डीपी सरसँग अन्तरंग

  • स्वयंलाई लेखक अस्वीकृत गर्ने भण्डारीलाई पाठकको कहिल्यै खडेरी परेन

- शेखर खरेल

चैत्र ७, २०७६

प्राध्यापक दुर्गाप्रसाद (डीपी) भण्डारीका दर्जनौं निबन्धमा आषाढको प्रथम दिवस (दिन) को व्याख्या छ । महाकवि कालिदासको ‘मेघदूत’मा यक्षले मेघलाई आफ्ना प्रेमिकाका निम्ति सन्देशवाहक बनिदिन अनुनय गरेको प्रसंगलाई डीपी सरले एक वेचैन प्रेमीको मनोदशाका रूपमा मिहिन व्याख्या गर्नुभएको छ, ती निबन्धमा । तर मेरा निम्ति बेचैनीको महिना असार नभएर चैत हो, जुन डीपी सरसँग नगरकोटमा बिताएको एक अप्रतिम ‘नाइट स्टे’सँग सम्बन्धित छ ।

विस्मृति रमणको पूर्वसन्ध्यामा डीपी सरसँगको हामी चार भाइ, लेखक खगेन्द्र संग्रौला, कवि हेमन्त विवश, नगरकोट फोर्ट रेसोर्टका अनिल प्रधान र मैले सुरापानसहितको एक अन्तरङ्ग सत्र व्यतीत गरेका थियौं । सायद अन्तरङ्ग डीपी सरका निम्ति पनि एक आनन्दास्पर्शी शब्दावली हो । यसै ‘साप्ताहिक’मा उहाँले ‘डीपी भण्डारीसँग अन्तरङ्ग’ शीर्षकमा लामो समयसम्म स्तम्भ लेख्नुभयो । हात थर्थराउने रोगले लेखन कार्य कष्टकर बन्दै र वार्धक्यले शनैशनै गाँज्दै लगेपछि उहाँ स्तम्भ लेखनबाट ओझेलिनुभयो ।

संवत् २०६७ चैतको नगरकोटको ‘नाइट स्टे’मा उहाँमा वार्धक्य सुरु हुन थालेको हामीले अनुभूत गर्‍यौं । त्यसको दुई वर्षपछि उहाँकी पत्नी श्री भण्डारीको अप्रत्याशित निधनले डीपी सरमाथि शोकसँगै एकान्तिकता निम्त्यायो । पाशुपत क्षेत्रको मृगस्थलीको प्रात: भ्रमणमा निस्कने उहाँ त्यसपछि विस्मृति रमणमा पुग्नुभयो ।

पछिल्लो आधा दशकदेखि डीपी सर स्मृतिशून्य हुनुहुन्थ्यो । उहाँ ‘क्लिनिकल्ली’ मात्र हामीबीच हुनुहुन्थ्यो । थर्थराएका हातसँगै वाचाल ओठ पनि ‘लकडाउन’ भइसकेका थिए । त्यस्तो अवस्थामा उहाँलाई भेट्नु पनि कष्टकर हुन्थ्यो । स्वयंका निम्ति अजनवी डीपी सरका आँखा निर्निमेष देखिन्थे, कुनै शून्यमा टोलाइरहेजस्तै । अन्तत: गत चैत १ गतेका दिन उहाँ महाशून्यमा एकाकार हुनुभयो ।

