सरकारले ‘लकडाउन’ घोषणा गर्नु केही दिनअघिसम्म निर्देशक दीपेन्द्र लामा कास्कीको घाचोकमा ढुक्कसँग आफ्नो नयाँ फिल्म ‘दुई नम्बरी’को सुटिङ गरिरहेका थिए ।
सरकारले भीडभाड नगर्न र चलचित्र निर्माता संघले सुटिङ रोक्न आग्रह गरिरहँदा समेत उनी दयाहाङ राई, वर्षा राउत, पल शाह, भुटानी अभिनेत्री उगेन छोदेन आदि कलाकारसहित फिल्मको सुटिङमा व्यस्त थिए ।
तर, कोरोनाको जोखिम बढ्दै गएपछि सुटिङ सुरु भएको १० दिन नकट्दै रोकियो । फिल्मको जम्बो टोलीसहित उनी काठमाडौं फर्किए । ‘अझै ७५ प्रतिशत सुटिङ बाँकी छ,’ उनी भन्छन्, ‘अशान्त मन र मस्तिष्क लिएर काम गर्न गाह्रो भएकाले हामीले फिल्मको छायांकन लकडाउन हुनु केही दिनअघि नै रोकेका हौं । स्थिति सामान्य हुने बित्तिकै छायांकन यथावत गर्नेछौं ।’
चल्दै गरेको सुटिङ रोक्नुपर्दा पक्कै असर त पुग्यो तर अहिले चलिरहेको ‘लकडाउन’ त्यो असरलाई पनि फाइदामा परिणत गर्ने अवसर भएको छ उनका लागि । ‘म कोठामै फिल्मको पटकथालाई करेक्सन गरेर बसेको छु,’ उनले भने, ‘पटकथामा धेरै सुधार गर्ने अवसरका रूपमा यो लकडाउनलाई सदुपयोग गरिरहेको छु । त्यसबाहेक फिल्म हेर्ने र किताब पढ्ने त छँदैछ ।’
पत्रकारिता हुँदै फिल्म निर्देशनमा हात हालेका दीपेन्द्र लामो समय नेपाली फिल्म क्षेत्र र दर्शकका अघि फिल्म समीक्षकका रूपमा परिचित थिए । कुनै समय फिल्म समीक्षा गरेकै कारण उनी धेरै फिल्मकर्मीका आँखाको तारो थिए । कतिले त उनलाई ज्यानै मार्नेसम्मको धम्कीसमेत दिए ।
तैपनि रत्तीभर विचलित नभइ आफ्नो कर्ममा निरन्तर लागेका उनले हाल पत्रकारितालाई विश्राम दिएका छन्, फिल्म निर्देशनमै सक्रियता देखाइरहेका छन् । पहिलो फिल्म ‘घामपानी’को औसत व्यापारपछि हौसिएका उनले त्यसपछि ‘गोपी’ निर्देशन गरे । गाईपालक कृषकको कथामा आधारित ‘गोपी’बाट उनले नेसनल अवार्ड नै हात पारे ।
त्यसपछि दीपकराज गिरीको टिमसँग सहकार्य गरेर निर्देशन गरेको फिल्म ‘छ माया छपक्कै’को उत्साहजनक व्यापारका कारण ब्लकबस्टर फिल्मका निर्देशकको ट्यागसमेत पाएका छन् ।
यिनै समीक्षक तथा निर्देशक लामाले सिनेमा हेरेर आफ्नो फुर्सदको समय सदुपयोग गरिरहेका दर्शकका लागि आफूलाई मनपरेका पाँच सिनेमा सिफारिस गरेका छन् ।
प्रस्तुत छ सिनेमाको छोटो जानकारीसहितको सूची उनकै शब्दमा :
१) बावर्ची (१९७२)
हृषिकेश मुखर्जीले निर्देशन गरेको यो फिल्ममा एउटा आदर्श रहस्यमयी पात्रको चित्रण छ । कलहमा गाँजिएको परिवारलाई बाहिरको मान्छे आएर मिलाइदिएको व्यंग्यात्मक प्रसंग छ यो फिल्ममा । त्यसैले हेर्न सिफारिस गर्छु ।
२) नायक (१९६६)
सत्यजित रेले निर्देशन गरेको यो फिल्म एउटा सुपरस्टारको कथामा आधारित छ । सुपरस्टारको जीवन बाहिरबाट हेर्दा जति भव्य देखिए पनि भित्रभित्रै त्यो कति पीडादायी हुन्छ भन्ने यथार्थ यो फिल्ममा देखाइएको छ ।
३) ग्रीन बुक (२०१८)
यो पिटर फेरेलीले निर्देशन गरेको अमेरिकी फिल्मले अश्वेत पियानो वादक डन शर्ली र उसको गोरो ड्राइभर टोनी लिपको सम्बन्ध वर्णन गर्छ । अमेरिकामा रंगभेद कतिसम्म गाढा थियो, फिल्ममा हेर्न पाइन्छ । यो फिल्मले ओस्कारमा उत्कृष्ट फिल्मकै ट्रफी उचालेको थियो ।
४) द पोस्ट (२०१७)
वासिंगटन पोस्टका प्रकाशक र प्रधानसम्पादकले अमेरिकाको भियतनाम युद्धसम्बन्धी गोप्य दस्तावेज छाप्न गरेको संघर्ष र उठाएको जोखिममा आधारित छ यो फिल्म । स्टेभन स्पिलबर्ग फरक–फरक जनराका फिल्म निर्देशन गर्न माहिर छन् भन्ने यसले पनि प्रमाणित गर्छ । यो फिल्ममा मेरिल स्ट्रिप र टम ह्यांक्सको अभिनय तारिफयोग्य छ ।
५) लायन (२०१६)
भारतको भित्री गाउँबाट हराएको बालक कसरी अस्ट्रेलिया पुग्छ, जवान भएपछि कसरी आफ्नो गाउँ खोज्दै आइपुग्छ र वास्तविक परिवारसँग कसरी भेट हुन्छ, यो फिल्ममा मार्मिक ढंगमा देखाइएको छ । यो अस्ट्रेलियन फिल्ममा देव पटेलको अभिनय शानदार छ ।