राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) का एसोसिएट प्रोफेसर डा. अनिल बराल वीर अस्पतालका वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ हुन् । पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस गरेका उनले न्याम्सबाट जनरल मेडिसिनमा एमडी र नेफ्रोलोजीमा डिएम गरेका छन् । उनीसँग मिर्गौला प्रत्यारोपण र यससँग सम्बन्धित विषयमा केन्द्रित रहेर जनक तिमिल्सिनाले गरेको कुराकानी :
मिर्गौलाले कसरी काम गर्छ ?
शरीरका पाँचवटा प्रमुख अंग कलेजो, फोक्सो, मुटु, दिमाग र मिर्गौला हुन् । यी सबै अंग एकआपसमा मिलेर काम गर्छन् । मिर्गौलाले शरीरको आन्तरिक वातावरण ‘इन्टरनल होमियोस्टेसिस’ ब्यालेन्समा राख्ने गर्छ, ताकि सही रुपमा मुटु, कलेजो, दिमागजस्ता अंगहरूले काम गर्न सकून् । सबै परिस्थितिमा जीवन चलिराख्न, शरीरलाई आवश्यक चिज लिन र नचाहिने चीज फाल्न वा शरीरको आन्तरिक व्यवस्था सुमधुर रूपमा चलाउने काम मिर्गौलाले गर्छ ।
मिर्गौला बिग्रनुका कारण के हुन् ?
मुटु, कलेजो बिग्रयो, फोक्सोमा निमोनियाँ भयो भने त्यसको असर मिर्गौलामा पनि देखिन्छ । बाथरोग, सुगर, उच्च रक्तचापजस्ता कुराले पनि असर गर्छ । प्रोटिन फाल्ने, पिसाबमा रगत फाल्ने, मिर्गौलाभित्रै पिसाब बनाउनेका साथै विभिन्न ट्युब र पाइपहरूको सिस्टममा हुने मिर्गौलाका आन्तरिक रोगहरू पनि हुन्छन् । केही वंशाणुगत रोग हुन्छन् । मिर्गौलामा पानीको फोका हुने, पिसाब निस्कने बाटोमा रोकावट हुने, पिसाब ठेलिँदै गएर मिर्गौला सुन्निने पनि हुन्छ । यसो हुँदा मिर्गौला बिग्रिन्छ । पत्थरी, पाठेघरको क्यान्सर, ओभरीको क्यान्सर, पिसाब थैलीको क्यान्सर र प्रोस्टेटले पनि मिर्गौला बिग्रन्छ । संसारभरि सबैभन्दा धेरै मिर्गौला बिगार्ने भनेको मधुमेह हो ।
जीवनशैली र खानपिनको प्रभाव रहन्छ ?
एन्टिबायोटिक, दुखाइ कम गर्ने औषधि, खाना, तरकारी, फलफूलमा मिसाइएका केमिकल, हानिकारक पदार्थ र विषादीले पनि मिर्गौलामा असर गर्छ । खानामा भएका विकारहरू फाल्ने काम नै मिर्गौलाले गर्छ । अत्याधिक प्रोटिन खाँदा त्यसबाट शरीरमा युरिया र क्रिटिनिन उत्पादन हुन्छ, त्यो सबै मिर्गौला बिग्रनेबित्तिकै जम्मा भएर बस्छ । खाएको खानाबाट पोषणतत्त्व पाचन प्रणालीले लिन्छ, अन्य शरीरबाट बाहिर फाल्नैपर्छ, त्यो काम मिर्गौलाको हो । एक्सरसाइजको कमी, स्वस्थ जीवनशैलीको अभाव, मोटोपन, गुलियो, चिल्लो, जंक फुडजस्ता कुराले शरीरमा पर्ने असर पनि मिर्गौलासम्म पुग्छ ।
मिर्गौला बिग्रँदाका चरणहरू पनि हुन्छन् ?
