कोरोना (कोभिड–१९) भाइरसको संक्रमण विश्वव्यापी रूपमा तीव्र रूपमा बढिरहेको छ । अहिलेको अवस्थामा यो रोगबाट जोगिनु बाहेक अरू कुनै किसिमको उपाय देखिएको छैन । वैज्ञानिकहरू यो रोगको औषधि तयार गर्न तल्लिन छन् । यस्तो अवस्थामा चिकित्सा विज्ञानले आफूमा रोग प्रतिरोधी क्षमता बढाउनु र सुरक्षित रूपमा रहनुलाई नै बच्ने मुख्य उपाय बताइरहेका छन् ।
हाम्रो पूर्वीय समाजमा मानिसमा प्रतिरक्षा प्रणाली बढाउने धेरै किसिमका उपायहरू छन् । यस्ता किसिमका उपायहरू धेरै कम मानिसहरूले मात्र प्रयोग गरिरहेका छन् । अहिले कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा घरमै भएका सामग्रीहरूलाई प्रयोग गरेर आफू र आफ्नो परिवारमा रोग प्रतिरक्षा प्रणालीको विकास गर्न सजिलै सकिन्छ ।
आयुर्वेदका अनुसार रोग प्रतिरोधि क्षमता बढाउने केही उपायहरू यसप्रकार छन् ।
- तुलसीको १०–२० वटा पातलाई राम्ररी धुने, बोक्रा छोडाएको एक टुक्रा अदुवा र ५ गेडा मरिच हालेर एक गिलास पानीमा राम्ररी उमाल्ने । यसरी उमालेको झोललाई बिहान बेलुका नियमित रूपमा पिउने गर्नाले शरीरमा रोग प्रतिरोधि क्षमता विकास हुन्छ ।
- तुलसीको १०–२० वटा पातलाई राम्ररी पखालेर एक गिलास पानीमा राम्ररी उमाल्ने र पातलाई छानेर झिक्ने । छानेर बचेको पानीमा बोक्रा छोडाएको एक टुक्रा अदुवा, आधा चम्चा दालचिनीको धुलो हालेर केहीबेर उमाल्ने । उमालेर सेलाउँदा मनतातो भएको अवस्थामा एक चम्चा मह हालेर दिनको दुई/तीन पटक पिउने गर्नाले शरीरमा रोग प्रतिरोधि क्षमताको विकास हुन्छ ।
- दैनिक रूपमा नुहाएपछि नाकको दुवै प्वालमा शुद्ध तोरी, सस्र्यू वा तिलको तेल एक एक थोपा हाल्नु पर्छ । यदि घरबाट बाहिर निस्कँदै हुनुहुन्छ भने पनि तपाईंले यो काम गर्दा शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।
- कपुर, सुकुमेल र जाइफलको धुलोलाई मिसाएर कुनै कपडामा पोको पारेर बेला–बेलामा सुघ्ने गर्दा पनि शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।
- ल्वाङ र हर्रोलाई ध्युमा भुटेर राख्ने । उक्त भुटेको भागलाई बेला–बेलामा मुखमा राखेर चुस्ने गर्नाले शरीरमा रोग प्रतिरोधी क्षमताको विकास हुन्छ ।
यस्तो अवस्थामा के गर्ने
- सधैं मनतातो पानीको सेवन गर्नुपर्छ भने खानेकुरा पनि भर्खरै पकाएको तातो नै खाने गर्नुपर्छ ।
- दाल, भात खाँदा भोजनमा मुंग, मुसुरको दाल जस्ता सजिलै पच्ने किसिमका दालको सेवन गर्नु राम्रो हुन्छ ।
- मौसमअनुसार फल्ने फलफूल र ताजा तरकारीहरू राम्ररी धोएर सेवन गर्नुपर्छ ।
- दैनिक गरिने भोजनमा अदुवा, मरिच, तुलसी, सुकमेल, महजस्ता पदार्थ नियमित समावेश गर्नुपर्छ ।
- शरीरलाई चिसो हुन नदिन बाक्लो किसिमको लुगाहरू लगाउने गर्नुपर्छ ।
- आइसक्रिम, कोल्डड्रिंक्स, चिसो पानी र चिसो जुसको सेवन कम गर्नुपर्छ ।
- धेरै चिल्लो र तारेको खानेकुराको सेवन कम गर्नुपर्छ । आधा पकाएको मासुजन्य पदार्थको सेवन गर्नु हुँदैन ।