बलिउडमा कोरोना भाइरसको असर दिन–प्रतिदिन बढ्दै गइरहेको छ । फिल्मको सुटिङदेखि बक्सअफिसमात्रै होइन, कलाकारको दैनिक जीवनमा पनि यसले असर गरिरहेको छ । कोरोनाको जोखिमका कारण कलाकारहरू नियमित जिमखाना जान सकिरहेका छैनन् । त्यसैले यसको विकल्प घरलाई नै बनाउन थालेका छन् ।
बलिउड अभिनेत्री कैटरिना कैफले आफ्नै घरको छतलाई जिमको विकल्प बनाएको खबर अहिले चर्चामा छ । उनले छतमै वर्कआउट गरिरहेको भिडियो अहिले सोसियल मिडियामा भाइरल भइरहेको छ । सोसियल मिडियामा वर्कआउट गरेको भिडियो सेयर गर्दै उनले लेखेकी छिन्, ‘घरमै वर्कआउट...जिम जान सकिनँ, त्यसैले यो घरमै गर्न सकिने वर्कआउट सेयर गरिरहेकी छु । सुरक्षित रहनुस् र सकेसम्म सक्रिय पनि रहनुस् ।’
उनले घरमै बसेर पनि विभिन्न तरिकाको व्यायाम गर्न सकिने बताएकी छिन् । भिडियोलाई करिब ३ लाख दर्शकले हेरिसकेका छन् । हाल कैटरिना अक्षय कुमारका साथ नयाँ फिल्म ‘सूर्यवंशी’मा देखिँदैछिन् । कोरोनाकै कारण यो फिल्मको रिलिज मिति पनि स्थगित भइसकेको छ ।