काठमाडौं, बूढानीलकण्ठका १४ वर्षीय हिमाल (नाम परिवर्तन) पब्जीमा रमाउन थाले । सुरुमा केही समय अभिभावकले उनलाई त्यत्तिकै छाडिदिए । पब्जीमा विस्तारै उनको लत बढ्न थाल्यो, त्यो लतले रातभर जागै रहन थाले । सुत्दा बिहानको ३ बज्न थाल्यो । एक दिन, दुई गर्दै रातभर जाग्राम बस्ने उनी बिहान १२–१ बजेसम्मै सुत्न थाले । त्यसले उनको स्कुल मिस हुन थाल्यो । उनमा बिस्तारै आत्तिने, उदासीन रहने र कहिलेकाहीँ आत्महत्या गर्नेसम्मका सोचहरू आउन थाले । छोरामा यस्ता समस्या देखिएपछि उनका अभिभावकले उपचारका लागि महाराजगन्जस्थित कान्ति बालअस्पताल पुर्याए । त्यहाँ उनको चेकजाँज गर्दा पब्जीको एडिक्सन देखियो । त्यही एडिक्सनका कारण उनी आत्तिने, उदासीन रहने गरेको पाइयो । निद्रा गडबडी अर्को समस्या थियो । चिकित्सक तथा मनोविद्हरूले उनको अवस्था सुधारका प्रयासहरू थाले । मोबाइलमा बिताउने उनको समयलाई विस्तारै कम गर्दै लगियो । झन्डै ३ महिनापछि अहिले उनमा बिस्तारै परिवर्तन देखिन थालेका छन् । अहिले उनी स्कुल जान थालेका छन्, पढ्न सुरु गरेका छन् ।
काठमाडौंकै १६ वर्षीय दीपक (नाम परिवर्तन)ले यस पटक एसईई दिनुपर्ने हो । तर, उनी दुई वर्षदेखि स्कुल गएका छैनन् । बिहानैदेखि फोन लिएर इन्टरनेटमा झुम्मिने र कोठाबाटै ननिस्किने अवस्था आएपछि चिन्तित बनेका उनका अभिभावकले उनलाई चिकित्सक कहाँ पुर्याए । ‘स्मार्टफोन नदिँदा बुवाआमालाई मारौंलाजस्तो गर्ने रहेछन्,’ उनको उपचारमा संलग्न मनोचिकित्सक डा. अरुण कुँवर भन्छन्, ‘फोन पाउँदा च्याट गर्ने, आनन्दसँग बस्ने । तर, फोन नपाएपछि तनाव सुरु गर्ने ।’ डा. कुँवरले उनलाई अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया अगाडि बढाउन सुझाव दिएका छन् ।
हिमाल र अनुपमात्रै होइन्, इन्टरनेट, इलेक्ट्रोनिक्स डिभाइस र गेमहरूको लतले किशोरी–किशोरीलाई मानसिक र सामाजिक रूपमा अलग–थलग पारेका घटनाहरू ठूला सहरमा विस्तारै फैलिने क्रममा छन् । मानिसको जीवनलाई सरल र सहज बनाउन बरदान ठानिएको इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसका बेफाइदाहरू नेपालमा पनि बिस्तारै अनुभूत गर्न थालिएको छ । स्मार्टफोन, अनलाइन, च्याट, ट्विट्स्, स्टाटस, पोस्ट र गेममा खेल्ने अनि अनलाइनमै घण्टौं झुम्मिनेहरू मानसिक रोग, चरम निराशा, डिप्रेसन र उदासीनताका सिकार भइरहेका घटनाक्रमले देखाएका छन् । सर्वसुलभ बन्दै गएको