साप्ताहिक संवाददाता
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रिय राहत कोषमा नेपाली सेलिब्रेटीको सहयोग श्रृंखला बढीरहेको छ ।
कोषका लागि कलाकारका तर्फबाट सहयोगको सुरुवात गायक प्रकाश सपुतले सुरु गरेका थिए । सरकारले चैत ९ गते कोष स्थापना घोषणा गरेको भोलिपल्ट नै गायक सपुतले दुई लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।
‘सेल्फ क्वारेन्टाइन’मा बस्न आफ्नै घर बाग्लुङस्थित धम्जा पुगेका उनले उतैबाट पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिषलाई चेक थमाउँदै यसलाई सरकारी कोषसम्म पुर्याउन अनुरोध गरेका थिए ।
फेसबुकमा प्रधानमन्त्रीलाई लामो पत्र लेख्दै उनले उक्त सहयोगबारे जानकारी गराएका थिए ।
यस्तै अभिनेत्री बर्षा सिवाकोटीले समेत आइतबार सहयोगको घोषणा गरिन् । उनले फेसबुकमा एक भिडियो पोस्ट गर्दै कोरोना राहत कोषका लागि एक लाख रुपैयाँ सहयोगको घोषणा गरिन् ।
लकडाउनले कोही पनि नेपालीको ज्यान नलिओस् भन्ने कामना गर्दै उनले सहयोग घोषणाका क्रममा भनिन्, ‘यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ तर विशेष गरेर दिनरात मजदुरी गरेर जिविकोपार्जन गर्नुहुने हाम्रा दाजुभाई–दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ ।
सरकारले उहाँहरुको लागी जतिसक्दो चाँडो राहतको व्यवस्था गर्नुहुनेछ भन्ने आशा गरौं । यसका लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा एक लाख जम्मा गर्न चाहन्छु । र, मेरो इच्छा यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओस्, जसले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ ।’
यसैगरी राहत कोषका लागि चलचित्र कलाकार संघले समेत सहयोगको घोषणा गरेको छ । संघका प्रवक्ता एवम् उपाध्यक्ष मोहन मैनालीले एक विज्ञप्तीमार्फत राहत कोषमा एक लाख एक हजार रुपैयाँ रकम सहयोग गरेको जानकारी दिएका छन् ।
त्यस्तै आफूले सकेको सहयोग गरौं भन्ने आग्रहसहित लोक गायक बद्री पंगेनीले कोषमा ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।
कोरानाको जोखिमका कारण चैत २८ मा रिलिज हुने तयारीमा रहेको फिल्म ‘चपली हाइट ३’को रिलिज अन्यौलमा परेको छ । यसले निर्माता अर्जुन कुमारलाई आर्थिक असर पुग्नु स्वभाविक हो । यद्यपी उनले सरकारको राहत कोषमा ५० हजार सहयोगको घोषणा गरेका छन् । लकडाउन सकिएपछि उक्त रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘मेरा देशका सुपरस्टारहरु कुन दुलोमा छन्, लौन खोजेर अलिअलि डोनेसन दिन लगाउनुपर्यो ।’
आफूूलाई महंगा कलाकार, महंगा निर्देशक र सुपरहिट फिल्मका निर्माता दाबी गर्नेहरु भने अझै किन मौन भनेर फिल्मवृत्तमा प्रश्न बढेपछि सदाबहार अभिनेत्रीकीको उपाधि पाएकी करिष्मा मानन्धरले अहिले मुख खोलेकी छिन् । तर, सहयोगको घोषणाका लागि होइन, त्यसरी प्रश्न गर्नेहरुलाई जवाफ दिनमात्रै ।
‘के भनेको के ? के सेलिब्रेटीले सबै समस्या समाधान गर्नु पर्ने ?,’ उनले आइतबार साँझ फेसबुकमा आक्रोश व्यक्त गर्दै लेखेकी छिन्, ‘अनि के काम सरकार को ? किन भोट गरेको हामीले ? के हामी धुर्मुस, सुन्तली हौं कि रबि लामिछाने ? हँ ? जानुस् तपाहरुको भगवानलाई खोज्नुस ! तर घर बस्नुस् ।’
करिष्माको यही स्टाटसमा प्रतिक्रिया दिदैं अर्की अभिनेत्री रेखा थापाले समेत सहमती जनाउँदै कमेन्ट गरेकी छिन्, ‘सेलिब्रेटीले कोरोना रोक्ने बजेट जुटाउने हो र ? परे राज्यले सबैको बैंक खाता कब्जा गर्लानी । अरुले यती दिए, उती दिएनन् भन्नु भन्दा सक्नेले दिऔं नसक्नेले मागौं । चन्दा फेसन जस्तो !’ भनेर लेखेकी छिन् ।