साप्ताहिक संवाददाता
चलचित्र निर्देशक दीपेन्द्र लामाले केही वर्षअघि सम्पन्न एउटा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका क्रममा भुटानी चलचित्रकी अभिनेत्री उगेन छोदेनसँग भेट गरेका थिए । उक्त भेटमा उनीहरूबीच भविष्यमा नेपाली चलचित्रका लागि सहकार्य गर्ने अनौपचारिक सहमति भएको थियो ।
अहिले उक्त सहमतिले औपचारिक स्वरूप पाएको छ । लामाले निर्देशन गर्ने पछिल्लो चलचित्र ‘दुई नम्बरी’ मा छोदेन मुख्य अभिनेत्रीको भूमिकामा प्रस्तुत हुँदैछन् । छायांकनमा जाने तयारीमा रहेको उक्त चलचित्रमा छोदेनले अभिनेता दयाहाङ राईसँग अनस्क्रिन रोमान्स गर्नेछिन् ।
नेपाली चलचित्रमा अभिनय गर्न पाउनुलाई छोदेनले सौभाग्यका रूपमा चित्रण गरेकी छिन् । भुटानमा राजेश हमाल, पल शाह, दयाहाङ राई आदि अभिनेताको राम्रो क्रेज रहेको उल्लेख गर्दै उनले राईसँगै अभिनय गर्न पाउनु आफ्नो लागि बोनस भएको उल्लेख गरेकी छिन् । चलचित्रलाई भुटानी भाषामा स्वराङ्कन गरेर भुटानमा समेत प्रदर्शन गर्नका लागि पहल गर्ने छोदेनको योजना छ ।