इन्टरनेट, सस्तोमै किन्न सकिने र खल्तीमा बोक्न सकिने सजिला स्मार्टफोन लती बनाउने मुख्य जिम्मेवार देखिन्छन् । स्मार्टफोनहरू र अनलाइनमा सजिलै पाइने गेम र फ्रीमै उपलब्ध हुने हजारौं एप्लिकेसन ‘एडिक्ट’ बनाउने सम्भावनालाई झनै मलजल गरिरहेका छन् । विभिन्न अध्ययनबाट गाउँ वा साना सहरको तुलनामा ठूला सहरका बालबालिकाहरू इन्टरनेटका जोखिमबाट अत्याधिक प्रभावित रहेको पाइएको छ ।
नेपालमा पछिल्ला दुई तीन वर्षयता इन्टरनेट एडिक्सनका घटनाहरू काठमाडौंलगायतका देशका ठूला सहरहरूमा देखिन थालेका उदाहरणबीच विश्वमा भने केही वर्षअघिदेखि नै इन्टरनेटका बेफाइदाहरू अनुभव गर्न थालिएको हो । सन् २०१४ मा न्युजविकले ‘वेबसाइटले हामीलाई बौलाहा बनाउँदै छ ?’ शीर्षकमा प्रकाशित गरेको अनुसन्धानमूलक लेखमा धेरैजसो इन्टरनेट प्रयोगकर्ता सामाजिक रूपमा एक्लो महसूस गर्ने, ज्यादाजसो चिन्तित रहने, निराश हुने, जिद्दीपनालगायतका कैयौं समस्या देखिन थालेको र यो क्रमश: मानसिक रूपमा निकृष्टसमेत हुँदै जान थालेको प्रमाण फेला पर्न थालेको उल्लेख थियो । नेपालमा केही इन्टरनेट एडिक्टले देखाएका व्यवहारले पनि मानिसलाई एक्लो, दु:खी र निष्कृट बनाउँदै लगेको पाइएको छ । सामाजिक सन्जाल र इन्टरनेटले एकातिर मानसिक र सामाजिक क्षति पुर्याउन थालेको छ । अझ इन्टरनेट र इलेक्ट्रोनिक्स डिभाइसको लतको मानसिक, शारीरिक एवं सामाजिक प्रभाव बालबालिकामा चर्को रूपमा देखिन थालेको छ ।
साइको थेरापिष्ट डा. माइकल रुबिनोले एमआरआई गर्दा इन्टरनेटले दिमागमा नराम्रो प्रभाव पार्ने देखिएको, इन्टरनेट लतका रूपमा बस्न सक्ने, अनलाइनको दुनियाँमा रमाउँदै गर्दा साँच्चिकै दुनियाँमा रमाउन नसक्ने, एकदम असामाजिक हुने, नकारात्मक कुरा सिक्न सक्ने, इन्टरनेटका कारणले पनि धेरै आत्महत्या भएका देखिएका उल्लेख गरेका छन् । बालबालिका र इन्टरनेटबारेको एक लेखमा उनले इन्टरनेटको प्रयोगले दैनिक कार्य र निद्रामा प्रभाव पार्ने, निद्रा नलाग्नेजस्ता समस्याहरू पनि हुने उल्लेख गरेका छन् ।
साइको थेरापिस्ट डा. रुबिनोजस्तै अनुभव कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक डा. अरुण कुँवरको पनि छ । इन्टरनेट र स्मार्टफोनहरू अहिलेको समयमा किशोर–किशोरी र बालबालिकामा लतका रूपमा देखिन थालेका उल्लेख गर्दै उनी भन्छन्, ‘एडिक्सन हुनेबित्तिकै बालबालिकाहरूले आफ्ना अन्य कामहरू छाड्न थाल्छन् । मानसिक रोगजस्तै भएकाले यसले आफ्नो क्रियाशीलता पनि घटाउँदै जान्छ । पढ्न, सामाजिक अन्तक्र्रिया गर्न छाड्छ, जसले उसको वृद्धि विकासमा त असर गर्छ नै, सामाजिक विकासलाई पनि प्रभावित पार्न थाल्छ, सिर्जनशीलता मर्छ । यही कारण धेरै बालबालिकामा एन्जाइटी, डिप्रेसनजस्ता समस्याहरू देखिन थाल्छन् ।’ डा. कुँवर यसले उनीहरूको मानसिक पक्षमा मात्रै होइन्, शारीरिक पक्षमा पनि उत्तिकै प्रभाव पारिरहेको छ । उनकाअनुसार एकै ठाउँमा बसेर ग्याजेट र इन्टरनेटमै भुलिने भएकाले अहिलेका बालबालिकामा मोटोपनजस्ता शारीरिक समस्याहरू बढिरहेका छन् ।
डा. रुबिनो र डा. कुवँरमात्रै होइन, विगत ५ वर्षदेखि मनोपरामर्शमा सक्रिय मनोविद् रामपुकार साह इन्टरनेट, सामाजिक सन्जाल र इलेक्ट्रोनिक्स डिभाइसमा बढी समय बिताउने बालबालिकाहरूमा ‘सोसियो एन्जाइटी’ बढी पाइएको बताउँछन् । ‘डर, चिन्ता, तनाव हुँदो रहेछ । बढी समय इन्टरनेटमा बिताउँदा आत्तिने, डर, तनाव चिन्ता, निद्रा नलाग्नेजस्ता कुराहरू बढ्छन् । मोबाइल, टिभीमा आउने ब्लू रेजहरूमा ऊर्जा हुन्छ, त्यसले निद्रा कम गर्छ ।’ स्कुलहरूमा किशोर–किशोरी र बालबालिकाहरूलाई मनोपरामर्शका कामहरू गरिरहेकी मनोपरामर्शदाता ग्रीष्मा पनेरु इन्टरनेटले उनीहरूमा एकाग्रतादेखि रिलेसनसम्मलाई प्रभावित पारिरहेको बताउँछिन् । ‘अवस्था यस्तो पनि देखें कि कतिपय किशोर–किशोरीहरू पब्जीका साथीहरूसँग मात्रै कुराकानी गर्ने रहेछन्,’ उनी भन्छिन् ।
इन्टरनेटमा धेरै समय बिताउने बालवालिकाहरूका सोच, भावना र व्यवहार परिवर्तन तीन पक्षमा केन्द्रित गरेर मनोविद्हरूले अध्ययन गर्दै आएका छन् । जसमा इन्टरनेट र ग्याजेटमा बढी समय बिताउनेहरूमा सोचमा–धैर्यता नहुने, कुर्न नसक्ने, चाँडै धैर्यता टुट्ने, नयाँ कुरा नसिक्ने, भावनात्मक–नियन्त्रण नहुने, चाँडै झर्किने र झगडा गर्ने र व्यावहारिक– भनेको कुरा नमान्ने, खोजेको कुरा तुरुन्तै चाहिने, भनेकोजस्तो हुनुपर्नेजस्ता विशेषता भेटिन्छन् । यसले कालान्तरमा परिवर्तनशील मनस्थितिमा हुने हुन्छ, एकछिनै हाँस्ने, एकछिनमै रुने पनि हुनसक्छ । यसले कालान्तरमा व्यक्तित्वमा विकार पनि ल्याउन सम्भावना पनि उत्तिकै देखिन्छ ।
