साप्ताहिक संवाददाता
दुबईबाट आएका थप एक जना व्यक्तिमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिएको छ । शुक्रबार टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गर्दा थप एक व्यक्तिमा कोरोना पुष्टी भएको हो ।
यससँगै नेपालमा कोरोना भाइरस पुष्टी हुनेको संख्या ४ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य तीन जनामध्ये दुई जनाको शुक्रराज ट्रपिकल अस्पताल, टेकुस्थित आइसोलेसनमा र अर्का एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त जानकारी दिएका हुन् । राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा थप एक जनाको कोभिड १९ को पोजेटिभ रिपोर्ट आएको बताए । ‘यो उपत्यकाबाहिर देखिएको पहिलो केस हो र नेपालमा देखिएको चौथो केस पनि हो,’ उनले भने, ‘अहिले नयाँ संक्रमित व्यक्तिको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ, उनी दुबईबाट आएका थिए ।’
डा. देवकोटाकाअनुसार ती व्यक्ति ११ चैतमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । त्यसपछि कोरोनाको शंकास्पद लक्षण भेटिएपछि उनको स्वाब परीक्षणका लागि टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । शुक्रबार उक्त स्वाबको रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको हो ।
डा. देवकोटाले पछिल्लो केससँगै उत्पयका बाहिर पनि संक्रमण भएका व्यक्तिहरु भएको देखिएको उल्लेख गर्दै क्वारेन्टाइनमा बस्न, लकडाउनलाई अनिवार्य रुपमा पालना गर्न आग्रह समेत गरेका छन् । ‘हामी घरघरैमा बस्नुपर्छ । संक्रमित व्यक्तिहरु अरु पनि हुन सक्नुहुन्छ, उहाँहरुले आफूले आफू सुरक्षित रहन र अरुलाई नसार्नका लागि क्वारेन्टाइनमा बसिदिनुपर्ने हुन्छ,’ उनले भने ।
उनले विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै स्वास्थ्य मन्त्रालयले बनाएका नियमहरु पलना गरिदिन समेत आग्रह गरेका छन् ।