रोग प्रतिरोधात्मक क्षमतालाई अंग्रेजीमा ‘इम्युनिटी पावर’ भनिन्छ । रोगसँग लड्ने क्षमता कुनै पनि मानिसले जन्मिसिद्ध लिएर आएको हुन्छ । किनभने कुनै पनि बच्चा गर्भमा रहँदा किटाणुरहित हुन्छ । जन्मिएपछि वातावरणमा भएका अन्य सूक्ष्म किटाणुबाट लड्ने क्षमता आमाको पेटमा हुँदै प्राप्त गरेको हुन्छ । त्यसैले एक स्वस्थ आमाबाट जन्मिएको मानिसले जन्मदै रोगसँग लड्ने शक्ति लिएर आएको हुन्छ, त्यसलाई नै रोग प्रतिरोधात्मक क्षमता भनिन्छ । यसरी मानिसलाई रोगसित लड्ने शक्ति प्रकृतिले नै दिएको हुन्छ तर हाम्रो सामाजिक, पारिवारिक, वातावरण, खानपान, रहनसहनले त्यो शक्तिलाई बढाउने/घटाउने गरिरहेको हुन्छ । कुनै मानिसलाई रोगले आक्रमण गरे पनि उसको शरीरमा खासै असर गर्दैन भने उसमा रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर बुझ्नुपर्छ । अहिले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले जो कोहीलाई पनि आक्रमण गर्न सक्छ, तर जोसँग रोगसँग लड्न सक्ने शक्ति छ उसलाई यस्ता भाइरसले केही असर गर्दैन । जोसित रोगसँग लड्ने क्षमता हुँदैन, उसलाई सामान्य रुघाखोकी लाग्यो भने पनि गाह्रो भइहाल्छ । समग्रमा बाहिरी किटाणु अथवा जीवाणुले आक्रमण गर्न नसक्ने शक्ति नै रोग प्रतिरोधात्मक क्षमता हो ।
यसरी थाहा पाइन्छ आफ्नो क्षमता
कसैमा रगतको कमी छ भने रोगसँग लड्न सक्ने क्षमता कम हुन्छ । त्यस्तै कसैलाई एउटै रोगले बारम्बार सताइरहन्छ भने उसमा रोगसँग लड्ने क्षमता कम छ भन्ने बुझ्नुपर्छ । उदाहरणका लागि रुघाखोकीका भाइरस २ सयभन्दा बढी हुन्छन् । एउटा रुघाखोकीको भाइरसले आक्रमण गर्यो तर छिटो निको भएन र बारम्बार रुघाखोकी लागिरह्यो भने आफूमा रोगसँग लड्ने क्षमता कम छ भन्ने बुझ्नुपर्छ ।
कसरी बढाउने शक्ति ?
रोगसँग लड्ने शक्ति बढाउनका लागि दुई/तीनवटा कुराले महत्वपूर्ण भूमिका खेल्छ । जसमा खानेकुरा पहिलो नम्बरमा आउँछ । हाम्रो भान्सामा पाक्ने सबैखाले खानाले रोगसँग लड्ने क्षमता बढाउँछ । तर, बजारमा पाइने जंक फुडले घटाउँछ । दाल, भात, तरकारीका साथै मासको दाल, पालुंगोको साग, हरियो तरकारी, कोदो, फापर, खिर, रोटी, ढिंडो, दूध, दही मोही, ताजा अचार, तिलको छोंप, घरायसी मसला खाँदा खानामा स्वाद बढाउनुका साथै पौष्टिक तत्व पनि दिन्छ । यस्तै खाजा अथवा खानाको रूपमा हलुवा, पुरी, सेल, चिउराका विभिन्न परिकार, मिसौसा, घरमै बनाएको चटपटेलगायतका खानेकुराले रोगसँग लड्ने शक्ति बढाउँछ । माछामासु, अण्डा, विभिन्न फलफूल, नरिवल, काजु बदाम जस्ता खानेकुराले पनि रोग प्रतिरोधात्मक क्षमता बढाइरहेको हुन्छ । यस्तै हाम्रा सांस्कृतिक चाडपर्वमा पनि इम्युनिटी पावर बढाउने खानेकुरा खाने चलन छ । जस्तै, जनैपूर्णिमामा खाइने क्वाँटी, माघेसंक्रान्तिमा खाइने तरुल, घ्यु, चाकु, खिचडी, तिलबाट बनेका खानेकुरा, दही चिउराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछन् ।
फलफूल चपाएर खाने
नासपाती, उखु, अम्बा, सुन्तला, आँप, अमला, चुत्रो, ऐंसेलुलगायतका फलफूलले शरीरमा रोगसँग लड्ने शक्ति बढाउँछ । तर, फलफूलको फ्लेवर भएका बट्टामा पाइने जुसले शरीरलाई फाइदा गर्दैन । जुसभन्दा फलफूल चपाएर खाँदा शरीरलाई बढी फाइदा पुग्छ । चपाएर खाँदा फलफूलमा भएका रेसादार पदार्थ पनि खान पाइन्छ । तर, बजारमा पाइने जंक फुडमा पोषण तत्व पाइँदैन । जसले शरीरलाई कमजोर बनाउँछ ।
शरीरलाई चलायमान बनाउने
शरीरमा अल्छिपना भयो भने पनि रोग प्रतिरोधात्मक क्षमता हुँदैन । त्यसैले शरीरलाई चलायमान बनाउनुपर्छ । बिहान उठेर हिँड्ने, सूर्य नमस्कार गर्ने, मन्दिर जाने आदि गरे रोगप्रतिरोधी क्षमता बढ्छ । साथै शरीरलाई फूर्तिलो बनाइराख्छ र मुटुको चाल सन्तुलित बनाउँदै ऊर्जा प्राप्त हुन्छ ।
धूमपान, मद्यपान नगर्ने
नियमित रक्सी सेवन गर्ने मानिसको कलेजोले बिस्तारै काम गर्न छाड्छ । कलेजोले काम गर्न छाडेपछि उसले खाएको खानेकुरा राम्रोसँग पच्दैन । यस्तो हुँदा शरीरमा इम्युनिटी पावर कम हुन्छ । त्यसैले शरीरमा रोगसँग लड्ने शक्ति बढाउने हो भने धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ ।
पर्याप्त निन्द्रा
पर्याप्त निन्द्रा भएन भने पनि रोगसँग लड्ने शक्ति कम हुन्छ । त्यसैले दैनिक ७–८ घन्टा नियमित सुुत्न जरुरी छ । शरीरलाई आराम भयो भने सबै अंगले राम्रोसँग काम गर्न सक्छन् । त्यसपछि शरीरमा इम्युनिटी पावर बढ्छ ।
घाममा पर्याप्त बस्ने
घाममा बस्दा पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ । घाम हाम्रो शरीरमा शक्ति बढाउन प्रकृतिले दिएको उपहार हो । घामको किरण सोझै हाम्रो छालामा पर्दा शरीरमा एक किसिमको रसायन निस्कन्छ । जसले आनन्द अनुभूति दिनुका साथै डिप्रेसन पनि कम गर्छ । त्यसैले पर्याप्त मात्रामा घाममा बस्नु लाभदायी हुन्छ । सुत्केरी, बालबच्चालाई घाममा राखेर तेल लगाउने चलन छ । यो एकदमै राम्रो चलन हो । यसरी घाममा तोरीको तेलले बच्चालाई मसाज गर्दा रक्तसञ्चार बढाउँछ, हड्डी बलियो हुन्छ र रोगसँग लड्ने शक्ति बढाउँछ ।