भोजिउडमा नेपाली

  • भोजपुरी चलचित्रमा बढ्दैछन् नेपाली कलाकार र प्राविधिक

- नेमिष गौतम

फाल्गुन २०, २०७६

भोजपुरी चलचित्र बन्न थालेको अर्को साल ६० वर्ष पुग्दैछ । सन् १९६१ मा बनेको चलचित्र ‘गंगा मैया तोहे पियरी चढइबो’बाट सुरु भएको भोजपुरी चलचित्रको यात्राले ‘भोजिउड’को पहिचान पाइसकेको छ । भारतको विहारलाई केन्द्र बनाएर स्थापित भइरहेको ‘भोजिउड’ले चलचित्रको संख्यासँगै दर्शक र आम्दानी पनि बढाउँदैछ । 

झन्डै ६ प्रतिशत भोजपुरीभाषी रहेको नेपाल भोजिउडमा दर्शकका रूपमा मात्रै सहभागी छैन, नेपाली कलाकार र प्राविधिक पनि यसमा उत्तिकै सक्रिय छन् । कलाकार विराज भट्ट, निखिल उप्रेती, आयुष रिजाललगायतले भोजपुरी चलचित्रमा ‘स्टारडम’ बनाएका छन् । सन् २००८ मा चलचित्र ‘लगल रहा ये राजाजी’बाट भोजिउड ‘डेब्यु’ गरेका विराजले त ७ दर्जनभन्दा बढी भोजपुरी चलचित्रमा अभिनय गरिसकेका छन् । निखिलले पनि ६ वटा भोजपुरी चलचित्रमा अभिनय कला देखाइसकेका छन् ।

अभिनयमा मात्रै होइन, चलचित्रका अन्य विधामा पनि भोजिउडमा नेपालीहरू सक्रिय छन् । दर्जनौं नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गरिसकेका चन्द्र पन्त यतिबेला भोजपुरी चलचित्र निर्देशनमा व्यस्त छन् । ‘माही’ र ‘रावण’को निर्देशन गरिरहेका उनले यसअघि दुई चलचित्र निर्देशन गरिसकेका छन् । भोजपुरी स्टार दिनेशलाल यादव निरहुआ र अभिनेत्री आम्रपाली दुबे अभिनीत ‘निरहुआ चलल लन्डन’ तथा आनन्द ओझा र काजल राघवानी अभिनीत ‘रण’ उनले निर्देशन गरेका चलचित्र हुन् । उनले १६ भोजपुरी चलचित्रमा द्वन्द्व कला देखाइसकेका छन् । 

सुवास काफ्ले भोजपुरी चलचित्रमा प्रोडक्सन डिजाइनरका रूपमा काम गर्छन् । उनले काम गरेको चलचित्रको संख्या डेढ दर्जन पुग्न लागेको छ । त्यस्तै, द्वन्द्व निर्देशक कुमार महर्जनले काम गरेको भोजपुरी चलचित्र पनि डेढ दर्जन नै पुग्न लागेको छ । उनले काम गरेको पछिल्लो चलचित्र ‘भाउजू पटिनियाँ’ हो ।

नेपाली चलचित्रका छायाँकार रामशरण उप्रेतीले भने विराज भट्ट अभिनीत ‘हिटलर’बाट भोजिउड यात्रा सुरु गरेका हुन् । उनका अनुसार गोरखपुरमा खिचिएको उक्त चलचित्रमा भारतकै प्राविधिक थिए । त्यसपछि उनले दिनेशलाल यादव निरहुआ अभिनीत मनोज नारायणको चलचित्र ‘शेर ए हिन्दुस्तान’ खिचे, जसमा नेपाली कलाकार सुनिल थापा, नीता ढुंगाना, आयुष रिजालसहित नेपाली प्राविधिक नै थिए । उनको पछिल्लो भोजपुरी चलचित्र ‘रोमियो राजा’ होलीमा रिलिज हुँदैछ । उनले ‘हिम्मत,’ ‘बेदा इश्क,’ ‘अग्निपुत्र’ र ‘पान्चाली’ जस्ता चलचित्र खिचिसकेका छन् ।

प्रोडक्सन डिजाइनर यमप्रसाद ओली पनि भोजपुरी र नेपाली चलचित्रमा उत्तिकै सक्रिय छन् । परदेशी शाहले निर्माण गरेको चलचित्र ‘दिवाना–२’ बाट भोजपुरी चलचित्रमा काम थालेका यमले ‘मर्द रिक्सावाला’मा काम गरेका छन् । 