सुदूरपश्चिम डोटीको निरौली गाउँमा कात्तिक १, १९९२ मा जन्मनुभएका डीपी भण्डारीको अक्षरारम्भ गाउँबाटै भएको थियो । १२ वर्षको उमेरमा गुरुकुलीय पद्धतिमा अध्ययन निम्ति भारतको हरिद्वार पुग्नुभएका उहाँले भारतकै जवलपुर विश्वविद्यालयबाट अंग्रेजी आइरिश कवि विलियम वट्लर (डब्लूबी) यिट्सको काव्यिकताउपर विद्यावारिधि गर्नुभयो । तीन दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी प्राध्यापन गर्नुभएका उहाँ नेपाल प्राध्यापक संघको सभापति तथा नेपाल एसियाली अध्ययन केन्द्र (सिनास) को निर्देशक पनि बन्नुभयो । प्राध्यापन, लेखन तथा सम्भाषणमा उत्तिकै पारंगत एवं सिद्धहस्त भण्डारी सर आजन्म प्राज्ञिक कर्म एवं उन्नयनको सोपानमा रमाउनुभयो । संस्कृत, हिन्दी र अंग्रेजी वाङ्मय, दर्शन र साहित्यका अध्ययनका कारण उहाँ पूर्वीय दर्शनसँगै पश्चिमेली साहित्यको धुरन्धर ज्ञाता अनि व्याख्याता हुनुहुन्थ्यो । कालिदास हुन् वा शेक्सपियर, भर्तृहरि हुन् वा मिल्टन, टेगौर हुन् वा इलियट उहाँ व्याख्या सुनेर मानिस कायल बन्थे ।

व्यक्तिको वैयक्तिक स्वतन्त्रताका पैरवीकर्ता एवं समाजको बृहत्तर पाखण्डपूर्ण चरित्रको आलोचक डीपी सर प्राचीन ग्रिसका शुकरात, एरिस्टोटलझैं विद्रोही हुनुहुन्थ्यो । चाहे पञ्चायत होस् वा प्रजातन्त्र उहाँ सधै नेतृत्वको आलोचक रहनुभयो । त्यसैले उहाँसँग सैद्धान्तिक वा चरित्रगत रूपमा बेमेल रहने प्रजातन्त्रवादी हुन् वा प्रगतीशील, डीपी सरको आभासामु नतमस्तक हुन्थे ।

संवत् २०५७ मा डीपी सरको पहिलो निबन्धाकृति ‘मृगस्थली’को लोकार्पण निम्ति तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई आयोजक गणेशमान सिंह प्रतिष्ठानले मुख्य अतिथिनिम्ति आमन्त्रण गरेको थियो । सन्त नेता कृष्णप्रसाद (किसुनजी) भट्टराईलाई वैधानिक अपदस्थ गरेर प्रमुख कार्यकारी बनेका कोइरालाले किसुनजीकै अनन्य डीपी भण्डारीको पुस्तक विमोचनको आमन्त्रण कदापि नस्विकार्ने धेरैको अनुमान थियो । तर, कोइराला मुख्य अतिथि बन्न सहर्ष तयार भए । विमोचनमा आउनुको राज कोइरालाले यसरी पनि खोले, ‘म गएको तीन महिनादेखि उद्घाटन, विमोचनजस्ता कार्यक्रम छल्दै आइरहेको थिएँ । तर, जब प्राध्यापक भण्डारीको कार्यक्रमको मुख्य अतिथि बनिदिने अनुरोध आयो, म सहर्ष तयार भएँ, किनकि भण्डारी सरले नर्क जाउँm भने पनि जाने मान्छे हुँ म ।’

डीपी भण्डारीले आफूलाई कहिल्यै लेखक वा साहित्यकार दाबी गर्नु भएन । आत्मघोषणाले मानव उच्चताको संकेत नगर्ने, बरु तुच्छता अनुमोदन हुने उहाँको तर्क थियो । त्यसैले उहाँले आफूलाई गोठालो भन्न रुचाउनुभयो । आफ्ना लेख र प्रियजनसँगको कुराकानीमा उहाँ बाल्यावस्थाको गोठालो जीवन सर्वाधिक उल्लासपूर्ण कालखण्ड उल्लेख गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘यदि भगवान्ले कुनै वरदान माग भनेमा अर्को जन्ममा झन् ठूलो गोठालो हुन पाउँm भन्नेछु ।’

