नेपाली भाषीको बसोबास रहेको भारतको दार्जिलिङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । चैत १३ मा पश्चिम बंगाल मेडिकल कलेज एवं हस्पिटलमा भर्ना भएकी ती महिलामा १५ गते कोरोना भाइरस परीक्षण पोजेटिभ देखिएको थियो । त्यसको दुई दिनपछि सोमबार राति २ बजे उनको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
४४ वर्षीया ती महिला कालेबुङ निवासी हुन् । दार्जिलिङमा कोरोना भाइरसबाट मृत्यु हुने उनी पहिलो ब्यक्ति हुन् । दार्जिलिङमा संक्रमण हुनेको संख्या सोमबार बिहानसम्म १८ पुगेको छ । पश्चिम बंगालमा यि महिलाको मृत्युपछि मृतकको संख्या दुई पुगेको छ । गत साता कोलकत्तामा एकको मृत्यु भएको थियो । भारतमा सोमबार बिहानसम्म मृत्यु हनेको संख्या २८ छ ।
पहिल्यैदेखि स्वास्थ्यमा समस्या रहेकी ती महिला उपचारका लागि फागुन २४ गते चेन्नई गएकी थिइन् । अहिले उनीसँग उपचारका लागि गएकी छोरी र उनको उपचारमा खटिएका डाक्टर क्वारेन्टाइनमा छन् ।