनका विज्ञहरू भन्छन्, ‘डिजिटल अर्थतन्त्रले चिनियाँ समाजका अधिकांश आवश्यकता पूर्ति गर्ने तत्परता देखाएको छ ।’
कोरोना भाइरसको यस जटिल घडीमा चिनियाँ अर्थतन्त्र बाहिर देखिने जति सुस्ताएको चाहिँ पक्कै छैन । ई–वाणिज्य प्लेटफर्ममार्फत नै बजार तरंगित भइरहेको छ । कतिपय ई–वाणिज्य प्लेटफर्मले तथ्यांक सार्वजनिक गरेअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति पहिलेको भन्दा अझ राम्रो भएको छ, बजारमा तरकारी फलफूलको बिक्री मात्रा गत वर्षको वसन्त चाडको भन्दा साढे ७ प्रतिशतले वृद्धि भएको छ । अहिले घरघरमा पुगेर गर्नुपर्ने विज्ञापनको समय होइन । चिनियाँहरू हरेक चीजहरू अनलाइनबाटै उपभोग गर्न बानी परिसकेका छन् भने भिडियो, प्रत्यक्ष प्रसारण, अनलाइन गेम, अनलाइन शिक्षाजस्तै अनलाइन चलचित्रको धारमा चिनियाँ चलचित्र विकसित हुनेमा सम्बन्धित क्षेत्र आशावादी बनेको छ ।
करिब १ अर्ब ४० करोड जनसंख्या रहेको चीन विश्व अर्थतन्त्रजस्तै मनोरञ्जन दुनियाँमा पनि उदीयमान बजार हो । हलिउड, बलिउडसँगै संसारका धेरै देशले चीनमा आफ्ना प्रदर्शनीहरू गर्दै आएका छन् । चीनले अघि सारेको बेल्ड एन्ड रोड इनिसियटिभ (बीआरआई) को अवधारणामा चीनले विश्वको मनोरञ्जन उद्योगलाई एकीकृत गर्दै र अवसरहरू बाँडचुँड गर्दै अघि बढ्न लागिरहेको थियो । यो उदीयमान चलचित्र उद्योगका लागि महत्वपूर्ण बजार कोरोना भाइरसका कारण हैरान भएको छ । चिनियाँ मनोरञ्जन उद्योग मात्रै होइन, विश्वका सम्बन्धित व्यवसायीहरू चीनमा पुन: वसन्त फर्किने प्रतीक्षामा बसिरहेका छन् । विश्वका नामी कलाकारहरू चीनप्रति सहानुभूति दिइरहेका छन्, उनीहरूले प्रकोप चाँडै अन्त्य भएर मनोरञ्जन उद्योग पुन:लयमा फर्किने दिन गनिरहेका छन् ।
चीनले आफ्नो भूमिमा अनेकन चलचित्रका गतिविधिहरू संयोजन गरिरहेका बेलामा धेरै देशहरूले आफ्नो गन्तव्यको रूपमा खाकाहरू बनाउँदै गइरहेका छन् । अहिले प्रविधिको जमानामा उत्कृष्ट मनोरञ्जनको खुराक संसारमा यसै पनि व्याप्त हुनसक्छ । चिनियाँ बजारप्रति यति सुलभ भएकै कारण यतिखेर सबैको चासो यहाँको प्रकोप निमिट्यान्न हुने र विश्वतिरको बहाव रोकिने प्रतीक्षामा छन् र मनोरञ्जन उद्योगमा पुन: वसन्त वहार फर्किने कामना गरिरहेका छन् । चिनियाँ अर्थशास्त्रीहरूले हाल देखापरेको भाइरसको प्रकोप अस्थायी प्रकृतिको भएकाले दीर्घकालीन असर नपार्ने विश्लेषण गरिरहेका छन्, हुन पनि विश्वका शुभेच्छुकहरूले यो विश्लेषण सत्यसावित भएको हेर्न चाहिरहेका छन् ।
जापानी अभिनेता यानो कोजीले आफ्नो मुलुकमा धेरै पटक चेर्री फुलेको हेरेका छन् । चिनियाँ टेलिसिरियलमा देखिने उनी चिनियाँमाझ लोकप्रिय जापानी अभिनेताअन्तर्गत पर्छन् । कोरोना भाइरसको महामारी फैलिएको थाहा पाउने बित्तिकै उनी हतासिए । तुरुन्तै १ लाख ३० हजार मास्क जोहो गरेर केन्द्रीय चीनको वुहानमा लगेर बाँडेका उनी भन्छन्, ‘वुहानमा गएर चेरी फुलेको हेर्ने र जापानिज सेइशु रक्सी सुरुप्प पार्ने इच्छा छ । फेरि वुहानमा वसन्त ऋतु फर्किनेछ ।’