रातको १ बजे । वीरगञ्ज सुनसान थियो । त्यति नै बेला घन्टाघरमा ना ५ ख १९५२ नम्बरको एउटा कन्टेनर आइपुग्यो । बस पार्कको प्रहरी स्टेसनले कन्टेनरलाई रोक्यो । चेकजाँच गर्दा एकै ठाउँमा कोचिएका ५२ ब्यक्ति भेटिए ! जो सरकारको ‘लकडाउन’ को उल्लंघन गरेर वीरगञ्ज पुगेका थिए ।
उनीहरुलाई रातभर कन्टेनरमै राखियो । बिहानपख सर्वसाधारणलाई क्वारेन्टाइनमा पठाइयो भने चालक शिवनारायण महरालाई नियन्त्रणमा लिइयो । बुधबार उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । सबै यात्रुको स्वास्थ्य परीक्षण गर्ने तयारी छ । परीक्षणको रिपोर्ट आएपछिमात्र उनीहरुलाई घर पठाउने या के गर्ने भन्ने विषयमा निर्णय लिइने पर्सा प्रहरीले जानकारी दियो ।
काठमाडौंबाट यात्रु हाल्दै वीरगञ्जसम्म
कन्टेनर मंगलबार काठमाडौंको हार्डवेयरका लागि आल्मुनियम लिएर आएको थियो । सामान झारेपछि वीरगञ्ज फर्कने क्रममा कन्टेनरले मान्छे ओर्सान थाल्यो । काठमाडौं, भरतपुर, हेटौडा हुँदै गएको गाडीले यी सबै स्थानबाट यात्रु बोकेको थियो । उनीहरुले प्रतिब्यक्ति सय देखि २ सयमसम्म भाडा तिरेका थिए ।
यसरी लकडाउनको समयमा बाटोभरी यात्रु बोकेर काठमाडौंबाट हेटौडा पुग्दासम्म कुनै पनि चेक प्वाइन्टका प्रहरीले गाडीलाई नियन्त्रणमा लिन सकेन । सरकारले अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाट बाहिर निष्कन निषेध गरेको छ । सवारी साधन चलाउन पनि पूर्णरुपमा रोक लगाइएको छ । यस्तो अवस्थामा निर्वादरुपमा लरी ५२ जना यात्रु बोकेर काठमाडौंबाट वीरगञ्ज पुग्नु पक्कै सुरक्षा निकायको कमजोरी हो ।
पर्साका डिएसपी बिरेन्द्रबहादुर शाही यात्रु बोकेर हिँड्ने ड्राइभरलाई संक्रमक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने बताउँछन् । ‘यसरी यात्रु बोक्ने ड्राइभरको लापरबाही देखिन्छ । कानुनअनुसार हामी उसलाई कारबाहीको दायरामा ल्याउँछौँ’ उनले भने ।
प्रारम्भिक सोधपुछका क्रममा चालक महराले यात्रुले बाटो छेकेर हारगुहार गरेपछि आफूले लरीमा चढाउन बाध्य भएको बयान प्रहरीसमक्ष दिएका छन् । यात्रुहरुले पनि अलपत्र परेका कारण आफूहरुले नै चालकलाई लरीमा चढाउन दबाब दिएको बताएका छन् । तर, यस सम्बन्धमा कुनै सोधपुछ हुन सकेको छैन । चालकको स्वास्थ्य परीक्षणपछि सोधपुछ गरिने डिएसपी शाहीले साप्ताहिकलाई जानकारी दिए ।