साप्ताहिक संवाददाता
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन नदिन आजबाट सरकारले एक हप्ता ‘लक डाउन’ गरेको छ । आकस्मिकबाहेकका यातायात साधन चलेका छैनन्, नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाट ननिस्कन निर्देशन दिइएको छ ।
के हो लकडाउन ?
अत्यावश्यक कामबाहेक नागरिकलाई घर बाहिर ननिस्कन जारी गरिएकोे राज्य–निर्देशन नै ‘लक डाउन’ हो । यसमा औषधि–उपचार, खाद्यान्न ढुवानीजस्ता अत्यावश्यक कामबाहेक कसैलाई पनि घरबाहिर निस्कन प्रतिबन्ध लगाइन्छ । आकस्मिक कामका लागि निस्कनै परे सरकार अथवा सम्बन्धित निकायबाट अनुमति लिनुपर्छ ।
संकटको स्थितिमा राज्यले यस्तो लकडाउन गर्छ । यतिबेला कोरोना भाइरस संक्रमणको महामारी नफैलियोस् भनेर सतर्कताका लागि ‘लक डाउन’ गरिएको हो । यस्तो समयमा भोज–भतेर, यात्रा र भेलामा पनि प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा पूर्ण बन्देज गरिएको छ ।
स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक कुनै पनि प्रकारका सार्वजनिक तथा निजी गाडी चलाउन पाइँदैन । यस्तै सुरक्षा निकायले प्रयोग गर्ने वायु यान र अनुमतिप्राप्त अन्य उडानबाहेक सबै आन्तरिक तथा बाह्य व्यावसायिक उडान बन्द गरिन्छ । नेपालमा ‘लक डाउन’ घोषणा हुनुपहिले नै सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिएको थियो । ‘लक डाउन’को घोषणापछि जो जहाँ छ’, त्यहीँ सुरक्षित ढंगले बस्नुपर्छ ।
सेल्फ क्वारेन्टाइनमा बस्दा के गर्ने ?
अनूप सुवेदी, संक्रमण रोग विशेषज्ञ
क्वारेन्टाइन भनेको के हो ?
रोगको लक्षण नदेखिए पनि संक्रमित व्यक्तिको सम्पर्कमा आएको व्यक्तिको शरीरमा किटाणुहरू प्रवेश गरेको हुन सक्छ भनेर छुट्टै राख्नुलाई ‘क्वारेन्टाइन’ भनिन्छ । अहिलेको सन्दर्भमा कुनै लक्षण नदेखिए पनि कोही कोरोना संक्रमण फैलिएको देशबाट आएको छ भने उसलाई ‘क्वारेन्टाइन’मा राखिन्छ । कोरोना भाइरसको लक्षण १४ दिनसम्म देखिन सक्छ, त्यसैले ‘क्वारेन्टाइन’मा सामान्यतः १४ दिनसम्म राखिन्छ । यसका लागि राज्यले निर्धारण गरेको ‘क्वारेन्टाइन’ वा ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्छ ।
सेल्फ क्वारेन्टाइन भनेको के हो ?
कसैलाई कोरोना भाइरस संक्रमणको कुनै लक्षण देखिएको छैन, तर पनि संक्रमितको सम्पर्कमा आएको छ भने आफ्ना परिवारका सदस्यबाट छुट्टिएर घरकै एउटा कोठामा बस्नुलाई ‘सेल्फ क्वारेन्टाइन’ भनिन्छ । त्यस्तै, संक्रमणको अवस्था नियन्त्रणभन्दा बाहिर गैसकेको वा सरकारको स्रोत साधनले नधान्ने अवस्थामा रोगको लक्षण देखिन्छ या देखिँदैन भनेर चिकित्सकले निश्चित निर्देशन दिएर घरमै बस्न लगाउनु पनि ‘सेल्फ क्वारेन्टाइन’ हो ।
आइसोलेसन के हो ?
रोगको लक्षण देखिएको वा रोगको परीक्षणबाट पुष्टि भएको अवस्थामा बिरामीलाई आइसोलेसनमा राखिन्छ । रोगको लक्षण देखिएर पुष्टि भइनसकेको अवस्थामा पनि नेगेटिभ रिपोर्ट नआउन्जेलसम्म बिरामीलाई आइसोलेसनमा राखिन्छ । त्यो बेलासम्म उसलाई बाहिर निस्कन, परिवार र अन्य व्यक्तिसँग भेटघाट तथा सम्पर्क गर्न दिइँदैन । साथै चिकित्सकको टोली पनि आइसोलेसन वार्डमा जाँदा ‘प्रिकर्सन्स’ लगाएर जान्छन् ।
यदि कसैलाई सामान्य लक्षण देखिएको छ, अस्पताल भर्ना गर्नुपर्ने अवस्था छैन भनेचाहिँ ‘सेल्फ आइसोलेसन’का लागि पठाइन्छ । यद्यपि यस्तो अवस्थामा बिरामी चिकित्सकसँग नियमित सम्पर्कमा रहनुपर्छ ।
सेल्फ क्वारेन्टाइनमा बस्दा के गर्ने / नगर्ने ?
– जथाभावी खोक्ने वा हाछ्यूँ नगर्ने ।
– स्वास्थ्यवद्र्धक झोलिलो कुरा खाने ।
– एउटै कोठामा बसिरहने ।
– अनावश्यक बेला घर बाहिर ननिस्कने ।
– आफूले प्रयोग गरेका सामाग्री परिवारका अरू सदस्यलाई प्रयोग गर्न नदिने ।
– परिवारका सदस्यसँग नजिक गएर कुरा नगर्ने
– अनिवार्य मास्क लगाउने
– साबुनपानीले नियमित हात धुने
– दूरी कायम गर्ने
– शरीरको तापक्रम दैनिक जाँच गरिरहने
– लक्षण देखियो भने चिकित्सकसँग सल्लाह लिने
– छुट्टै बाथरूम प्रयोग गर्ने