साप्ताहिक संवाददाता
हलिउडका एक्सन स्टार भिन डिजेल अब संगीतकर्मीका रूपमा दर्शकमाझ आउन लागेका छन् । अमेरिकाको द लेट लेट शो विद जेम्स कोर्डनमा प्रस्तुत भएका भिनले यतिबेला उनी संगीतको प्रोजेक्टमा काम गरिरहेको खुलासा गरेका हुन् । त्यसो त सन् २०१७ मा उनले बिलबोर्ड ल्याटिन म्युजिक एवार्ड्समा आफ्नो सांगीतिक प्रस्तुति दिइसकेका छन् ।
उक्त कार्यक्रममा आफ्नो सांगीतिक करियरका बारेमा जानकारी दिँदै भिनले भनेका छन्— ‘मेरा छोराछोरीलाई समेत मैले गीत गाएको मन परेको छ ।’ त्यसो त उनले एल्बम अथवा गीतका बारेमा कुनै पनि जानकारी दिएका छैनन् ।
‘म अहिले संगीतमा काम गरिरहेको छु, भिनले भनेका छन्— ‘चाँडै नै मेरो सांगीतिक गतिविधिका बारेमा जानकारी पाउनु हुनेछ ।’ हालैमात्र भिनको एक्सनप्रधान चलचित्र ‘ब्लडसट’ सार्वजनिक भएको छ । उक्त चलचित्रमा इजा गोन्जालेज, सेम ह्युगन आदि कलाकारले पनि अभिनय गरेका छन् । उक्त चलचित्रलाई डेव विल्सनले निर्देशन गरेका हुन् ।