साप्ताहिक संवाददाता
कोरोना के हो ?
कोरोना एकप्रकारको विषाणु हो । यसका विभिन्न प्रजाति छन् । सार्स कोरोना भाइरस–२ (कोभिड १९) आउनुभन्दा पहिला मानिसलाई असर गर्ने कोरोना भाइरसका ६ प्रजाति थिए । एक्काइसौं शताब्दीमा २ वटा प्रकोप फैलिए । केही प्रजातिले सामान्य रुघाखोकी मात्र लगाउँथे । सन् २००२ देखि २००४ सम्म फैलिएको सार्स कोरोना भाइरसका कारण झन्डै १० प्रतिशत संक्रमित व्यक्तिहरूको मृत्यु भयो । ८ हजारभन्दा बढी व्यक्तिलाई संक्रमण भएको थियो । ७ सय ५० भन्दा बढीको मृत्यु भयो । यो भाइरस जनावरबाट सर्यो भनियो । फेरि २०१२ मा मर्स कोरोना भाइरस फैलियो, जुन खाडी मुलुकहरूमा प्रकोपका रूपमा पटकपटक देखिरहेको छ । सन् २०१९ डिसेम्बरको अन्तिममा चीनको वुहान सहरको सी फुड मार्केटमा नयाँ किसिमको कोरोना भाइरस देखापर्यो । जुन एकदम तीव्र गतिमा फैलिरहेको छ । उक्त भाइरसलाई सार्स कोरोना भाइरस–२ भनेर नाम दिइयो । यसबाट हुने रोगको नाम चाहिँ ‘कोभिड–१९’ अर्थात् कोरोना भाइरस डिजिज १९ भनेर नामकरण गरिएको छ । उक्त भाइरसबाट चीनमा धेरै व्यक्ति संक्रमित भए । चीनबाट फर्केका अन्य देशका तथा चीनकै नागरिकको संसर्गमा आउने व्यक्तिहरू संक्रमित भए । विशेषगरी विश्वका धेरै चिसो हुने देशहरूमा यसले वासस्थान बनायो ।
जोखिममा नेपाल
केही समय पहिला चीनको वुहान सहरबाट आएका एक नेपालीमा कोरोना भाइरस देखिएको पुष्टि भयो । तर नेपालमा त्यो फैलिन पाएन । त्यसैले हाम्रोमा रोग छैन, रोग आउन सक्ने जोखिम छ । त्यही जोखिम नहोस् भनेर विमानस्थलमा कडाइ गरिएको छ । कोरोना संक्रमणको शंका लागेमा सीधै अस्पतालमा ल्याएर आइसोलेसन बेडमा राखिन्छ । कोरोना संक्रमित व्यक्तिबाट समुदायमा नफैलिओस् भनेर रोक्ने हाम्रो उद्देश्य हो ।
पछिल्लो समय नेपालमा कोरोनाको जोखिम बढिरहेको छ । किनभने यतिबेला दक्षिण कोरियामा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । त्यहाँ हजारौं नेपाली छन् । उनीहरू आत्तिएका छन् र कतै न कतैबाट नेपाल आउन खोजिरहेका छन् । उनीहरूले कोरोना भाइरस ल्याउन सक्ने जोखिम छ । त्यसैले भाइरस नेपाल नभित्रियोस् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निगरानी बढाइएको छ । संक्रमण देखिएको देशबाट नेपाल आएका नागरिकमा कोरोना भाइरसको लक्षण देखिएन भने पनि उनीहरू सेल्फ क्वारेन्टाइनमा बस्न सक्छन् । नत्र भने अस्पतालको क्वारेन्टाइनमा बस्न सक्छन् । यदि उनीहरूमा लक्षण देखियो भने आइसोलेसनमा राख्छौं र परीक्षणका लागि र्याल पठाउँछौं । त्यसैले यसमा सबैजना सतर्क हुनु जरुरी छ ।
कसरी फैलन्छ ?
