धरानमा सम्पन्न राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको तेस्रो संस्करणमा बिर्तामोडका उमेश राई च्याम्पियन बने । गत साता सम्पन्न प्रतियोगितामा ७५ केजीभन्दा बढी तौल समूहमा पहिलो हुँदै राई ‘च्याम्पियन अफ दि च्याम्पियन’ बनेका हुन् ।
उनले प्रतियोगितामा च्याम्पियन हुन निकै मेहनत गरेको बताए । ‘प्रतियोगितापूर्व दैनिक ४ घण्टा अभ्यास गरेँ’, उनले भने, ‘त्यसैअनुसार डाइट पनि बढाएँ ।’ उनका अनुसार प्रतियोगिता तयारी गर्न ४ महिनाभन्दा बढी लाग्यो । डाइटमा मात्रै मासिक डेढ/दुई लाख रुपैयाँ खर्च भएको उनको अनुभव छ ।
उनले शारीरिक सुगठन प्रभावकारी बनाउन दैनिक रूपमा दुई किलो चिकेन, १० वटा अण्डा, २५० ग्राम साल्मन, ३०० ग्राम बिफ, ६०० ग्राम कार्बोहाइट्रेड र ५०० ग्राम भेजिटेबल सेवन गर्ने गरेको बताए ।
यसअघि २०७५ मा काठमाडौंमा भएको मिस्टर एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा समेत च्याम्पियन बनेका उनी ७३ सालको १४ औं मिस्टर धर्मश्री प्रतियोगितामा तेस्रो भएका थिए । आफ्ना दाजु तेक्वान्दो खेलाडी राजकुमार राईको प्रेरणाबाट बडीबिल्डिङमा लागेका उमेश २०६२ सालमा झापामा सम्पन्न एक प्रतियोगितामा ६० केजी तौल समूहमा तेस्रो भएका थिए । उनी अर्को वर्ष जेठमा काठमाडौंमा आयोजना हुने धर्मश्री र दसंैअघि पोखरामा हुने बुल्स मेन प्रतियोगिताको तयारीमा जुटेका छन् ।