साप्ताहिक संवाददाता
नोबेल कोरोना भाइरस (कोभिड–१९) ले रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरुलाई छिटो आक्रमण गर्छ । विशेषगरी वृद्ध र दीर्घरोगीमा यसको प्रकोप बढी हुन्छ । अहिले विश्वमा कोरोनाको प्रभावलाई हेर्ने हो भने पनि वृद्धवृद्धा, दीर्घरोगी र रोग प्रतिरोधी क्षमता कम भएका मानिसहरूको मृत्यु भएको पाइन्छ । तर जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, कोरोनाले त्यति धेरै असर गर्दैन । ‘लक डाउन’को बेला घरभित्रै बसेर कसरी रोग प्रतिरोधात्मक क्षमता बढाउने त ? मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले दिएको सुझाव यस्तो छ ः
मस्त निदाउने
निद्रा पुगेन भने रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसैले दैनिक ७ घन्टाभन्दा बढी समय मस्त निदाउनुपर्छ । मस्त निद्राका लागि सुत्नुअघि चिसो पानीले हातगोडा र मुख धुनुपर्छ । टेलिभिजन, मोबाइल र ल्यापटप खोलिएको छ भने बन्द गर्नुपर्छ । ओछ्यान राम्रोसँग सफा गर्नुपर्छ । फुर्सदको समयमा मोवाइल, टिभी र ल्यापटप चलाएर बेलुकी अबेरसम्म बस्नु राम्रो होइन ।
तनाव कम गर्ने
यतिबेला अधिकांश मानिसलाई कोरोना भाइरसको तनाव छ । यसका साथै आर्थिक, व्यावसायिक र सामाजिक तनाव पनि छन् । तनावले गर्दा हाम्रो शरीरमा कर्टिसोल हर्मोन उत्पन्न ह्ुन्छ । जसले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ । त्यसैले घरमा बस्दा अनावश्यक तनाव लिनु हुँदैन । ज्यान जोगियो भने सबै कुरा राम्रो हुन्छ ।
शरीरमा अन्य संक्रमण हुन नदिने
शरीरमा कुनै रोगले आक्रमण ग¥यो भने तत्कालका लागि इम्युनिटी पावर कमजोर हुन्छ । त्यसैले सामान्य रुघाखोकी र झाडापखालाबाट पनि जोखिनुपर्छ । जसका लागि चिसोबाट बच्नु पर्छ, जीवनशैलीलाई परिवर्तन गर्नु पर्छ ।
खानपानमा ध्यान दिने
इम्युन सिस्टमका लागि खानामा ध्यान दिनुपर्छ । दैनिक रूपमा सागसब्जी, फलफूल, अमिलो रस भएका फल (सुन्तला, कागती, जुनार, भोगटे आदि) पर्याप्त मात्रामा खानु आवश्यक छ । साथै काजु, बदाम, पेस्ता र ओखर दिनको कम्तीमा एक मुठ्ठी खानुपर्छ । इम्युन सिस्टमलाई चाहिने खनिज, प्रोटिन र एमिनो एसिड काजु, बदाम, पेस्ता, ओखरलगायतका खानेकुराले पूरा गर्छ । गेडागुडी र दूध–दही पर्याप्त मात्रामा खानु उपयुक्त हुन्छ । यस्तै मसलामा बेसार, अदुवा, लसुन, जिरा, मेथी, दालचिनी, जाइफल, ल्वाङ, सुकमेललगायतको प्रयोग राम्रो हुन्छ । अहिलेको अवस्थामा बेसार, अदुवा, लसुनको मात्रा बढाउनु पर्छ ।
नाचगान गर्ने
घरपरिवारमा रमाइलो गर्दा पनि शरीरमा इम्युनिटी पावर बढ्छ । जसका लागि परिवारका सदस्यबीच रमाइलो गर्ने, नाचगान गर्ने, व्यायाम, योगा, ध्यान गने र पुस्तक पढ्ने गर्नुपर्छ । यसो गर्नाले इम्युनिटी पावर बढ्छ ।
घरको काम गर्ने
यतिबेला घर बाहिर निस्कनु हुँदैन । त्यसैले घरभित्रको काममा ध्यान दिनुपर्छ । यसो गर्दा शरीर चलायमान हुन्छ । कसैलाई खाना बनाउन आउँछ भने भान्सामा सहयोग गर्न सकिन्छ । घरका अन्य थुप्रै काम हुनसक्छन् । त्यसमा ध्यान दिँदा रोग प्रतिरोधी क्षमता बढाउन मद्दत पुग्छ ।
यसो हुँदा घट्छ रोग प्रतिरोधात्मक क्षमता
– निन्द्रामा कमी
– मानसिक तनाव
– अत्याधिक शारीरिक गतिविधि
– धुमपान÷मद्यपान
– खानपानमा पोषक तत्वको कमी
– अस्वस्थ आहारको सेवन