साप्ताहिक संवाददाता
कोभिड–१९ले संसारभरि दुःखद प्रभाव पारिरहेको बेला नेपाली फिल्म क्षेत्रका लागि सुखद समाचार आएको छ । विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनौटमा परेको छ । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो ।
विश्वभरीका ६५ सयभन्दा बढीको आवेदनबाट उत्कृष्ट सय फिल्म छनौट हुँदा एसियाबाट १९ सिनेमा छनौटमा परेको छ । जसमा यसपटक नेपालका महोत्सवहरूमा पुरष्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो ।
निर्देशक श्रेष्ठले साना नानीहरुको सम्मानार्थ छानेको कथा विश्वप्रशिद्ध र सम्मानित महोत्सवमा छनौट हुँदा अत्यन्तै खुशी लागेको बताए । उनले भने, ‘रङ्गकर्ममा र लेखनमा रमाइरहेको बेला फिल्मबाट कथा भन्ने प्रयास गरेको हुँ । यो प्रयास विश्वसामु जाँदा उत्साहित छु ।’
क्रियटिभ निर्माता विभु पौडेलले नेपाली कथालाई विश्वसामु देखाउने महत्वपूर्ण अवसर आफूहरूले पाएको प्रतिक्रिया दिए । उनले भने, ‘यो हाम्रो लागि निकै गौरवको कुरा हो । नेपालमा जुन पद्धतीद्वारा बालबालिकालाई ज्ञान दिइन्छ, त्यो सबैको अनुकुल नहुन सक्छ, कोही आफ्नै तरिकाबाट पनि सिक्न सक्छन् ।’
बालबालिकाको विषयले कम प्राथमिकता पाइरहेको बेला बालबालिका केन्द्रित दृष्टिकोणबाट बनेको फिल्मले अन्तर्राष्ट्रिय पहिचान पाउनुलाई कार्यकारी निर्मातामध्येका एक मधुसुदन रिमाल आफ्नो कामको सार्थकता प्रमाणित भएको दावी गर्छन् । उनी भन्छन्, ‘हामीले लिएको जोखिम र गरेको विश्वासले सार्थकता पाएको छ ।’
सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो ।
फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रूपमा लिइन्छ । यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरूको आवेदन पर्ने गरेको छ । छनौट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्महरूको प्रदर्शन गरिन्छ । महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरूको जमघट हुने गरेको छ ।
‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ ।
यस फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ पाएको थियो ।
ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठले लेखेका हुन् । विभु पौडेल क्रियटिभ प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी छ । विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।
फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ ।
सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’
त्यस्तै, अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो ।
‘बिग आइज बिग माइन्डस् : सिंगापुर इन्टरनेसनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र फिल्म महोत्सव हो । यस महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील फिल्महरूको प्रदर्शन र प्रतिष्पर्धा गरिन्छ ।
आउँदो मे १३ देखि १८ सम्म हुने ६६ औं फेस्टिभल ओवरहउसेन २०२० को निर्धारित मिति विश्वभरी महाभारीको रुपमा फैलिएको कोभिड–१९ को कारण हाललाई स्थगित गरिएको छ । ओवरहउसेनले अनलाइनमार्फत फेस्टिभल आयोजना गर्ने वा अर्को मिति तय गर्ने विषयमा निर्णय लिँदैछ ।
सिंगापुर फेस्टिभलले भने आफ्नो निर्धारित मिति जुन महिनालाई हालसम्म कायम राखेको छ ।