साप्ताहिक संवाददाता
संसारभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई लिएर उच्च सतर्कता अपनाउन थालिएको छ । जसकारण संसारका धेरैजसो ठाउँ ‘लकडाउन’को अवस्थामा छन् ।
नेपाल सरकारले पनि कोरोनाको जोमिख न्यूनीकरणका लागि स्कुल, कलेज र विश्वविद्यालयहरु बन्द गरेको छ, परीक्षाहरु स्थगित भएका छन् । लामो दूरीका सवारी चलेका छैनन् । अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ भने सीमा नाकामा आवागमन स्थगित गरेको छ । अत्यावश्यक बाहेकका सेवाहरु बन्द अवस्थामा छन् । सरकारको निर्णय अनुसार मंगलवारवाट एक सातालाई नेपाल पनि लकडाउन घोषणा भैसकेको छ ।
अहिले बालबालिकाहरु स्कुल बन्द भएर वा परीक्षा स्थगित भएर घरमै बसिरहेका छन् । यस्तो अवस्थामा उनीहरुको रेखदेख गर्न निकै जरुरी हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले बालबालिकाको तनाव थाहा पाउने एवं सावधानी अपाउनका लागि ‘गाइडलाइन’ जारी गरेको छ । जसबाट अभिभावकले आवश्यक कदम चाल्न सकून भन्ने उनिहरुको उद्धेश्य रहेको छ ।
के छ डब्लूएचओको ४ बुँदे गाइडलाइनमा
– बालबालिका तनावमा हुँदा डराउने, रिसाउने, उदास चिन्तित हुनेजस्ता व्यवहार देखाउँछन् । उनीहरुको यस व्यवहारलाई राम्ररी बुझेर उनीलाई माया, समर्थन र हेरचाह गर्नुपर्छ ।
– यस्तो गाह्रो समयमा बालवालिकाहरुलाई ठूला मान्छेको माया र हेरचाह चाहिन्छ । उनीहरुलाई पर्याप्त समय दिनुपर्छ । आफ्ना बच्चाहरुको सबै कुरा सुन्ने, दयालु हुने र सहयोग गर्ने गर्नुपर्छ । यदि सम्भव भएमा उनीहरुका लागि खेल्ने र आराम गर्ने व्यवस्था गरिदिनुपर्छ ।
– बालवालिकालाई आफ्ना आमावावु र परिवारसँग नजिक राख्नुपर्छ । उनीहरुलाई परिवारबाट टाढा राख्ने काम गर्नुहुन्न । यदि परिवारबाट केही कारणले छुट्टिनु परेमा फोन अथवा इन्टरनेटको माध्यमबाट उनीहरुसँग परिवारलाई जोडिरहनुपर्छ ।
– बालवालिकाको दैनिक कार्य र गतिविधी नियन्त्रण र व्यवस्थित बनाइनुपर्छ । उनीहरुलाई पढ्ने, खेल्ने र आराम गर्ने समय मिलाउनु जरुरी हुन्छ ।
बालवालिकालाई यस्तो समयमा के भइरहेको छ, के हुनेवाला छ र के गरी कम गर्न सकिन्छ भन्ने सत्य सूचना उनीहरुले बुझ्ने गरी बुझाउनुपर्छ । उनीहरुलाई यसका बारेमा थाहा दिएर के कार्य गर्ने र नगर्ने बुझाउनु पर्दछ, उनीहरुले बुझ्ने भाषामा । यो रोग लाग्दा के हुन सक्ने, परिवारका सदस्यलाई के हुन सक्ने, अस्पताल जानुपर्ने र केही समयपछि ठिक हुने जस्ता कुराहरुको ज्ञान दिनुपर्छ ।