कोरोना कहर : चामल किन्नका लागि साग बेच्नेको पीडा

- राधिका अधिकारी

चैत्र ११, २०७६

हरसाँझ व्यस्त हुने पाटनस्थित कृष्ण मन्दिर परिसर सोमबार सुनसान थियो । मन्दिर परिसर सुनसान भए पनि मंगल बजार छिर्ने गल्लीको मुखैमा दुईचार मुठा साग बेच्न बसेकी थिइन्, सिन्धुपाल्चोककी सरला बजगाईं । 

देशमा कोरोना भाइरस संक्रमण देखिएपछि सरकारले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन भनेपछि पाटन, मंगलबजार सुनसान भएको हो । तर सरलालाई साग बेच्नु नै अत्यावश्यक  काम  जस्तो भएकोे  छ  । ‘साग नबेचे चुल्हो बल्दैन’ उनी भन्छिन्, ‘कोरोनाबाट जोगिने भन्दा पनि छाक टार्ने चिन्ताले बढी सताउँछ ।’

सरलाले मंगलबजारको यो सडक पेटीमा मौसमअनुसारको तरकारी बेच्न थालेको १५ वर्ष भयो । घरमा उनका १८ वर्षका छोरा छन् । बिए पढ्न सुरु गरेका छोरालाई उनले कुनै काम लगाएकी छैनन् । काठमाडौं पसेको १५ वर्षपछि उनका श्रीमानले मजदुरीकै क्रममा ज्यान गुमाए । पति वियोगको पीडासँगै उनलाई जिम्मेवारीको बोझले थिच्यो । साग बेचेरै उनले छोरालाई बिएसम्म पढाईन् । छोरोलाई असल मान्छे बनाउने उनको सपना छ । 

बेच्न ल्याएको सबै साग बिक्यो भने उनललाई प्रतिदिन दुई सय ५० रुपैयाँ नाफा हुन्छ । तर अचेल पछिल्लो समय उनको व्यापार घटेको छ । कोरोनाको त्रासका कारण बजारमा मान्छेको चहलपहल घटेसँगै उनको व्यापार पनि घटेको हो । सोमबार उनले साग बिक्रीबाट ५० रुपैयाँ मात्र कमाईन् । ‘अब त्यति पैसाले के गर्नु ?’ उनले प्रश्न गर्दै भनिन्, ‘दिनभर कमाएर साँझ पेट भर्नेलाई ज्यानको भन्दा पेटकै बढी चिन्ता हुँदो रहेछ, त्यसैले चामल किन्न साग बेचिरहेछु ।’ खानेकुरासँगै उनलाई अब कसरी कोठाभाडा तिर्ने भन्ने कुराले सताउन थालेको छ । 

अभावबीच पनि सरला आफ्नो स्वास्थ्यप्रति सचेत छिन् । साथमा सेनिटाइजर बोकेर हिँड्छिन् । बेलाबेलामा सेनिटाइजरले हात पुछिरहन्छिन् । कोठाभित्र छिर्नुपहिले राम्ररी साबुनपानीले हात धुन्छिन् । 

सरलासँग कुरा गर्दैगर्दा ठेलाभरी तरकारी ठेल्दै आइपुगे उमेश कुमार साह । उनी एकैछिन कराए– ‘सयको डेढ किलो । हजुर जे लगे पनि हुन्छ । मिसाएर लगे पनि हुन्छ ।’ उनको आवाजसँगै मंगलबाजार आसपासका मानिस हुरुरु निस्के । आफ्नो रोजाइको तरकारी किनेर फर्किए । तरकारी किन्न झरेका सबैले माक्स लगाएका थिए । तर, उमेश माक्सबिनै तरकारी बेचिरहेका थिए । उनलाई माक्स लगाउनु पर्छ भन्ने थाहा छ । तर, माक्स लगाएर ग्राहक डाक्न सक्दैनन् ।

भारतबाट नेपाल पसेर उनले कहिले तरकारी कहिले फलफुलका ठेला गुडाउन लागेको लामै समय भयो । यो लामो समयमा नेपाली माटोमा कति वर्ष गुजारे ? उनी आफैंलाई थाहा छैन् । उनलाई आफूले यो माटोमा बिताएका वर्ष मात्रै होईन, सरकारले देश सम्पूर्ण रुपमा लक डाउन गरिसक्दा पनि कोरोनाका बारेमा सामान्य जानकारीसमेत छैन । उनकी श्रीमती पनि लगनखेल बसपार्क छेवैको फुटपाथमा तरकारी नै बेच्छिन् । उमेशका दुई छोरा कुरा बुझ्ने भइसकेका छैनन् । उनको परिवार चलाउन जसरी पनि व्यापार गर्नु छ । 

जुम्लाकी काली बुढा जुम्लाकै सिन्की र स्याउको सुकुटी बेच्दै थिइन् । कालीलाई कोरोनाबारे धेरै थाहा छैन । तर, हल्लासँगै साबुनपानीले हात धुन थालेकी छिन् । उनलाई कोरोना लागेर मरिने डर भन्दा व्यापार कम भएको चिन्ताले गाँजेको छ । काली, उमेश र सरला मात्रै होइनन्, दिनभर मजदुरी गरेर पेट पाल्नेहरुको प्रश्न छ, ‘सरकारले सुरक्षाका लागि लकडाउन गर्दा हामीहरु भोकभोकै मर्ने त होइनौं ?’

प्रकाशित :चैत्र ११, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×