कोरोना भाइरसको उच्च जोखिममा नेपाल छ । तर अहिले नै नेपालमा आइसक्यो, फैलियो, खत्तम भैसक्यो भनेर आत्तिएको देखिन्छ । तर आत्तिहाल्नु पर्दैन । यो भाइरस सक्रमित बिरामीले हाँछ्यु गर्दा, खोक्दा निस्केका छिटा अर्को व्यक्तिले छोयो र हात नधोई नाक, आँखा, मुखमा छोयो भने सर्छ । अहिले जति पनि संक्रमण भएको छ, कुनै चीजको सतहमा रहेको भाइरस छोएर सरेको हो । सतहमा मर्स कोरोना भाइरस ४८ घन्टा, सार्स कोरोना भाइरस ७ देखि ९ दिनसम्म बसेको पाइएको थियो । त्यसैले कोरोना भाइरस पनि ७ दिनसम्म सतहमा बस्न सक्ने सम्भावना छ ।
गर्मीमा कम फैलन्छ
कोरोना फैलिएका देशहरूको अवस्था हेर्दा चिसो देशमा बढी फैलिएको देखिन्छ भने गर्मी देशमा कम फैलिएको छ । त्यसैले गर्मीमा कोरोना भाइरस कम हुने सम्भावना रहन्छ । तर भाइरस म्युटेड हुन पनि सक्छ । आफू बाँच्नका लागि यसले रूप परिवर्तन गर्न पनि सक्छ । रूप परिवर्तन गरेर गर्मीमा पनि बाँच्ने र सर्ने भइदियो भने ठूलो जोखिम हुन्छ । अहिलेसम्म त भएको छैन । तर हुन्छ कि भन्ने डर छ ।
कालोबजारी नगरी सहयोग गरौं
प्रकोपमा हामी सबैले साथ दिनुपर्छ । अहिले सबैले सरकार र स्वास्थ्यकर्मीलाई सहयोग गर्नुपर्छ । यतिबेला नेपालमा मास्कको अभाव देखिन थालेको छ । हिजो नेपालले चीनलाई लाखौं मास्क दिएको थियो । तर अहिले नेपालीले नै माक्स नपाउने अवस्था छ । यसमा कालोबजारी भइरहेको छ । स्वतस्फूर्त सहयोग गर्नुपर्ने बेलामा पैसाका लागि काम गरिरहेका छन् । यतिबेला कालोबजारी गर्ने मान्छे समाजका खराब व्यक्ति हुन् । यदि मास्क नै भएन भने डाक्टर, नर्स बिरामी जाँच्न कसरी छिर्छन् ? संक्रमण हुनसक्छ भनेर उनीहरू जाँदैनन् । यसरी अहिले सानो मानसिकता राखेर यस्तो कालोबजारी गर्नुहुँदैन ।
बच्ने उपाय
पटक–पटक साबुन पानीले २० सेकेन्डसम्म मिचीमिची हात धुने । विशेषगरी सार्वजनिक ठाउँबाट घर प्रवेश गर्नुभन्दा अघि हात धुने ।
एक–अर्कासँग हात नमिलाउने ।
समुदायमा भीडभाड भएको ठाउँमा नजाने ।
रुघाखोकी लागेको मान्छेले मास्क लगाउने ।
हाछ्युँ गर्दा मुख ढाकेर गर्ने । रुघाखोकी लागेको मान्छे घर परिवारबाट टाढै बस्ने ।
प्रकोपग्रस्त क्षेत्रबाट फर्केका व्यक्तिलाई १४ दिनभित्रमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या आयो भने त्यो व्यक्तिले चिकित्सकलाई देखाउनुपर्छ ।
अनावश्यक रूपमा आँखा, नाक, मुख मिच्ने काम नगरौं ।
सार्वजनिक ठाउँमा जाँदा मास्क लगाएर जाने ।
कोरोना भाइरसको शंका लागेको व्यक्तिबाट टाढै बस्ने ।
रुघाखोकी लागेको व्यक्ति निको नहुन्जेलसम्म समुदायमा नजाने ।
खानेकुरामा ध्यान दिने । झोलिलो खानेकुरा बढी मात्रामा खाने ।
जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने ।
कोरोना भाइरसका लक्षणहरू
सामान्य रुघाखोकी ।
ज्वरो आउने ।
घाँटी दुख्ने ।
श्वासप्रश्वासमा समस्या आउने ।
टाउको दुख्ने ।
छाती दुख्ने ।
पखाला लाग्ने ।
शरीर दुख्ने ।
निमोनियाँ हुने ।
फोक्सोमा पानी जम्ने ।
श्वासप्रश्वासको समस्या भएर
बेहोस हुने ।