कोरोना भाइरस (कोभिड–१९) को जाँच पाँच मिनेटमै गर्ने मेसिन तयार भएको छ । अमेरिकन कम्पनी एबोटले सबैभन्दा छिटो भाइरस परीक्षण गर्ने मेसिन तयार पारेको हो । यसअघि ल्याबमा मात्र विभिन्न चरण गरेर यसको परीक्षण हुँदै आएको थियो ।
अब यो मेसिनको सहयोगमा ५ मिनेटमै कोरोनाको नजिता आउने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । जसलाई अमेरिकी सरकारले परिक्षणको अनुमति दिइसकेको छ । अर्को साताबाट प्रयोगमा आउने यो मेसिनले दैनिक ५० हजार कोरोना भाइरस संक्रमणको परीक्षण गर्ने क्षमता राख्छ ।
एबोटका प्रमुख संचालक रोबर्ट फोर्डल मेसिनमार्फत छिटोभन्दा छिटो कोरोना भाइरस परीक्षण हुँदा उपचारमा पनि सहज हुने बताएका छन् ।
यो मेसिन चैत ५ गते नै लन्च गरिएको थियो । जसलाई १४ मात्र गते अमेरिकाको खाद्य तथा औषधि प्रशासनले अनुमति दिएको हो ।
यो समाचार तयार पर्दासम्म (आइतबार दिउँसोसम्म) विश्वभर ६ लाख ६५ हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये ३० हजार ८ सयको मृत्यु भएको छ भने १ लाख ४२ हजार ब्यक्ति निको भइसकेका छन् । अमेरिकामा सबैभन्दा धेरै १ लाख २३ हजारमा कोरोना संक्रमण देखिएको छ । जहाँ २ हजार २ सय २९ जनाको मृत्यु भइसकेको छ । चीन, इटली र स्पेनपछि कोरोना संक्रमणको उच्च जोखिममा अमेरिका देखिएको छ ।