कसैलाई निमोनियाँ भयो, पिसाबमा समस्या भयो, झाडापखाला भयो, अरिंगालले टोक्यो, कहिलेकाहीं मांसपेशीमै चोट पर्दा पनि मिर्गौला फेल हुन्छ । त्यसरी फेल भएको मिर्गौला उपचार गरेपछि पूर्ण रूपमा निको हुन्छ । अर्कोचाहिँ मिर्गौला दीर्घकालीन रूपमा बिग्रँदै–बिग्रँदै जाने हो, यस्तो मिर्गौला उपचार गरे पनि फिर्ता आउँछ भन्ने हुँदैन । त्यसलाई अलि–अलि नियन्त्रणमा राख्ने हो । भविष्यमा यस्तो मिर्गौलाले प्रत्यारोपण वा डाइलाइसिस नै खोज्छ ।
मिर्गौला बिग्रने आँकडा कस्तो छ ?
विश्वभरका विभिन्न अनुसन्धानका आँकडा हेर्दा कम्तीमा १० प्रतिशत जनसंख्यामा कुनै न कुनै मिर्गौलाको समस्या भेटिएको छ । त्यसरी हेर्दा नेपालको सन्दर्भमा कम्तीमा ३० लाख मानिसमा कुनै न कुनै मिर्गौलाको समस्या छ । तीमध्ये १ प्रतिशतको बर्सेनि मिर्गौला पूर्ण रूपमा बिग्रन्छ । झन्डै ३ हजार मानिसको मर्गौला डाइलाइसिस वा प्रत्यारोपणमा जानुपर्ने अवस्थामा पुगिरहेको देखिन्छ ।
मिर्गौला बिग्रँदाका लक्षणहरू के हुन् ?
मिर्गौलाको डरलाग्दो पाटो सुरुमा यसका लक्षणहरू देखिँदैनन् । परीक्षण नगरिकन थाहा हुँदैन । हरेक स्वस्थ व्यक्तिले वर्षको एकचोटि पिसाब, रक्तचाप, रगतमा क्रियाटिनिन र युरियाको मात्रा परीक्षण गर्नुपर्छ । जिन्दगीमा एकचोटि कमसेकम वयस्कहरूले मिर्गौलाको अल्ट्रासाउन्ड गराउनुपर्छ । लक्षण नै देखिँदा ज्यान सुन्निने, गोडा सुन्निने, पेटमा पानी भरिने, छातीसम्म पानी जाने, बिहान उठ्दाखेरि अनुहार सुन्निने, पिसाबमा फिज जानेजस्ता लक्षण देखिन्छन् । मिर्गौला फेल भयो भने खाना नरुच्ने, थकाइ लाग्ने, श्वास फेर्न गाह्रो हुने, रक्तचाप नियन्त्रण नहुने, पिसाब कम हुने, छाला चिलाउने, बेहोस हुने, छाती दुख्नेजस्ता समस्या आउँछन् । बाहिर लागेको रोगले मिर्गौलामा असर गरेको रहेछ भने ती रोगका लक्षणहरू पनि आउँछन् ।
प्रत्यारोपण गर्नुपर्ने कारण मिर्गौला काम नलाग्ने हुनु नै हो ?
मिर्गौला पूर्ण रूपमा फेल भएपछि दुईवटा मात्रै विकल्प छन्, नियमित डाइलाइसिस र प्रत्यारोपण । डाइलाइसिसमा झन्झट र पीडा धेरै छ । अस्पताल जाने, खोप्ने, रगत झिक्ने, मेसिनले सफा गर्ने, समय त्यत्तिकै जान्छ, हप्तामा दुईदेखि तीनचोटि गर्नुपर्छ । यी सबै झन्झटबाट मुक्त हुनका लागि दोस्रो उत्तम विकल्प प्रत्यारोपण नै हो । प्रत्यारोपणपछि ५–७ दिन अस्पताल बसेपछि घरमै नियमित औषधि खाएर चिकित्सकको रेखदेखमा स्वस्थ र सामान्य जीवनशैली बिताउन सकिन्छ ।
मिर्गौला दान गर्ने मानिसको स्वास्थ्यमा केही फरकपन देखिन्छ ?
सामान्य आयु बाँच्नका लागि एउटा मिर्गौला नै काफी छ । कति मान्छेको पत्थरी वा ट्युमर भएर पाक्यो भने एउटा मिर्गौला झिकेरै फालिन्छ । मिर्गौला बिग्रनु भनेको मिर्गौला ड्यामेज हुने हो, एउटा मात्रै मिर्गौला फेल भन्ने हुँदैन । कि एउटै भएको मान्छेको फेल भयो, कि दुवै फेल भएका हुन् । तसर्थ, स्वस्थ व्यक्तिले एउटा मिर्गौला दान दिए पनि पूर्ण रूपमा स्वस्थ नै हुन्छ ।
प्रत्यारोपण गरिएको मिर्गौलाको आयु हुन्छ ?
