बलिउडमा करिश्मा कपुर ९० को दशककी सुन्दर र प्रतिभावान् अभिनेत्रीका रूपमा चिनिन्छिन् । अहिले चलचित्रबाट टाढिए पनि सामाजिक सन्जालमा करिश्माको सक्रियता बढ्दो छ । आफ्नो समयमा उनले बलिउडमा निकै हिट चलचित्र दिइन् । उनले आफ्नो समयमा हरेक हिट अभिनेतासँग स्क्रिन सेयर गरिन् ।
उनले हालै मात्र डिजिटल प्लेटफर्ममा वेभ सिरिज ‘मेन्टलहुड’मार्फत पाइला चालेकी छन् । यो वेभसिरिजको प्रमोसनका दौरानमा करिश्माले सन् १९९६ को आफ्नो सुपरहिट चलचित्र ‘राजा हिन्दुस्तानी’मा अभिनेता आमिर खानसँग दिएको चुम्बन दृश्यका बारेमा खुलासा गरेकी छन् ।
उनले आमिरसँग चुम्बन दृश्यको सुटिङ गर्दा कस्ता समस्याहरू झेल्नुपर्यो ? भन्ने खुलासा गरेकी हुन् । ‘त्यो समयमा मेरा लागि चुम्बनको दृश्य छायांकन गर्नु सजिलो थिएन । उक्त दृश्य खिच्न हामीलाई तीन दिन लागेको थियो,’ उनले भनेकी छन्, ‘फेब्रुअरी महिनामा यति चिसो थियो कि हामीले बेलुका ६ बजे यो दृश्य खिचेका थियौं ।’ उक्त चुम्बन दृश्य बलिउडकै सबैभन्दा लामो मानिन्छ ।