भनिन्छ, प्रेम अन्धो हुन्छ । कोही–कोही प्रेमलाई उमेरले छेक्दैन भन्छन् त कोही एकै नजरमा प्रेम हुन्छ पनि भन्छन् । अमेरिकन मोडल केन्डल जेनरलाई यस्तै अप्ठ्यारो स्थिति आइलाग्यो । हालै मात्र उनले सडकको बीचमा यस्तै एक प्रेमीको सामना गर्नुपर्यो ।
उनीले हाँकिरहेको कार रोकेर एक युवकले विवाहको प्रस्ताव राखे । त्यो क्षणमा उनले केही कुरा सम्झिइनन् । केवल मुस्काइरहिन् । केही समयपछि सामान्य अवस्थामा आएर ती युवकसँग कुराकानी गरिन् । उनले युवकको प्रस्तावलाई अस्वीकार त गरिन् नै, युवकको पनि खुलेर तारिफ गरिन् ।
युवकले विवाहको प्रस्ताव गरेको उक्त भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । भिडियोमा आफूलाई मन परेको कलाकारसँग कुराकानी गर्न पाउँदा युवक पनि खुसी देखिएका छन् । एक प्रत्यक्षदर्शीका अनुसार ती युवक विवाहको प्रस्तावकै लागि सुनको औंठी लिएर पुगेका थिए ।
जब उनले प्रस्ताव राखे, जेनर निकै ठूलो स्वरले हाँसेकी थिइन् । जेनरले कुनै प्रतिक्रिया नजनाएपछि भविष्यमा विवाहको सम्भावना छ या छैन भनेर ती युवकले जेनरलाई सोधेका थिए ।