विश्वमा कोरोना भाइरसको संक्रमण फैलँदै गएपछि नेपालमा पनि त्रास बढेको छ । संक्रमणबाट जोगिन मानिसले मास्क र सेनिटाइजरको अत्यधिक प्रयोग गर्न थालेका छन् । जसका कारण बजार यसको माग बढ्दो छ । महामारीलाई कमाउने मौकाका रूपमा लिने केही कालाबजारीका कारण पनि बजारमा यसको अभाव भएको आरोप छ । यसै परिवेशबीच ललितपुर महानगरपालिकाले स्थानीयलाई मास्क र सेनिटाइजर बनाउने तालिम दिएको छ । बजारमा अभाव हुन नदिन महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम सञ्चालन गरेको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को प्राविधिक सहयोगमा महानगरले रक्सीबाट सेनिटाइजर बनाउने तालिम दिएको हो । गत आइतबारबाट सुरू भएको तालिममा नगरको २९ वडाका ६० जना प्रतिनिधि सहभागी थिए । महानगरले यसअघि मास्क बनाउने तालिम दिएको थियो । ‘सुरुमा हामीले बजारको अभावलाई बुझेर मास्क बनाउने तालिम दियौं,’ महानगरपालिकाका वरिष्ठ इन्जिनियर हरिश्चन्द्र घिमिरेले भने, ‘त्यसपछि नास्टसँग सहकार्य गरेर स्थानीयलाई सेनिटाइजर बनाउने तालिम दिएका हौं ।’
सहभागीलाई घरेलु रक्सीबाट सेनिटाइजर बनाउने सम्पूर्ण तरिका सिकाइएको घिमिरेले बताए । घरेलु रक्सीको प्रयोगमार्फत नै सेनिटाइजर बनाउन सकिने हुँदा उत्पादनका लागि स्थानीय जनशक्ति तयार पार्न तालिम दिइएको नास्टका प्रवक्ता सुरेश कुमार ढुंगेलले बताए ।
तालिमपश्चात् घरेलु रक्सी प्रशोधन गरी सेनिटाइजर बनाउन निकै सजिलो हुने बताउँछन्, तालिममा मुख्य प्रशिक्षक एवम् नास्टका वरिष्ठ वैज्ञानिक साजनलाल स्याउला । स्याउलाका अनुसार घरेलु रक्सीमा ३५ देखि ४२ प्रतिशत इथाइनलको मात्रा हुन्छ । भाइरसका कीटाणु मार्नका लागि भने ७५ देखि ८० प्रतिशत इथाइनल आवश्यक हुन्छ । ‘हामीले रक्सीमा इथाइनलको मात्रा बढाउने तरिका सिकाएका हौं,’ उनले भने, ‘विश्व स्वास्थ्य संगगठनले सिफारिस गरेको तरिकामा नै हामीले रक्सीमा इथाइनलको मात्रा बढाउँन सिकायौं ।’
के हो सेनिटाइजर ?
सामान्यतया सफाइ गरेर कीटाणु मार्ने केमिकल नै सेनिटाइजर हो । हात सफा गर्नका लागि साबुनको प्रयाग गर्छौं भने भुइँ सफा गर्न डिसइन्फेक्टेन्ट प्रयोग गर्छौं । वैज्ञानिक स्याउलाका अनुसार शरीरको लिभिङ अर्गानिजममा प्रयोग गर्न एन्टिसेफ्टिक प्रयोग गरिन्छ । सफाइमा सबै केमिकल प्रयोगको आ–आफ्नै विधि छन् । ‘साबुनले हात सफा गर्दा फोहोर पखालेर लैजान्छ, कीटाणु मार्दैन’, स्याउला भन्छन्, ‘हामी डिसइन्फेक्टेन्ट भने शरीरमा प्रयोग गर्न सक्दैनौं, त्यसलाई ब्याक्टेरिया मार्नकै लागि प्रयोग गरिन्छ ।’ उनका अनुसार एन्टिसेफ्टिकमा मानव शरीरको सेलमा असर नगर्ने तर ब्याक्टेरियालाई मार्ने तत्त्व हुन्छ । यसर्थ सेनिटाइजर एन्टिसेफ्टिक हो ।
सेनिटाइजर आँखामा नपारौं
-साजनलाल स्याउला
के–केबाट सेनिटाइजर बनाउन सकिन्छ ?
हजारौं तरिकाबाट सेनिटाइजर बनाउन सकिन्छ । तर, अल्कोहलबाट बनाइएको सेनिटाइजरलाई नै प्रभावकारी मानिन्छ । अल्कोहल पनि केमिकलकै वर्गमा पर्छ । रक्सीमा अल्कोहलसँगै मिथाइनल, इथाइनल, ब्युटानललगायत केमिकल हुन्छन् । विश्व स्वास्थ्य संगठनलेमिथाइनल, इथाइनल र ब्युटानलबाट सेनिटाइजर बनाउन सुझाव दिएको छ । हामीले चाहिँ घरेलु रक्सीमा पाइने इथाइनल प्रयोग गरेर सेनिटाइजर बनाउन सिकाएका हौं ।
यो कस्तो बेला प्रयोग गर्ने त ?
यो जुनसुकै अवस्थामा पनि प्रयोग गर्न सकिन्छ । सेनिटाइजर प्रयोग गरेर भर्खर जन्मेको बच्चालाई समाउँदा पनि केही फरक पर्दैन । एक व्यक्तिबाट अर्कोमा संक्रमण नहोस् भनेर यसको प्रयोग गर्ने हो । अस्पतालको अपरेसन थिएटरमा जाँदा र अपरेसनपछि निस्कँदा पनि सेनिटाइजर प्रयोग गर्छन् । कुनै पनि संक्रमणबाट जोगिन यो सधैं उपयोगी हुन्छ ।
धेरै प्रयोग गर्दा असर गर्छ कि गर्दैन ?
गर्दैन । किनकि, अल्कोहल छालामा धेरै बेर बस्दैन । एकैछिनमा उडेर जान्छ । शरीरमा हुनै हानि गर्दैन । यसमा डराउनु पर्ने केही छैन । तर, यसलाई आँखामा पार्नुचाहिँ हुदैन ।