साप्ताहिक संवाददाता
डा. भोला रिजाल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ :
परिवार नियोजनका साधन पुरुषको तुलनामा महिलाले बढी प्रयोग गर्नुको कारण के हो ?
पुरुषका लागि कन्डम र भ्यासेक्टोमी मात्र परिवार नियोजनको विकल्प हुनु पहिलो कारण हो । पुरुषले खाने परिवार नियोजनका पिल्सहरू अन्य देशमा आए पनि नेपालमा सुरु हुन सकेको छैन । महिलाका लागि भने थुप्रै अस्थायी साधन छन् । त्यसैले पनि पुरुषको तुलनामा महिला बढी देखिनु स्वाभाविक हो ।
कन्डम प्रयोगमा पुरुषको अनिच्छा देखिएको हो ?
यसमा धेरै कारण छन् । पहिलो कुरा त कन्डमप्रति विश्वसनीयता कम हुनु हो । साथै कतिपय पुरुषले यौनसन्तुष्टिमा कमी भएको भन्ने बहाना बनाएर यसको प्रयोग गर्नबाट तर्किन्छन् । तर हामीले भने कन्डम नै प्रयोग गर्न सुझाव दिन्छौं ।
के कन्डम प्रयोगले यौन सन्तुष्टिमा फरक पार्छ त ?
त्यस्तो फरक त नपार्नुपर्ने हो, तर मैले पनि धेरै जनाबाट यौनआनन्द प्राप्त हुँदैन भन्ने सुनेको छु । यो सत्य नहुन पनि सक्छ । तर केही हदसम्म कन्डमको गुणस्तरले यौनसन्तुष्टिमा फरक पार्न सक्छ । अर्को कुरा कन्डमले असुरक्षित गर्भबाट रोक्ने मात्र होइन, यसले विभिन्न यौन रोगको संक्रमण हुनबाट पनि बचाउँछ । त्यसैले पुरुषले कन्डम प्रयोग गर्दा धेरै राम्रो हुन्छ ।
महिला र पुरुषका लागि उपयुक्त परिवार नियोजनको साधन कुन हो ?
दूध खुवाउने आमाले सकेसम्म हार्मोन भएका परिवार नियोजनका अस्थायी साधन प्रयोग नगर्दा राम्रो हुन्छ । किनभने कतिपय हार्मोनयुक्त अस्थायी साधनले बच्चालाई असर पुर्याउन सक्छ । त्यसैले दुई–तीन महिनाको बच्चा भएकी आमाका लागि कपर–टी, पोजेस्टेरोन पिल्स प्रयोग गर्न सकिन्छ । तर, यिनीहरूबाट पर्ने अन्य असरका बारेमा भने जानकार हुनुपर्छ । पुरुषका लागि भने कन्डमको विकल्प छैन । बच्चा नभएका महिलाहरूले भने आफ्नो शारीरिक अनुकूलता हेरेर अस्थायी साधन प्रयोग गर्न सक्छन् ।
परिवार नियोजनका साधन प्रयोगको ट्रेन्ड कस्तो देखिन्छ ?
अहिले बजारमा विश्वासिला अस्थायी साधनहरू उपलब्ध हुँदाहुँदै पनि आकस्मिक गर्भ रहँदा असुरक्षित गर्भपतन गराउने कम छैनन् । साथै कतिपयले आकस्मिक गर्भ रहँदा गर्भपतन गराउनका लागि विभिन्न खाले औषधिको प्रचारप्रसार गरिरहेका छन् । यसमा सरकारले छिट्टै ध्यान पुर्याउन जरुरी छ । किनभने यस्ता खाले प्रचारात्मक औषधिहरूले मातृमृत्युदरलाई बढाइरहेको छ ।