चिकित्सकहरूका अनुभवहरूले मात्रै होइन, विभिन्न अनुसन्धानले पनि इन्टरनेटले किशोर–किशोरी र बालबालिकालाई निष्क्रिय, एक्लो, उदासी, चिन्तित, निरीह र भावनात्मक रूपमा कमजोर बनाउँदै लगेको देखाएका छन्, त्यो क्रम वयस्कभन्दा अझ बढी किशोर–किशोरीमा देखिन्छ । यस्तै, इन्टरनेट र ग्याजेटको संसारमा रमाउनेहरूमा सेल्फ कन्ट्रोल (आत्मनियन्त्रण) कम हुने, धैर्यता नहुने, सहनशीलताको कमी, धेरै रिसाउने, चन्चलता, आत्तिने, छटपटी हुने, जागर नहुने, बोलीमा समस्या देखिने, भकभकिने, सामाजिक डर, इटिङ डिसअर्डरजस्ता अनेकन समस्याहरू देखिने गर्छन् । ‘मस्ष्तिकजस्तो वातावरण दियो त्यहीअनुसार ढल्दै जान्छ । मोबाइल, टिभी, आइप्याड, ल्यापटपजस्ता ग्याजेटहरू जति चलाउँछौं, त्यसमा एकैचोटीमा थुप्रै तरंग आउँछन्, आवाज आउँछ, कलर आउँछ, केही न केही परिवर्तन भैरहेको हुन्छ,’ मनोविद् रामपुकार भन्छन्, ‘र हामी इच्छाशक्तिअनुसार त्यो छिनभरमै परिवर्तन गर्न सक्छौं । यसले बच्चाहरूमा धैर्य गर्ने क्षमता कम हुन जान्छ । अहिलेको युवा पिंढीमा धैर्य गर्ने शक्ति र सहनशीलताको कमी देखिन्छ । धेरै रिसाउनेपन बढेको छ ।’
किशोरी–किशोरी बालबालिका उमेर समूहका हिसाबले सबैभन्दा उत्सुक र सिकाइको भोक भएको जनसंख्या मानिन्छ । तर, सन् २०१९ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले गरेको एक अध्ययनमा इन्टरनेटका कारण बालबालिकाहरू निस्क्रिय बन्दै गएको देखाएको थियो । ११ देखि १७ वर्षका किशोरी–किशोरीमा गरिएको उक्त अध्ययनमा दिनमा एक घण्टा सक्रिय हुने संख्या संसारभर १९ प्रतिशत मात्र पाइएको थियो । उक्त अध्ययनमा नेपालका ८३ दशमलव ५ प्रतिशत बालबालिका १ घण्टाभन्दा कम सक्रिय रहने गरेको उक्त अध्ययन देखाएको छ । बालवालिकाहरूको क्रियाशीलतामा कमी ल्याउने माध्यमका रूपमा अध्ययनका क्रममा दुइटा कारण देखिएका थिए, जसमध्ये एक मुख्य कारण इन्टरनेट पाइएको थियो ।
सचेतना आवश्यक
इन्टरनेट, स्मार्टफोन र इलेक्ट्रोनिक्स ग्याजेटहरूले किशोर–किशोरी र बालबालिकालाई विशृृंखलित पारिरहेका बेला उनीहरूलाई कसरी त्यसको लतबाट बचाउने ? कसरी उनीहरूलाई थप सिर्जनशील बनाउने भन्ने प्रश्न टड्कारो बन्दै गएको छ । यहाँनेर काठमाडौंको एक अस्पतालमा इन्टरनेटको एडिक्सन छुटाउन एक बालकमाथि त्यहाँका मनोविदहरूले अपनाएको तरिका हेरौं ।
