पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । सेयर बजारको दिशा (वृद्धिदर)का आधारमा अर्थतन्त्रको अवस्था विश्लेषण गरिन्छ । नेपाली सेयर बजारमा करिब १४/१५ लाख लगानीकर्ता आबद्ध छन् । बजारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँगै कारोबार रकम र कारोबार संख्याले नयाँ रेकर्ड बनाइरहेको छ । यसको वर्तमान अवस्था, सम्भावना र चुनौतीबारे साप्ताहिकका लागि यज्ञ बञ्जाडेले सेयर विश्लेषक
रवीन्द्र भट्टराईसँग गरेको कुराकानीको सार :
सेयर बजारको पछिल्लो अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?
नेप्से परिसूचक करिब ११०० विन्दुको नजिक पुगेर ओरालो यात्रालाई बिट मार्दै उत्तरतर्फको यात्रा तय गरेको छ । जससँगै नेप्से करिब ४० प्रतिशतले बढेको छ । बजारको यो वृद्धिलाई हेर्दा लगानीकर्तामा देखिएको निराशा विस्तारै सकिँदै गएको जस्तो देखिन्छ ।
अहिले सेयर बजार निरन्तर बढ्नुको कारण के हो ?
सबैभन्दा महत्वपूर्ण कुरा लगानीकर्तामा बढेको आत्मविश्वास हो । सस्तिएको सेयर मूल्य अर्को कारण हो । त्यस्तै, वित्तीय क्षेत्रमा तरलताको समस्या समाधान हुँदै निक्षेपको ब्याजदरमा घट्दो प्रवृत्ति देखिनु पनि हो । बैंकले निष्कासन गरेका ऋणपत्र, मुद्दती निक्षेप र बचत खाताको घट्दो ब्याजदरबाट स्पष्ट देख्न सकिन्छ । ब्याजदर घटे सेयर बजार बढ्ने र ब्याजदर बढ्दा सेयर बजार घट्ने हुन्छ । यसले लगानीकर्तालाई बैंकबाट ऋण लिएर सेयर बजारमा पैसा लगानी गर्न आत्मविश्वास बढाएको छ । यस्तै, चीनमा फैलिएको कोरोना भाइरसका कारण आयात प्रभावित भई उक्त पैसा सेयर बजारमा आएको पनि हुनसक्छ ।
बजार वृद्धिको दिगोपनको सम्भावना कति छ ?
अहिलेको केवल नेप्सेको अंक मात्र होइन, कारोबार रकम पनि ऐतिहासिक रूपले बढेको छ । दैनिक करिब तीन अर्ब रुपैयाँबराबरको सेयर कारोबार हुनुले सेयर बजारमा खरिदकर्ता हाबी भएको र पर्याप्त लगानी भित्रिएको बुझ्न सकिन्छ । नेप्सेको बढ्दो अंकसँगै कारोबार रकममा वृद्धि हुँदा बजारको स्थायित्वमा पर्याप्त आधार पुग्न जान्छ । सेयरको अनलाइन कारोबारसँगै लगानीकर्ता आफैंले कारोबार गर्न पाउने हुँदा पनि सेयर खरिद बढी आक्रामक हुने गरेको हो । ब्याजदरको घट्दो ट्रेन्डले पनि बजार वृद्धिको स्थायित्वलाई सहयोग पुर्याउँछ ।
केही दिन यताको प्रवृत्ति हेर्दा सेयर बजारमा बुलिस ट्रेण्ड सुरु भएको हो ?
नेप्से करिब ११०० बिन्दुको नजिक पुगेर फर्केपछिको रेखा चित्रको मूल्यांकन गर्ने हो भने नेप्से कम घट्ने र बढी अंकले बढ्ने गरेको देखिन्छ । यस्तो प्रवृत्तिलाई बुलिस प्रवृत्ति भनिन्छ । पछिल्लो न्यूनतम विन्दु ११०९ बाट करिब ४० प्रतिशतले बढिसकेको छ । सामान्य तया अमेरिकी बजारमा १० प्रतिशतभन्दा बढीले बजार घटे वियरिस ट्ेरन्डमा गएको बुझिन्छ । न्यूनतम विन्दुबाट १० प्रतिशतभन्दा बढीले बढे र एकपछि अर्को उच्चतम विन्दु बनाउँदै गए बुलिस ट्रेन्डमा गएको बुझिन्छ । अहिले नेप्से न्यूनतम विन्दु बनाएर ४० प्रतिशतभन्दा बढीले बढिसकेको छ भने यसको ट्रेन्डले एकपछि अर्को उचाइ बनाउँदै गएको छ । नेप्सेको वियरिस ट्रेन्डको इतिहास हेर्दा अढाइदेखि तीन वर्षको समय रहेको देखिन्छ । यो औसत समय पनि सकिएकाले अव बजार बुलिस दिशातर्फ गएको हो भन्न सकिन्छ ।
अहिले लगानी गर्दा बजारमा जोखिम कत्तिको छ ?
