साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । सञ्चारकर्मी फूलमान वलले निर्देशन गरेको यो चलचित्र आगामी चैत्र ७ गतेबाट रिलिजको प्रचारमा छ । रिलिज मिति नजिकिदै गर्दा सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा भूकम्पपछि रुबी भ्यालीबाट उद्धार गरेर काठमाडौं ल्याइएकी छोरीको खोजीमा निस्कने एक दम्पतीको संघर्षको कथालाई देखाउन खोजिएको छ । उसोत चलचित्रको सम्पूर्ण कथानै भूकम्पमा बिछोडिएको परिवारले पुर्नमिलनको लागि गर्ने संघर्षको वरिपरि घुमेको छ ।
चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका शिर्ष कलाकार तथा अभिनेता दयाहाङ राईले ‘नीरफूल’ले हामीले बाँचेकै समय र समाजको कथा भन्ने बताएका छने । उनले यो चलचित्रले समाजलाई जोड्ने उल्लेख गरेका छन् । ट्रेलर रिलिजका क्रममा अभिनेता राईले ‘नीरफूल’ छायांकनका लागि धादिङको रुबी भ्यालीको हिमाली गाउँ पुग्दाको चुनौती पनि सुनाएका थिए ।
नेपाली चलचित्रमा समाज आएन, कन्टेन्ट आएन भनेर लाग्दै आएको आरोप चिर्नका लागि पनि आफूले ‘नीरफूल’ जस्तो चलचित्र बनाएको चलचित्रका निर्देशक वलले बताए । उनले भनेका छन् ‘भूकम्पको कुरा आउँदा हामीले जहिल्यै पुनर्निर्माणकै कुरा मात्रै गर्छौं । भत्किएका भौतिक संरचना बनेन् मात्र भन्छौं । तर त्यही भूकम्पका कारण मान्छेका मन, सम्बन्ध पनि भत्किएका छन् । उनीहरुको भत्किएको वेदना देखिरहेका छैनौं । नीरफूल यही पृष्ठभूमिबाट जन्मेको हो ।’
यो चलचित्रमा अभिनेता दयाहाङलाई शान्ति वाइबाले जोडीका रुपमा साथ दिएकी छिन् । यो जोडीको छोरीको भूमिकामा जिग्मे छ्योकी घिसिङ देखिएकी छिन् ।
सेलो प्रोडक्सनको प्रस्तुतिमा सोनाम डोमा कार्यकारी निर्माता रहेको चलचित्रमा दयाहाङ र शान्तिसहित बुद्धि तामाङ, जिग्मे छ्योकी घिसिङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानसराज लगायतका कलाकारले अभिनय गरेका छन् ।
प्रमोद कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् भने अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको छ ।
निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।
चलचित्रको ट्रेलर :