साप्ताहिक संवाददाता
सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेको चलचित्र ‘नीरफूल’ एक हप्ता सरेको छ । फागुन ३० मा रिलिज डेट तय गरेको फिल्म चैत ७ मा सारिएको हो । यसअघि फागुन २३ मा रिलिज डेट तोकिएको ‘म यस्तो गीत गाउँछु–२’ हिन्दी फिल्म ‘बाघी–३’ आउने भएपछि ३० मा सारिएको थियो । त्यतिबेलै धेरैले ‘नीरफूल’ एकसाता सर्ने अनुमान गरेका थिए ।
नेपाली फिल्म उद्योगमा आपसी सहकार्यको संस्कार विकास होस् भन्ने चाहानाले आफेनो चलचित्र एक साता पछि सारेको निर्देशक बलले जानकारी दिएका छन् । ‘नीरफूल’को ट्रेलर मंगलबार सार्वजनिक हुँदैछ ।
भूकम्पमा परि बिछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षमा आधारित बताइएको यो चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइवा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वलले लेखेका हुन् भने सचिन एसोसिएट निर्देशकको रुपमा पनि छन्। फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी सोनाम डोमा हुन् ।