व्यावसायिक अवसर

भोजिउडमा काम गर्नु नेपाली कलाकार तथा प्राविधिकका लागि बलियो व्यावसायिक अवसर बनेको छ । एउटा चलचित्र निर्माणमा ५० देखि ६० प्राविधिकले काम गर्छन् । निखिलको भनाइलाई आधार मान्ने हो भने भोजिउड नेपालीका लागि व्यावसायिक अवसर हो । उनी भन्छन्, ‘नेपाली चलचित्र क्षेत्रका प्राविधिकको काम र चलचित्र निर्माण शैली स्तरीय छ, जसको मूल्य भोजपुरीमा बढी छ ।’

छायाँकार रामशरणको मत पनि उनीसँग मिल्छ । ‘मुम्बईमा हामीभन्दा महँगो र सस्तो दुवै जनशक्ति पाइन्छ । तर, राम्रो सम्बन्ध भएकाले नेपाली प्राविधिक रोजाइमा पर्छन्,’ उनी भन्छन्— ‘नेपाली प्राविधिक भोजपुरी चलचित्रमा आकर्षित हुनुको अर्को कारण मुद्राको मूल्य पनि हो । भारतीय रुपैयाँ १ लाख लिँदा यहाँ १ लाख ६० हजार हुन्छ ।’ यसमा प्रोडक्सन डिजाइनर सुवास थप्छन्, ‘त्यहाँ सिफ्ट सिस्टममा काम हुन्छ । त्यसकारण जति बढी समय काम गर्न सक्यो, त्यति नै बढी फाइदा हुन्छ ।’

नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा भने भोजिउडलाई सहज रूपमा काम गर्न सकिने विदेशी चलचित्र उद्योगका रूपमा लिन्छन् । त्यहाँ काम गर्दा विदेशी चलचित्र उद्योगमा काम गरेझैं गर्व गर्न सकिने भएकाले पनि नेपाली चलचित्र क्षेत्रको जनशक्ति भोजिउडमा आकर्षित भएको उनको तर्क छ । त्यसका अतिरिक्त कमाइले पनि आकर्षण गरेको उनी नकार्दैनन् । उनी भन्छन्, ‘संघमा सदस्यता नलिएका प्राविधिकहरू पनि संघको सदस्यता लिएर काम गर्न गएका छन् । त्यसो गर्दा उनीहरूले सुरक्षित पनि महसुस गरेका छन् ।’

रोजाइमा नेपाली

निखिलको अनुभवमा भोजिउड निर्माताले नेपाली प्राविधिक तथा कलाकारलाई हेर्ने दृष्टिकोण सम्मानजनक छ । ‘उनीहरूमा नेपालीहरू मेहनती र परिश्रमी छन् भन्ने छाप बसिसकेको छ । त्यसकारण हामीलाई हेप्दैनन्,’ निखिल बताउँछन्, ‘काम गर्ने व्यावसायिक वातावरण पनि छ । कामको चाप पनि उत्तिकै छ ।’

निर्देशक चन्द्रको अनुभव पनि उस्तै छ । उनी भन्छन्, ‘भोजपुरी निर्माताको नजरमा नेपाली प्राविधिक र कलाकार मेहनती, इमानदार र सिर्जनशील छन् । कतिपय भारतीय प्राविधिक झेलझाल गर्छन्, चलचित्रको गुणस्तरीयतामा ध्यान दिँदैनन् । त्यस्तो अवस्थामा कामलाई सम्मान गर्ने नेपाल संस्कारबाट उनीहरू प्रभावित छन् ।’

नेपाली चलचित्रका अधिकांश कलाकार अभिनयअघि निकै समय खर्चेर स्क्रिप्ट अध्ययन गर्छन्, तर उनको अनुभवमा भोजपुरी चलचित्रमा भने ठीक उल्टो प्रवृत्ति हावी देखिन्छ । ‘कम कलाकारले मात्रै स्क्रिप्ट कस्तो छ भनेर खोज्छन् । पैसा पायो भने जे पनि गर्न तयार हुन्छन्,’ उनले खुलासा गरे– ‘दुई–चार जना अभिनेतालाई छाड्ने हो भने धेरै कलाकार झारा टार्ने किसिमले काम गर्छन् । त्यसैले नेपाली कलाकार पनि रोजाइमा पर्ने गरेका छन् ।’ 

