‘लकडाउन’ मा हेर्नुस् यी दश फिल्म : दीपकराज गिरीको सिफारिस

- अनिल यादव

चैत्र १२, २०७६

निर्माता तथा अभिनेता दीपकराज गिरीकै भाषामा भन्ने हो भने उनी विगत चार महिनादेखि ‘छक्कापन्जा–४’को स्क्रिप्ट तयारीका लागि अघोषित क्वारेन्टाइनमै थिए । 

जब कोरोना भाइरसको जोखिम बढ्यो, त्यसपछि आफू झन् कठोर क्वारेन्टाइनमा रहेको उनको दावी छ । यतिखेर उनी घरमै बसेर दर्शकमाझ कोरोनाविरुद्ध जनचेतनाका भिडियो सेयर गरिरहेका छन्, स्क्रिप्टको तयारीमा पनि जुटिरहेका छन् । 

‘फिल्म नै मेरा लागि पुस्तक’ भनिरहने उनी फुर्सदको समय फिल्म हेरेरै बिताइरहेका छन् । ‘छक्कापन्जा’ सिरिजको व्यापारिक सफलतासँगै नेपाली फिल्म क्षेत्रमा सुपरहिट निर्माताको ट्याग पाएका गिरी ‘लकडाउन’को समय सिर्जनात्मक क्षेत्रमा लगाउन सुझाव दिन्छन् । 

‘फिल्म ज्ञान वृद्धिको माध्यम हो, यसले मनोरञ्जन सँगसँगै सन्देश पनि दिन्छ, त्यसैले म मेरा दर्शकलाई फुर्सदको समय फिल्म उपयुक्त विकल्प हुनसक्छ भन्न चाहन्छु,’ उनले भने । 

‘लकडाउन’का कारण अल्छी मानिरहेका दर्शकलाई उनले हाँसोसँगै सन्देश दिने र आफूलाई निकै मन परेको पाँच फिल्म कारणसहित हेर्न सुझाएका छन् :

१) थ्री इडियट्स : 

आमिर खान अभिनित यो फिल्म मेरो सबैभन्दा फेभरेट हो । यो फिल्मले हँसाइ–हँसाइ मान्छेको जीवनमा रटानको पढाइभन्दा व्यवहारिक शिक्षा नै बढी महत्वपूर्ण हो भन्ने सन्देश रचनात्मक हिसाबले प्रवाह गर्छ । त्यसैले हेर्न छुटाउनुभएको भए, हेर्न सिफारिस गर्छु । दोहो¥याएर हेर्दा पनि फरक नपर्ने सिनेमा हो । 

२) मुन्ना भाइ एमबिबिएस : 

यो  फिल्मका दुवै सिरिज हेर्न सिफारिस गर्छु किनभने यी दुवै फिल्मले मनोरञ्जनसँगै बलियो शिक्षा पनि दिन्छन् । पहिलोले मेडिकल शिक्षाको विकृति र अव्यवहारिकताका बारेमा बोल्छ भने अर्कोले गान्धीगिरीलाई मुख्य विषय बनाएको छ । राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्मले दर्शकलाई हसाउँदा–हसाउँदै जसरी सन्देश प्रवाह गर्छ, म यो सिर्जनात्मक शैलीको त फ्यान नै हो । 

३) ट्वाइलेटः एक प्रेम कथा : 

मैले धेरैपल्ट हेरेको फिल्म हो यो । यो फिल्म हेरेपछि शौचालयको विषयमा पनि यति सुन्दर सिनेमा बन्न सक्दोरहेछ भन्ने मैले थाहा पाएँ । फिल्म बलिउडकै भए पनि यसले उठाएको विषय नेपाली समाजका लागि पनि उति नै सान्दर्भिक छ । 

४) हेराफेरी : 

अहिले कोरोनाका कारण जताततै मान्छेहरूमा त्रासको वातावरण देख्छु । मनोवैज्ञानिक त्रासका कारण मानसिक समस्या सिर्जना हुने परिस्थिति उत्तिकै बढिरहेको छ । यस्तो बेला मान्छेहरू दुःखी हुनुभन्दा पनि हाँस्न जरूरी छ । र, हाँस्नका लागि यो सिनेमा राम्रो विकल्प हुनसक्छ । 

५) ट्याक्सी नं. ९२११ :

नाना पाटेकर र जोन अब्राहम अभिनित यो अर्को त्यस्तो कमेडी थ्रिलर फिल्म हो, जसको पटकथा नै मलाई शक्तिशाली लागेको हो । फिल्ममा मुम्बई शहरको कथा छ र मुम्बई आफैंमा एउटा पात्रजसरी प्रस्तुत भएको छ । फिल्म मूलतः मनोरञ्जनकै लागि हो भन्ने कुरामा विश्वास राख्नेहरूका लागि यो फिल्म अर्को विकल्प हुन सक्छ । 

यी पाँच फिल्मसँगै दीपकले आफूलाई मन परेका पाँच नेपाली फिल्मको सूची समेत साप्ताहिकसँग बाँडेका छन् । दीपकको सुझाव छ– फुर्सद भए यी पनि हेर्नुस् ः

१) टलकजंग भर्सेस टुल्के

२) वडा नम्बर ६

३) पशुपतिप्रसाद

४) साँघुरो

५) बलिदान 

 

प्रकाशित :चैत्र १२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×