जनवरी अन्तिम साता दक्षिण कोरिया र हङकङमा सांगितिक कार्यक्रम तय भएका थिए । सामाजिक सन्जालमा चाइनामा यस्तो रोग आ’को छ रे भन्ने गाईंगुईं थियो । त्यति ‘सिरियस्ली’ लिएको थिइनँ । मैले मात्र होइन, सायद धेरैले ।
दक्षिण कोरिया हङकङ ट्रान्जिट भएर जाँदै थिएँ । हङकङ एयरपोर्टमा अरू बेला भन्दा निकै कडाइ गरिएको थियो । प्रत्येक इन्फर्मेसन काउन्टरमा मास्क राखिएको थियो र एयरपोर्टभित्रै ठाउँ–ठाउँमा हेल्थ डेस्क राखिएको थियो ।
त्यसपछि चाहिँ मनमा चिसो पस्यो र चाइनामा फैलिरहेको यो रोगले सीमापार गर्न सक्ने संकेतसमेत बुझियो । कोरियाको कार्यक्रम भव्य भयो । फर्केर हङकङको कार्यक्रम गर्नुपर्ने । मनमा डर पैदा भयो । डर २ वटा थियो । एक कार्यक्रम स्थगित हुने हो कि ! अर्को हामीलाई पनि केही हुने हो कि !
आयोजक एलजी ग्रुप त्यहाँको स्थापित संस्था हो । पन्ध्रौं पटक लालीगुराँस नाइट हुँदै थियो । नेपालबाट दर्जनभन्दा बढी स्थापित कलाकार गएका थिए । कार्यक्रम भव्य भयो । तर, उपस्थित सबै दर्शकले मास्क लगाएका थिए । हामीले हङकङको बसाइ २ दिन छोट्याएर भोलिपल्टै नेपाल फर्कियौँ ।
नेपाल फर्केर पनि म पूर्वनिर्धारित मेला महोत्सवमै व्यस्त भएँ । पहिलो चलचित्र ‘परदेशी–२’ मा आबद्ध भएर छायाङ्कनका लागि फ्लोरमा जाने तयारी भएकाले म स्क्रिप्टमा घोत्लिएको थिएँ । सामाजिक सन्जाल र अन्य सम्पर्कबाट अलि टाढा रहन खोजिरहेको थिएँ ।
नयाँ स्टेज शो लिएको थिइनँ । यद्यपि इजराइल र बहराइनको कार्यक्रम तय भएको थियो । त्यसैबीच कतार गएँ । त्यतिबेलासम्म चीनमा कोरोना महामारीको रूपमा फैलिसकेको थियो ।
विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई चाइनाबाट उद्दार गरेको खबर आइरहेको थियो । त्यसैले विश्वभरि भाइरसको डर र खबर एकाएक फैलियो । तथापि हामी ‘परदेशी–२’ को छायाङ्कनका लागि पोखरा हिड्यौँ । म त्यसै–त्यसै दंग थिएँ । सानैदेखिको चलचित्र खेल्ने सपना पूरा हुँदै थियो ।
तर, भाइरसले चाइनाको सीमापार गर्यो र विश्वका विभिन्न मुलुकमा फैलियो । नेपालमा पनि त्रास सुरु भयो । मैले काठमाडौं भएका आफ्नो परिवारका सदस्यलाई गाउँ जान आग्रह गरेँ । पोखरा पनि सुनसान थियो । हरेक दिन साँझ सुटिङ सकेर लेकसाइडतिर टहलिन जाँदा पनि ‘यो पोखरा नै हो र ?’जस्तो लाग्थ्यो । तथापि काठमाडौंमा जस्तो भीडभाड र त्रास पोखरामा नभएको र छायांकन वरपरका गाउँमा भएकाले रोक्नु परेन ।
तर, लकडाउन गर्ने तयारीसहित प्रधानमन्त्रीज्यूले सम्बोधन गरेकै दिन निर्देशक नारायण रायमाझी सरले सुटिङ रोक्ने निर्णय गर्नुभयो । म र मेरो भाइ देवेन्द्र बब्लु (जो, चलचित्रमा सहायक निर्देशक र कलाकार हो)ले पोखराबाट काठमाडौं नगइ सिधै गाउँ आउने निर्णय गर्यौं र शनिबार गाउँ आइपुग्यौं ।
ब्याक टू भिलेज लाइफ
एसएलसीपछि मैले गाउ छोडें । पढ्ने रहर र केही बन्ने सपना त छँदै थियो, त्योभन्दा बढी पारिवारिक जिम्मेवारी । सदरमुकाम झरेपछि मैले मेरो पढाइ, सपना र जागिरलाई सँगै अगाडि बढाएँ । पढाइका लागि प्लस टु भर्ना भएँ । सपनाका लागि बोल्न, कम्प्युटर सिक्न र कलाकारहरूसँग संगत बढाउन थालेँ । जागिर मतलब ? के–के गरिएन र ?
