साप्ताहिक संवाददाता
बेल्जियमबाट फर्किएकी बाग्लुङकी एक १९ वर्षीया युवतीमा कोभिड–१९ संक्रमण पुष्टी भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा थ्रोट स्वाब परिक्षण गर्दा शनिबार ती युवतीमा कोभिड १९ पोजेटिभ देखिएको हो ।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएका टेष्टहरुमध्ये थप एकमा पोजेटिभ देखिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भने, ‘यो पाँचौ केस हो । यो पनि काठमाडौं उपत्यकाभन्दा बाहिरको केस छ, अहिलेलाई । १९ वर्षीया महिला हुनुहुन्छ, जो बेल्जियमबाट कतार हुँदैं नेपाल आउनुभएको थियो ।’
डा. देवकोटाले चैत ४ गते ती युवती दोहाबाट काठमाडौं क्युआर ६५२ फ्लाइटबाट काठमाडौं फर्केको जानकारी समेत दिए । यही फ्लाइटबाट गत आइतबार कोभिड–१९ पोजेटिभ देखिएकी काठमाडौंकी युवती पनि दोहाबाट काठमाडौं आएकी थिइन् । प्रवक्ता डा. देवकोटाले अहिले ती युवती चिकित्सकको सम्पर्कमा रहेको र सामान्य अवस्थामा रहेको जानकारी समेत दिए ।
बेल्जियमबाट फर्किएकी युवतीमा शनिबार कोभिड–१९ देखिएसँगै नेपालमा यसबाट संक्रमित हुनेको संख्या ५ पुगेको छ । जसमध्ये गत माघमा पहिलो कोभिड–१९ संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर फर्किसकेका छन् । उनी चीनको बुहानबाट फर्किएका पुरुष थिए ।
दोस्रो संक्रमण ४ चैतमा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक विद्यार्थीमा देखिएको थियो । उनमा १० चैतमा कोभिड–१९ पोजेटिभ पुष्टी भएको थियो । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भैरहेको छ ।
तेस्रो संक्रमण १२ चैतमा युएईबाट आएका धादिङका ३२ वर्षीय युवामा पुष्टी भएको थियो । उनी ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिको पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचार भैरहेको छ ।
चौथो संक्रमित व्यक्तिमा १४ चैतमा कोभिड–१९ पुष्टी भएको थियो । ३४ वर्षीय ती युवा दुबईबाट नयाँदिल्ली हुँदै ७ चैतमा काठमाडौं ओर्लिएका थिए । त्यसपछि उनी भोलिपल्ट प्लेनबाट नेपालगन्ज र त्यहाँबाट हायसमा धनगढी पुगेका थिए । उनी धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ चैतमा उपचार गर्न भर्ना भएका थिए । उनको अहिले सेती अस्पतालमै उपचार भैरहेको छ ।