साप्ताहिक संवाददाता
पोखराको ‘वान्स इन नेचर’ रेस्टुरेन्टमा गाँजा र चरेस सेवन गरिरहेका १ नेपाली र ६ विदेशीलाई प्रहरीले पक्राउ गरेको छ । लेक साइड क्षेत्रमा पर्ने पामेबाट उनीहरुलाई पक्राउ गरी नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
पामे क्षेत्रमा रहेको रेस्टुँरेन्टमा लागूऔषधको प्रयोग गरेर पार्टी भइरहेको सूचना पाएपछि प्रहरीले मंगलबार राति सो क्षेत्रमा पुगेर उनीहरुलाई पक्राउ गरेको जिप्रका कास्कीका प्रहरी निरीक्षक नरहरी अधिकारीले बताए ।
कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार पक्राउ पर्ने नेपाली रेस्टुरेन्ट संचालक सन्देश शर्मा हुन् । उनी हाइप्रोफाइलका छोरा भएको सूचना प्रहरीलाई आएको भए तापनि पुष्टी नभइसकेको उनले बताए । उनी भन्छन्, ‘उनीहरु सबै उमेर पुगेका छन् । ट्रान्स पार्टीजस्तो नग्न वा अर्धनग्न अवस्थामा कोही थिएन । तर, उनीहरुले लागूऔषध प्रयोग गरिरहेका थिए ।’
त्यसबखत रेस्टुरेन्टमा २५ जना थिए । त्यसमध्ये लागू औषध सेवन गर्नेहरुको पहिचान गरी प्रहरीले पक्राउ गरेको हो । प्रहरी निरीक्षक अधिकारीका अनुसार उनीहरुलाई हाल जिप्रका कास्कीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।