साप्ताहिक संवाददाता
फिल्म चलाउन अनेक हत्कन्डा अपनाउँछन्, नेपाली फिल्मकर्मी । कहिले पारिश्रमिक चर्चा, कहिले प्रेम चर्चा त कहिले स्टेजमा रोएको चर्चा । सबैका आ–आफ्नै शैली छन्, फिल्म प्रचार गर्ने । अभिनेत्री पूजा शर्माकै चर्चा गरौं न । जब–जब उनको फिल्म नजिक आउँछ, त्यसपछि एकाएक उनको फिल्मका को–एक्टर या निर्देशकसँग नाम जोडिन थाल्छ । प्राय: निर्देशक सुदर्शन थापाको फिल्ममा उनको अभिनय छुट्दैन । र, धेरै समय उनको अफेयर चर्चा यिनै निर्देशकसँग चल्यो । त्यसपछि फिल्म ‘रामकहानी’ र ‘पोइ पर्यो काले’ रिलिजताका यी दुवै फिल्ममा उनीसँग स्क्रिन सेयर गरेका अभिनेता आकाश श्रेष्ठसँग उनको अफेयर चर्चा चल्यो ।
अहिले उनी रिलिजको तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु–२’ को प्रचारमा व्यस्त छिन् । र, उनको नाम फिल्मका अभिनेता पल शाहसँग जोडिन सुरु भइसकेको छ । दुवैले एकअर्काप्रति गहिरो प्रेम दर्साउन सुरु गरिसकेका छन् । शनिबार पलको बर्थडे मनाउने क्रममा दुवैले एकअर्काको प्रेमपूर्वक तारिफ मात्रै गरेनन्, पलले त खुलमखुला भनिदिए, ‘पूजाले मलाई आफ्नै घरको सम्झिन्छन् ।’ त्यसपछि अहिले बजारमा उनीहरूको अफेयर चर्चा सुरु भइसकेको छ । तर, धेरैको टिप्पणी छ– यो त सब फिल्म चलाउने फन्डामात्रै हुन् !