साप्ताहिक संवाददाता
मुसा एक किसिमको भाइरल संक्रमण हो । मुसालाई अंग्रेजीमा वाट्र्स भनिन्छ । ह्युमन प्यापिलोमा भाइरसका कारण मुसा आउँछ । एचपिभीको सयौं प्रजातिले विभिन्न प्रकारका मुसा शरीरको विभिन्न ठाउँमा निकाल्छन् । सामान्यतया: यो हातखुट्टामा आउने भए पनि कहिलेकाहीँ मुखको भित्री भाग, आवाजनली तथा यौनांगमा आउँछ ।
मुसा हरेक बच्चादेखि वृद्धासम्मलाई आउन सक्छ । दुख्ने, पोल्ने समस्या नभएका कारण पनि सामान्य रूपमा लिन सकिन्छ ।
मुसा १ सयभन्दा बढी प्रकारका हुन्छन् । कतिपय मुसा उपचार बिना आफैं हराएर जान्छ । रोग प्रतिरोधात्मक क्षमता बलिया हुने मानिसमा मुसाको संक्रमण देखिए पनि बिस्तारै हराउँदै जान्छ ।
हातखुट्टाको सफाइ राम्रोसँग गर्नुपर्छ । हात चुसिरहने तथा नङ टोक्ने बानी छ भने छोड्नुपर्छ । जिमखाना तथा स्वीमिङपुलमा आफ्नै रुमालको प्रयोग गर्नुपर्छ ।
मुसा एक व्यक्तिबाट अर्कोमा पनि सर्ने भएकाले ध्यान पुर्याउनुपर्छ । मुसा ठीक नभएसम्म उक्त व्यक्तिले प्रयोग गर्ने जुत्ता, चप्पल, रुमाल, पहिरन, साबुन अरुले प्रयोग गर्नुहुँदैन ।
कतिपयले घरमै मुसा कोट्याउने तथा काट्ने गर्छन् । यसो गर्दा अन्य भागमा पनि मुसा फैलन सक्छ । यसका लागि विशेषज्ञकहाँ जानुपर्छ ।
कतिपय मुसा औषधि तथा क्रिमले पनि जान सक्छ । कति मुसा हटाउनका लागि लेजर, इलेक्ट्रिक तथा सर्जरी विधिको प्रयोग गर्नुपर्छ ।