तर स्वयंलाई लेखक अस्वीकृत गर्ने डीपी भण्डारीलाई पाठकको कहिल्यै खडेरी परेन । सबै लिङ्ग, उमेर र विचारका मानिसलाई उहाँका लेखनले गुरुत्वाकर्षित गरिरहे । कतिसम्म भने, कम्युनिस्टप्रति कठोर भण्डारी सरका कतिपय प्रशंसक प्रगतिशील भनिने वाम विचारधाराका हुन्थे । तथाकथित बौद्धिकताका नाममा उहाँका लेख कहिल्यै बुद्धिविलासका पुलिन्दा रहेनन् । राष्ट्रकवि माधवप्रसाद घिमिरे डीपी भण्डारीको निबन्धमा ह्दय पक्षकोरसिकतासँग अन्तर्दृष्टिको सूक्ष्मता मुछिएको पाउँछन् । राष्ट्रकवि घिमिरे ती निबन्धमा ह्दयको मस्तीसँगै अन्तर्दृष्टिका सूक्ति पनि भेट्छन् ।

दर्शन अनि सघन विम्बात्मकता भण्डारी सरका लेखकीय विशेषता हुन् भने निर्बोधता अनि निस्पृहता उहाँका चारित्रिक विशेषता । शक्ति र सत्ताबाट विकर्षित उहाँ सत्य र निश्छलताबाट अभिभूत हुनुहुन्थ्यो, लेखन र सम्बन्ध दुवैमा । उहाँ पण्डित, पादरी र मुल्लाहका पाखण्डलाई उछित्तो काट्नुहुन्थ्यो भने भ्रष्ट नेता र कामचोर कर्मचारीलाई सिर्कनु हान्नुहुन्थ्यो ।

‘नीरो बाँसुरी बजाइरहेछ’ संग्रहको ‘बगरेको अण्डकोष र हाम्रो प्रजातन्त्र’ निबन्धमा उहाँ तथाकथित प्रजातन्त्रवादीको मुखुण्डो उतार्नुहुन्छ । प्रजातन्त्रको नाममा लुटतन्त्र मच्चाउने लुब्ध र उपयोगितावादी नेतृत्वप्रति हदै कठोर बन्नुहुन्छ, ‘बगरेले एक पौरुषपूर्ण बोकालाई नपुङ्सक बनाएको खसीको अण्डकोष देखाएर व्यापार गर्छ । सत्य एउटा हुन्छ, उसको उपादेयता विपरीत हुन्छ । त्यस्तै हाम्रो प्रजातन्त्र एक विशेष लक्ष्य लिएर आएको हुन्छ, तर व्यवहार त्यसको एकदमै उल्टो हुन्छ । बगरेको भन्दा प्रजातान्त्रिक व्यवस्थामाथि ‘आस्था’ राख्नेहरूका पाखण्ड, विरोधाभास र ठगी धेरै बढी खतरनाक हुन्छ ।’

यसैगरी ‘रोटी र फूल’ निबन्धाकृतिको ‘यो संसार अजनबीहरूको रैनबसेरा हो’मा डीपी सर पृथ्वीवासीहरूका द्वैध चरित्रबाट वाक्कदिक्क देखिनुहुन्छ । मानवजातिका छुद्र व्यवहारदेखि विस्मित बन्दै उहाँ लेख्नुहुन्छ, ‘पृथ्वीवासी ठगी, प्रपञ्च, प्रतारण, पाखण्डता, विविध किसिमका नारकीय चिन्तन र कर्ममा प्रवीण हुँदै गइरहेका छन् । कुडा करकट, भूस लेखेर आफैंलाई ठूलो साहित्यकार र विद्वान् घोषित गर्दै गइरहेका हुन्छन् । कर्मचारी हुँदा लटरम्म भ्रष्टाचार गरिसकेपछि आफैंलाई साहित्यकार र लेखक हुँ भन्ने भूसहरूको बथान यो ग्रहभित्र नगन्य रूपले सानो कुना, नेपालमा पनि दृष्टिगोचर गर्न लायक छ ।’

