साप्ताहिक संवाददाता
अभिनेता अनमोल केसीले चलचित्र ‘धुपौरे’ का निर्माताले लगाएको ठगीको आरोपले आफु स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । उनले सामाजिक संजालबाट केहि हप्ताअघि आफुमाथि लागेको आरोपको खण्डन गर्दै भनेका छन्, ‘स्क्रिप्टमा मिहेनत गरौं भन्दा मान्नु भएन । त्यसपछि चलचित्र छाडेँ । एडभान्स रकम पैसा फिर्ता लिनुस् भन्दा उहाँहरुले लिन मान्नु भएन । अहिले म टाढा भएको मौकामा उहाँहरुले जे आरोप लगाउनुभयो, यसले मलाई स्तब्ध बनाएको छ ।’ हाल ‘ए मेरो हजुर ४’ को छायांकनका लागि पोखरामा रहेका अनमोलले फेसबुकमा जे भने, त्यो जस्ताको तस्तै :
म अनमोल केसी । म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवं सञ्चारकर्मी मित्रहरु । म चलचित्र ‘ए मेरो हजुर ४’ छायांकनको शिलशिलामा व्यस्त भई काठमाण्डौ बाहिर भएको बेलामा म माथी ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनें । त्यसले स्तब्ध भएको छु । यो कुराको स्पष्टिकरण म मिडियाकर्मी मित्रहरुको सामु उपस्थित भएरै दिन चाहन्थें । तर, म अहिले सुटिङको क्रममा काठमाण्डौं बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु ।
करीब ३–४ महिना पहिला ‘धुपौरे’ नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ अमाउण्टको रुपमा ५ लाख दिनु भएको थियो । यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रिप्टलाई प्राथमिकता दिने गरेको छु । ‘धुपौरे’ साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऔं भन्नु के मेरो गल्ती हो ? तर उहाँहरुले त्यही स्क्रिप्टमा सुटिङमा जान मलाई कर गर्नु भयो जुन मैले मानिनँ । यही कुरामा मत बाझियो र यही स्क्रीप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईँहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरुले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो म माथी ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु ।
अहिले पनि उहाँहरुले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रिप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्डस्ट्रिज सानो छ । र, यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौं भन्दा उहाँहरुले इगोको रुपमा लिनुभयो । म सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै उहाँहरुसँग एडभान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।