आयु भन्ने हुँदैन, कुन अवस्थामा प्रत्यारोपण गरिएको थियो, दिने मान्छेको स्वास्थ्य अवस्था, उमेर, लिने दिनेको शरीरको म्याच, औषधि नियमितता, औषधिले कति धान्न सक्यो जस्ता चीजले प्रभाव पार्छ । आज स्वस्थ भएको व्यक्ति १० वर्षपछि बिरामी नहुने भन्ने हुँदैन । कति ३५–४० वर्षसम्म प्रत्यारोपण गरेको मिर्गौलाले बाँचेका पनि छन्, कसैको भोलिपल्टै निकालेर फाल्नुपर्ने पनि हुन्छ । सामान्यतया ८ देखि १२ वर्षसम्म प्रत्यारोपण गरेको किड्नीले काम गर्छ । विभिन्न संक्रमण र औषधिको प्रभावबाट कति जोगिन सकिन्छ, त्यसैमा भर पर्ने हो । १९८४–८५ तिर प्रत्यारोपण गरेकाहरू अहिले पनि स्वस्थ छन् ।
कति पटकसम्म प्रत्यारोपण गर्न सकिन्छ ?
भारतमा म पढ्ने बेलामा एक ७० वर्षकी पन्जाबी महिला थिइन्, उनको पाँचौं प्रत्यारोपण गरिएको थियो । दिने र लिने भएमा जतिपटक पनि प्रत्यारोपण गर्न सकिन्छ । विदेशमा मस्तिष्क मृत्यु भएका, एक्सिडेन्ट भएका मान्छेहरूबाट धेरै अंग झिकिन्छन् । मरेर जाने मान्छेले ८ जनासम्मलाई बचाउन सक्छ, मिर्गौला नै दुई जनामा राख्न मिल्छ । कलेजो पनि काटेर दुई जनालाई दिन मिल्छ, आन्द्रा मिल्छ, मुटु, फोक्सो पनि ट्रान्सप्लान्ट गर्न मिल्छ । हामी कहाँ मस्तिष्क मृत्यु भएकाले अंगदान गर्ने परिपाटी छैन्, फाट्टफुट्ट दुई–चार वटा भए । नेपालमै तेस्रो पटकसम्म मिर्गौला ट्रान्सप्लान्ट गरेको बिरामी पनि हुनुहुन्छ ।
पहिलोपछिको प्रत्यारोपण कति जटिल हुन्छ ?
जटिल त स्वाभाविक रूपमा नै हुन्छ, शरीर कमजोर भइहाल्छ । ‘इम्युनो सप्रेसेन्ट’ औषधि खाएको शरीर हुन्छ । पहिलो किड्नीका कारण शरीरमा एन्टीबडी बनिराखेको हुन्छ, दोस्रो किड्नीमा तिनीहरूको पनि आक्रमण हुन्छ । पहिलो प्रत्यारोपण र दोस्रो प्रत्यारोपणमा उमेरले पनि प्रभाव पार्छ । २० वर्षको हुँदा जति रोगसँग लड्न सकिन्थ्यो, ५० वर्षको हुँदा कमी त आइ नै हाल्छ । तर, उमेर बढ्दै जाँदाखेरि रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा त्यसले किड्नीलाई आक्रमण गर्ने सम्भावना कम हुन्छ । त्यसलाई दबाउनलाई ‘इम्युनो सप्रेसेन्ट’ औषधि दिन्छौं । कतिपय व्यक्तिको दोस्रो प्रत्यारोपणमा त्यो औषधिको मात्रा नै कम चाहिएको हुन्छ ।
अहिले नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था कस्तो छ ?
