साप्ताहिक संवाददाता
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासका कारण नेपाल सरकारले आगामी वैशाख १८ गतेसम्म सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ । बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सो निर्णय गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको समितिको आठौं बैठकले सिनेमा हल, सांस्कृति केन्ऽहरू, रंगशाला, खेल स्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार तथा क्लबआदि बन्द गर्ने निर्णय गरेको छ ।
यसैगरी, अत्यावश्यक काम बाहेक आवतजावत, हिँडडुल नगर्न पनि सबैलाई निर्देशन गरेको छ । सार्वजनिक स्थलहरूमा २५ जना भन्दा बढी मानिसहरू भेला हुन बन्द गर्ने निर्णयसमेत गरेको छ । यसको अनुगमन पनि गृह मन्त्रालय एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने भएको छ ।
सिनेमा हल बन्द गर्ने निर्णय गरेसँगै वैशाखको तेस्रो सातासम्म रिलिजका लागि प्रदर्शन मिति तय गरेका चलचित्रको रिलिज प्रभावित भएको छ ।