सेयर बजारमा हरेक समय जोखिम हुन्छ नै । तुलनात्मक रूपमा कम र बढी भन्ने मात्र हो । नेप्से परिसूचक १८०० विन्दु हुँदा र अहिले १५०० हुँदा अवश्य पनि जोखिममा फरक पर्छ । तर, अहिले त्यत्रो ठूलो जोखिम छैन । यसको अर्थ मूल्य धेरै घटेर लगानी डुब्ला कि भन्ने अवस्था छैन । हामी भर्खर बुलको सुरुवातमा छौं ।
सानो लगानी (१०/२० हजार) भएका नयाँ लगानीकर्ता बजार प्रवेशका लागि अहिलेको समय कत्तिको उपयुक्त हो ?
तुलनात्मक रूपमा हेर्ने हो भने तीन वर्ष अघिको समयभन्दा अहिले धेरै उपयुक्त समय हो । यो समयमा कम्पनीको वित्तीय अवस्था, आफ्नो आवश्यकता र लक्ष्यलाई आधार मानेर लगानी गर्न सकिन्छ ।
सेयरमा लगानी गर्दा कुन क्षेत्रका कस्ता कम्पनी छनोट गर्नुपर्छ ?
प्रतिसेयर आम्दानी, इक्विटिमा प्रतिफल, लाभांश, संस्थागत सुशासन, साधारणसभा, रेटिङ आदिलाई आधार बनाएर कम्पनी छान्न सकिन्छ । जसभित्र कुनै पनि क्षेत्रका कम्पनी पर्न सक्छन । मेरो व्यक्तिगत मूल्यांकनमा भने जलविद्युत् क्षेत्र त्यति आकर्षक देखिँदैन ।
अल्पकालका लागि कस्ता कम्पनीमा लगानी गर्ने ?
अल्पकालीन कारोबार गरी रहनका लागि सेयर संख्या अत्यधिक भएका कम्पनको छनोट गर्नु उपयुक्त हुन जान्छ । तर, अल्पकालीन कारोबार गरे पनि वित्तीय रूपमा राम्रा कम्पनीको कारोबार गर्न सके बजार घटिहाले पनि कम नोक्सानीको सम्भावना रहन्छ ।
दीर्घकालका लागि नि ?
दीर्घकालका लागि लगानी गर्दा जहिले पनि वित्तीय रूपमा सवल कम्पनी हेर्नुपर्ने हुन्छ । जस्तो बजार विस्तारको सम्भावना भएको, आम्दानी र नाफा निरन्तर बढ्दो रहेको, पर्याप्त संचित नाफा भएको,
बढ्दो प्रतिसेर आम्दानी भएको, संस्थागत सुशासन राम्रो भएको (यसको अर्थ कानुनको पालना गरेका र नियामकको कारबाहीमा कमै परेका वा नपरेका), नियमित जसो लाभांश बाँडेका, त्यसमा पनि बोनस सेयर बाँडेका कम्पनीको छनोट गर्नु राम्रो हुन्छ ।
अहिले अल्पकालका लागि लगानी गर्ने समय हो कि दीर्घकाल ?
लगानीकर्ताका आ–आफ्नै चाहना आवश्यकता र उद्देश्य हुन्छन् । सोहीअनुसार सेयर कारोबार गरिरहेका हुन्छन् । तर, मेरो मतमा भने यो अल्पकालीन कारोबार गरेर दीर्घकालमा पछुताउने समय होइन । किनकि हामी भर्खर बुल रनको सुरुवातमा छौं । नेप्सेले अझै धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । अहिलेको समय भनेको सेयर किनेर दुई चार वर्ष बिर्सने समय हो ।
अहिले कस्ता कम्पनीको सेयरमा लगानी गर्नु हुँदैन ?
कतिपय यस्ता लगानीकर्ता पनि भेटिन्छन्, जो सबैभन्दा जोखिमयुक्त सेयर मात्र किनेर पोर्टफोलियो बनाइ रहेका हुन्छन् । वित्तीय अवस्था कमजोर हुँदै गएर अंकित मूल्यभन्दा पनि धेरै तल गएका कम्पनी मात्र छानी रहेका हुन्छन् । किनकि बजार बढ्दै जाँदै उ त्यसैबाट राम्रो प्रतिफल पाउने आशा हुन्छ । ती कम्पनी डुब्ने वा बन्द हुने सम्भावना पनि त्यतिकै हुन्छ । यसैले लगानीकर्ताले जोखिम लिने आफ्नो क्षमता र आवश्यकता हेरेर हो ।
केही लगानीकर्ताले लघुवित्त र बिमा समूहका कम्पनीहरूको सेयरमा चलखेल गरेर बजार बढाएको भन्ने सुनिन्छ । वास्तविकता के हो ?