१८ वर्षीय एक किशोर इन्टरनेटका लतमा परे । त्यही कारण उनमा सामाजिक डर, रिसाउने, झर्किने स्वभाव देखिन थाल्यो । उनलाई अभिभावकहरूले उपचारका लागि अस्पताल पुर्याए, त्यहाँ मनोविदहरूले उनको समग्र अवस्थाको अध्ययन गरेपछि इन्टरनेटकै कारण यो अवस्था भएको निष्कर्षमा पुगे । इन्टरनेटबाहेक उनका थप रुचिहरू बुझे । त्यसक्रममा ती किशोरका जिम्न्यास्टिक, डान्स र म्युजिक तीन स्ट्रेन्थ थिए । त्यही तीनवटा स्ट्रेन्थ प्रयोग गरेर उनलाई इन्टरनेटको लतबाट बाहिर निकाल्ने प्रयास थालियो । केही महिनाको प्रयास उनलाई कम समय इन्टरनेटमा बढी समय जिमन्यास्टिक, डान्स र म्युजिकका लागि प्रेरित गरियो । अन्तत: केही महिनाको प्रयासपछि उनी इन्टरनेटको लतबाट बाहिर निस्किए, उनमा डराउने, झर्किने र रिसाउन समस्याहरू पनि हट्दै गए । यो त इन्टरनेट एडिक्सनबाट बाहिर ल्याइएको सफल केस हो ।
रोग लाग्नुभन्दा रोग लाग्न नदिनुनै बुद्धिमानी मानिन्छ । इन्टरनेट, गेम र इलेक्ट्रोनिक्स डिभाइसहरूको लतबाट बालबालिकालाई कसरी जोगाउने भन्नेमा पनि यसको प्रिभेन्समा बढी ध्यान दिनुपर्ने विज्ञहरू बताउँछन् । डब्लूएचओले एक घण्टा बढी समय स्क्रिन नबिताउने भनेर नियम नै बनाएको छ । जुन कुरा आफ्नै बालबालिकाहरूबाट लागू गर्नुपर्नेतर्फ अभिभावकमा सचेतना र प्रेरणा दुवै भर्नुपर्ने आवश्यकता देखिन्छ । त्यसका उनीहरूलाई खेलकुद र अन्य रुचिका विषयतिर आकर्षित गर्नेतिर ध्यान पुर्याउनुपर्ने देखिन्छ । मनोचिकित्सक डा. कुँवर इन्टरनेट र इलेक्ट्रोनिक्स ग्याजेटको प्रयोगलाई नियन्त्रित गर्नुपर्नेमा जोड दिन्छन् । ‘स्कुल जाने बच्चालाई दिनमा एक घण्टा, छुट्टीको दिनमा २ घण्टा इन्टरनेट तथा इलेक्टोनिक्स डिभाइसमा भुल्न दिन सकिन्छ,’ उनी भन्छन्, ‘तर, त्योभन्दा बढी उसलाई त्यसको एडिक्ट बनाउँछ । यसमा अभिभावकको भूमिका मुख्य हुन्छ ।’ इन्टरनेटबाट टाढा राख्नका लागि किशोर–किशोरी बालबालिकाहरूलाई खेलकूद र अन्य अतिरिक्त क्रियाकलापतर्फ आकर्षित गर्नुपर्ने उनको सुझाव छ ।
मनोविद् ग्रीष्मा सबैभन्दा पहिले किशोर–किशोरी र बालबालिकाले अभिभावकबाटै सिक्ने भएकाले अभिभावकले नै इन्टरनेट कहाँ–कहाँ प्रयोग गरिरहेको छु भन्ने सचेत हुनुपर्ने बताउँछिन् । ‘बच्चाले सिक्ने अभिभावकबाटै हो, त्यसैले प्यारेन्टिङमा विशेष ध्यान दिनुपर्छ,’ उनले भन्छिन्, ‘त्यसबाहेक सर्विस प्रोभाइडर मात्रै होइन्, सरकारी तहबाटै शिक्षा र सचेतनाका कामहरू आवश्यक छ ।’
नेपालमा इन्टरनेट, इलेक्ट्रोनिक्स डिभाइस र साइबर स्पेशको प्रयोगबारे न त अभिभावकहरू सचेत देखिन्छन् न त स्कुलमा नै यस विषयमा केही सचेतनाका प्रयासहरू भएका छन् । इन्टरनेट र आइसिटीको प्रयोगबारे पाठ्यक्रम नै बनाएर काम गर्नुपर्ने आवश्यकता पनि सरोकारवालाहरूले महसुुस गर्न थालेका छन् ।