आर्थिक रूपमा सस्तो पर्ने भएकाले पनि भोजपुरी चलचित्र निर्माताको नजर नेपाली प्राविधिक र कलाकारमाथि पर्ने गरेको सुवासको बुझाइ छ । त्यही बुझाइ रामशरणको पनि छ । उनी भन्छन्, ‘भोजपुरीमा बजेटको दायरामा रहेर काम गरिन्छ । समयको हिसाबले पनि कसैलाई पर्खिने भन्ने हुँदैन । त्यस्तो अवस्थामा स्तरीय काम गर्न नेपालीहरू सक्छन् भन्ने उनीहरूलाई थाहा भइसकेको छ ।’

भोजपुरी चलचित्रमा दक्षिण भारतीय शैलीको द्वन्द्व रुचाउने अनुभव बटुलेका द्वन्द्व निर्देशक कुमारको अनुभवले पनि त्यही भन्छ । ‘भारतका प्राविधिकले भन्दा नेपाली प्राविधिकलाई कम मूल्यमा नै काम गर्छन् । उनीहरूमा छिटो काम गर्नुपर्ने संस्कार छ । निर्धारित समयमै सक्नुपर्ने बाध्यतामा कम खर्च गर्नेतिर पनि उनीहरूको ध्यान रहन्छ,’ उनी भन्छन्, ‘नेपालबाट आएकाले राम्रो मात्रै होइन, छिटो पनि गर्न सक्छन् भन्ने छाप छ ।’

समयका सन्दर्भमा पनि नेपालीहरूलाई काम लगाउन सजिलो भएको भोजपुरी निर्माताहरूको अनुभव उल्लेख गर्दै प्रोडक्सन डिजाइनर यम भन्छन्– ‘हामी प्याकेजमा काम गरिदिन्छौं, त्यसो गर्दा यति घण्टा बढी काम भयो र खर्च बढ्यो भन्ने हुँदैन । त्यसैले पनि उनीहरूलाई सस्तो पर्छ ।’ त्यसो त भोजपुरी चलचित्रमा काम गर्न पनि सजिलो हुने उनको अनुभव छ । स्थानीय विषयवस्तु, मौलिक संस्कृति र शैलीमा खिचिने हुनाले नेपाली चलचित्रको जस्तो धेरै सिँगारपटार गर्नु पर्दैन । सुवासले पनि त्यही अनुभव सँगालेका छन् । उनी भन्छन्, ‘हाम्रोमा जस्तो प्रोपर्टी र लोकेसन रिच चाहियो भन्ने हुँदैन । उनीहरू जुनसुकै काम छिटो गर्न चाहन्छन् । एउटा चलचित्र १३ दिनमा पनि खिचेका छौं ।’ 

छायांकनमा पनि नेपाल

नेपालको जनशक्ति मात्र होइन, लोकेसन पनि भोजिउडको रोजाइमा पर्न थालेको छ । भारतसँग सीमा जोडिएका तराईका भू–भागमा धेरै भोजपुरी चलचित्र खिचिएका छन् । राम्रो निर्माताको ध्यान सुन्दर लोकेसनमा पनि हुन्छ । त्यसका लागि पछिल्लो समय पोखरा, मुस्ताङ र नगरकोट उनीहरूको रोजाइमा पर्ने गरेको छ । 

यसले पनि नेपाली जनशक्तिलाई भोजिउड प्रवेशको बाटो फराकिलो बनाएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्करको आँकलन छ । संघले नेपालमा छायांकन गर्न आउने विदेशी चलचित्रले कम्तीमा ६० प्रतिशत नेपाली प्राविधिक लिनुपर्ने मापदण्ड बनाएको छ । विदेशी प्राविधिक नेपाल आएर काम गर्नचाहिँ संघको अनुमति लिनुपर्छ । पुष्कर लामा भन्छन्, ‘मापदण्डअनुसार काम भएको छ या छैन भनेर हामी अनुगमन पनि गर्ने गर्छौं । अनुगमनमा काम भएको पाइएन भने उनीहरूलाई सचेत गराउँछौं ।’ उनका अनुसार भारतमा काम गरिरहेका रहेका प्राविधिक संघमा झन्डै ५ सयको संख्यामा नेपाली प्राविधिक संघमा आबद्ध छन् ।

प्रकाशित :फाल्गुन २०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×