देशभित्र १२–१५ सय प्रत्यारोपण भइसके । सुरुमा वीर अस्पतालमा सुरु गर्दा त्यो सफल भएन । केही वर्ष ग्याप भएपछि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको सफल सुरुवात भयो । वीरमा पनि सुरु भयो, वीरबाट पनि डेढ सय बढी प्रत्यारोपण भैसके । डा. पुकार श्रेष्ठ भक्तपुर गएर मिर्गौला प्रत्यारोपण सुरु गर्नुभयो, ७–८ सय प्रत्यारोपण त्यहाँ भइसकेका छन् । शिक्षणमै पनि ७—८ सय प्रत्यारोपण भइसकेको बुझ्छु । सरकारी अस्पतालमै यति मजासँग ट्रान्सप्लान्ट भएको छ ।
सरकारले एउटा मिर्गौला प्रत्यारोपणमा ४–५ लाख रुपैयाँ सहयोग गर्छ । सर्वसाधारणको पहुँचमा पनि प्रत्यारोपण सेवा आइसकेको छ । केही निजी अस्पतालले प्रत्यारोपण लाइसेन्स लिएर सेवा सुरु गरेका छन् । नेपालको प्रत्यारोपण आउटकम विदेशीहरूकै हारहारीमै छ । विदेशीहरू नेपालमा डाइलाइसिस नि:शुल्क छ भन्दा अचम्म मान्छन् । अमेरिकामा प्रत्यारोपणमा ५० लाख खर्च हुन्छ, नेपालमा एउटा प्रत्यारोपण २ लाख रुपैयाँमा हुन्छ । संसारको सबैभन्दा सस्तो मिर्गौला प्रत्यारोपण नेपालकै हो । हामीकहाँ दिने व्यक्तिको परीक्षण गर्दा धेरै खर्च हुने हो, विश्वमै सबैभन्दा सस्तो प्रत्यारोपण सेवा नेपालकै हो ।
कानुनी झन्झटहरू के—के छन् ?
अहिले कानुन संशोधन भएर आउँदा निकटका फुपू, भिनाजु, माइजू, भान्जीजस्ता नातेदारले किड्नी दिन पाउने व्यवस्था छ । तर, यो लिभिङ डोनेसनमा बुवाआमा, श्रीमान/श्रीमतीले नै दिएन भने काकाले देला र मामाले देला भन्न गाह्रो छ, त्यसैले यो नियम बनाएर पनि खासै प्रगति भएको म देख्दिनँ । नातेदार नपर्ने कसैले दिन्छु भन्यो भने पनि दिन सक्ने र पाउने अवस्था नेपालमा छैन । धनीवर्गले गरिबलाई पैसामा किन्न सक्ने सम्भावना जहिल्यै रहन्छ । यसलाई सन्तुलित बनाएर कसरी लैजाने भन्ने कुरा नीति–निर्माताहरूले सोच्ने हो । म एउटा चिकित्सकका रूपमा मिर्गौला कोही पनि व्यक्तिले दिन्छु भन्यो भने दिन पाउनुपर्छ भन्छु ।
मिर्गौला भारतमा तस्करी हुने गरेका घटनाहरू पनि सुनिन्छन् नि ?
तस्करी भन्ने शब्दै नराखौं । तस्करी त लिलाम बढाबढ गरेर बेच्ने हो । मसँगै केही बिरामी व्यक्तिहरू छन्, पैसाका कमी छैन । घरमा थोरै परिवारमात्रै छन्, उनीहरूसँग रगत समूह मिल्दैन्, बाँच्न मन छ । कसैले दिन्छु भन्यो भने के गर्ने भन्ने सवाल हो । बाहिरबाट लिने अवस्था छैन । उमेर बल्ल ५५ वर्ष छ । क्रिटिनिन ७ पुगिसक्यो, फिस्टुला बनाइसक्या छ, डा. सा’ब डाइलाइसिस त नगर्न पाए हुन्थ्यो भन्नुहुन्छ । उपाय छैन् । यस्ता व्यक्तिहरूले के गर्छन् त ? जेजे कानुनी जटिलता र झन्झटहरू छन्, ती बिस्तारै राज्यले सहज बनाउनुपर्छ । अमेरिका र युरोपलगायतका विकसित देशहरूमा अंगमा राज्यको हक लाग्छ, त्यसैले त्यहाँ मृत्युपछिको अंगदान एकदमै धेरै छ । यसले लेनदेन, किनबेचजस्ता कुराहरू निर्मूल हुन्छन् ।