सेयर बजार सट्टेवाजी गर्ने ठाउँ पनि हो र यहाँबाट फाइदा लिन खोज्नेले त्यस्तो प्रयास गरिरहेका हुन्छन् । जुन कम्पनीमा सेयरको संख्या कम हुन्छ त्यहाँ सेयर बजारलाई प्रभावित पार्ने प्रयास हुन सक्छ । बिमा, लघुवित्त क्षेत्रमा वाणिज्य बैंकको तुलनामा सेयरको संख्या कम छ । जस कारण यो क्षेत्रमा बजारलाई प्रभावित पार्ने प्रयास हुने गर्छन् । त्यस्तो प्रवृत्तिमाथि कारबाही गर्न नसक्नु चाहिँ नियामकको कमजोरी हो ।
विगतमा जस्तो सीमित व्यक्ति वा संस्थाले बजारमा चलखेल गर्न सकिने अवस्था छ कि छैन ?
अल्पकालमा सेयर मूल्यलाई कसैले प्रभावित गर्न खोजे पनि दीर्घकालमा त्यो सम्भव छैन । सेयरको मूल्यलाई प्रभावित पार्ने सबैभन्दा ठूलो कुरा सेयरको संख्या हो । सेयरको संख्या कम हुँदा सेयर कर्नरिग गरी सेयरको मूल्यमा प्रभाव पार्ने गरिन्छ । तर, पछिल्लो समयमा कम्पनीहरूले पुँजीमा अत्यधिक वृद्धि गरेसँगै सेयरको संख्यामा भएको वृद्धिका कारण मूल्यलाई सजिलै प्रभावित गर्न सक्ने अवस्था छैन । त्यस्तै सेयर ब्रोकरले मात्र खरिद बिक्रीको आदेश लिएर कारोबार गर्दा मूल्यमा प्रभाव पार्न सक्ने अवस्था हुन सक्थ्यो । तर, अहिले अनलाइन कारोबार सुरु भएकाले त्यस्तो प्रवृत्तिमा कमी आएको छ ।
सेयर बजारमा लगानी गरेर धेरै प्रतिफल कमाउने सूत्र के हो ?
सेयर बजारमा लगानी गरेर धेरै प्रतिफल कमाउने सूत्र भनेको कारोबार कम गर्ने हो । हरेक तलमाथि बाट फाइदा लिने प्रयास गर्नुभन्दा दीर्घकालीन लगानी गर्ने हो । अध्ययनले के देखाएका छन् भने राम्रा कम्पनीको सेयर किनेर होल्ड गर्नेले जति प्रतिफल कमाएका छन्, त्यति प्रतिफल अल्पकालीन कारोबारीले कमाउन सकेका छैनन् ।
‘सेयर बजारमा लगानी गरेर आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ’ भन्ने तपाईंको भनाइलाई पुष्टि गर्ने आधारहरू के छन् ?
हामीले आफ्नो आवश्यकताअनुसार सेयर छनोटको राम्रो मापदण्ड बनाएर लगानी गर्न सके यो सम्भव छ । सेयर बजार सम्पति र आम्दानी दुवै निर्माण गर्ने क्षेत्र हो । नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण हेर्ने हो भने कतिपय कम्पनीको खर्बसम्म पनि पाउन सकिन्छ । यो केवल सेयरको कुल मूल्य मात्र नभई सेयरधनीको सम्पत्ति निर्माण पनि हो । जसका कारण कयौं मानिस अर्बपति बनेका छन् । यस्तै कम्पनीले कमाएका नाफाका अंक हेर्यौं भने अर्बौं पाउन सक्छौं। यो नाफा तिनै सेयरधनीलाई वितरण गरिन्छ । सेयरमा लगानी गरेर लाभांशका रूपमा यो नाफा नियमित प्राप्त गर्ने आधार तयार गर्न सकिन्छ । उदाहरणका लागि आज भन्दा १५/२० वर्षअघि नविल, हिमालयन बैंक, छिमेक लघुवित्त जस्ता कम्पनीमा केही हजार रुपैयाँ लगानी गर्ने सामान्य लगानीकर्ताको अहिलेको कुल सम्पत्ति हेर्ने हो भने करोडौं बराबर छ । जुन उनीहरूले जीवनभर काम गरेर पनि कमाउन सक्ने अवस्था रहँदैन । यस्तै ससारका धनी वा नेपालकै धनीहरूलाई हेर्यौं भने तीन तरिकाबाट धनी बनेका छन् । ती हुन्, सेयर बजार, घर जग्गा कारोबार र व्यवसाय । तर, यी कुनैमा पनि आजको भोलि भने सम्भव छैन ।
अन्त्यमा, लगानीकर्ता तथा नियामक निकायलाई के भन्न चाहनुहुन्छ ?
सेयर बजारमा लगानीकर्ताको विश्वास कायम हुने वातावरण सिर्जना गर्नु र बजारमा हुने अनियमितता कम गर्नु नियामकको प्रमुख दायित्व हुन जान्छ । लगानीकर्तालाई लगानीको समान अवसर प्रदान गर्नु, बजारमा लगानीका नयाँ विकल्प सिर्जना गर्दै जानुपर्छ । अहिले कयौं लगानीकर्ता पहुँचका अभावमा सेयर बिक्री गर्न र किन्नबाट बन्चित छन् । सेयर बजार उनीहरूको पहुँचसम्म पुर्याउन धितोपत्र बोर्ड र नेप्सेले बंैकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल अघि बढाउनुपर्छ ।