औपचारिक कार्यक्रम र सम्भाषणमा हुन्, वा अनौपचारिक भेटघाट वा सुरापान सत्र, उहाँका व्यंग्य, वक्रोक्ति र विनोदप्रियता आल्हादकारी हुन्थ्यो । छाडा सुनिने ठेट बोली र सम्बोधनले सुनिजान्नेलाई काउकुती लगाउँथ्यो । खै किन हो, उहाँका मुखबाट निस्कने सभ्य समाजमा वर्जित शब्दावली कहिल्यै असभ्य सुनिएनन् । सबैप्रतिको समभाव र ह्दयको निश्छलताका कारण डीपी सरका बोली कहिल्यै ‘एब्युजिभ’ सुनिएनन् । रमाइलो त के भने, जो ठाडा र छाडा पदावलीद्वारा सम्बोधित हुन्थे, ती क्रोधित नभएर प्रसन्न रहन्थे । लेखक खगेन्द्र संग्रौला र डीपी सरका केही अन्तरङ्ग र सुरापाना सत्रका साक्षी म स्वयं हुँ । डीपी सर कम्युनिष्टप्रति कठोर हुनुहुन्थ्यो, तैपनि देब्रेढल्कुवा खगेन्द्र दाइ सदा उहाँप्रति प्रेमिल रहनुभयो । उहाँको ‘चाबेलको चाउरे’ को सम्बोधनबाट खगेन्द्रदाइ क्रोधित नभएर पुलकित बन्नुहुन्थ्यो ।

अरूउपर व्यंग्य गर्ने डीपी सर आफैंप्रति उत्तिकै व्यंग्य गर्नुहुन्थ्यो । उहाँ आफैंमाथि त्यसैगरी व्यंग्य गर्नुहुन्थ्यो जसरी भारतका प्रख्यात् लेखक खुशवन्त सिंह आफू र सरदारजीहरू उपर व्यग्य गर्ने गर्थे । खुशवन्तझै उहाँ पनि नग्नता, यौन र नारीहरूउपर टिप्पणी गरिरहनुहुन्थ्यो । त्यसैले उहाँका निबन्धहरूमा ‘सेक्स अपिल’ पाइन्छ । उहाँ आफूलाई गोठालो, लाटो र मूर्खजस्ता उपमाहरूले सम्बोधन गर्न रुचाउनुहुन्थ्यो, जसरी खुशवन्त उनलाई कसैले छिल्याहा बूढो र जोकर भनेर सम्बोधन गरेमा तिनलाई ‘कम्लिमेन्ट’का रूपमा लिने गर्थे ।

स्वयं विस्मृतिमा रमण गर्नुभए पनि डीपी सरले विरासतमा थुप्रै स्मृति छाडेर जानुभएको छ । ‘मृगस्थली’ (२०५७), ‘नीरो बाँसुरी बजाइरहेछ’ (२०६०), ‘रोटी र फूल’ (२०६३), ‘त्यो धरती (२०६३) त्यो आकाश’(२०६८) उहाँका प्रकाशित निबन्धाकृति हुन् । रेडियो सगरमाथामा लामो समय दार्शनिक प्रवचनको कार्यक्रम सञ्चालन गर्नुभएका उहाँ सम्भाषणका रेकर्ड पक्कै पनि अर्काइभमा हुनुपर्छ । त्यसैगरी उहाँका अप्रकाशित रचना परिवारसँग सुरक्षित हुनुपर्छ । कतिपय कुरा, खासगरी प्रेम सम्बन्धका डायरी उहाँ जीवित रहँदासम्म छापियोस् भन्ने चाहनुहुन्नथ्यो, जुन उपयुक्त समयमा प्रकाशित हुन सक्छ ।

नेपाली प्राज्ञिक एवं साहित्याकाशका एक प्राञ्जल नक्षत्र आदरणीय डीपी सरप्रति हार्दिक श्रद्धाञ्जली !

प्रकाशित :चैत्र ७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×