यसरी नै आजको दिनसम्म ढुक्कले गाउँ आएर बस्न पाइएन । अरू साना–तिना चाडपर्वमा त कहिल्यै आइएन । खर्च किन गर्ने भन्ने पनि हुन्थ्यो । गाउँ आउन जान दुःख पनि हुन्थ्यो । त्यसैले दशैंमा करले एक थोप्लो टिका थापेर २ दिन बसेर फर्किन्थें । आमाले व्यङ्गय गर्नु हुन्थ्यो– पखेटा हालेका बचेरालाई गुँडमा बस्न मन लाग्ने रै’नछ ।
यद्यपि बाबा घर बस्न थालेदेखि चाहिँ म सानोतिनो बहानामा गाउँ आइरहन्छु । किनकि बाबासँग धेरै समय बिताउन पाइएन । उसै पनि कलाकारितामा स्थापित भएपछि गाउँको विकास निर्माण लगायतको काममा मलाई सम्झिने, सरसल्लाह लिने गरिन्छ । त्यसैले, म आइरहन्छु । तर, ‘आ’को छ रे भनि नसक्दै गयो रे’ भन्ने टाइपको ।
लकडाउन हुने भएपछि हामी गाउँ आउने खबरले बा–आमा असाध्यै खुशी हुनुहुन्थ्यो । चलचित्रको छायाङ्कन तालिकाका कारण बिहानै उठ्ने बानी परेकाले शनिबार गाउँ आएँ । आइतबार बिहानै उठेँ । घरनजिकै गएर केही एक्सरसाइज गरेँ । घाम उदाएको हेरेँ । चराचुरुङ्गी ब्यूँझिएको सुनेँ । तातो दूध पिएँ । मकै र भट्ट खाएँ । बाबासँग गफिएँ । बिहानको खाना, लोकल कुखुराको मासुको झोल र कोदोको ढिँडो खाइयो । दिउँसो गहुँको रोटी र अचार, साँझ दूध र भात । चिसो पानी, आहा !
गाउँको क्वारेन्टाइन यसरी नै बितिरहेको छ । इन्टरनेट त्यति नचल्ने भएकाले मोबाइलमा झुण्डिएका छैनौँ । परिवारका सदस्य बसेर गफिन्छौँ । सबै मिलेर खाना पकाउछौँ ! सँगै बसेर टिभी हेर्छौं । कहिलेकाहीँ गीत गाएर रमाइलो गर्छौं । दिउँसो एकछिन घरमै क्यारमबोर्ड खेल्छौँ । गीता पढिरहेको छु । मुड हुदा केही लेखिरहेको पनि हुन्छु ।
छोरी प्रविष्टिसँग समय बिताउन पाइरहेको छु । उसलाई गाउँको उकाली–ओराली र जनजीवन चिनाइरहेको छु । घरमास्तिर एउटा सानो डाँडा छ र डाँडामा चौतारी छ । साँझ त्यहाँ जान्छु र घाम अस्ताएको हेर्छु । पर–पर क्षितिज देखिन्छ । घण्टौंसम्म चुपचाप बस्छु । मनै आनन्द हुन्छ ।
गाउसँग जोडिएका बाल्यकाल र बैंसका साथीसंगी र दुःख–सुख सम्झिन्छु । आमाबाबासँग त्यो समयको गाउँघरको परिस्थिति र घट्ना परिघटनाका बारेमा सोधि–सोधि कुरा सुन्छु । लेख्नलाई, भन्नलाई, देखाउनलाई धेरै कुरा छन् गाउँमा । एक अर्थमा त मलाई फाइदै भएको छ ।
अलि–अलि धन कमाएपछि गाउँ छोडेर सहर पस्ने चलन छ । हामी अहिले बसेको गाउँको घर पनि एक जना इन्डियन लाहुरेको हो । उनी धन कमाएर सहर पसे । मैले गाउँ नछोड्ने भनेर बाबा र म मिलेर यो घर किन्यौं ।
‘बोल माया’ र ‘गलबन्दी’ गीतमा यो घर देखाइएको छ । गाउँको घरमा पैसा हाल्यो भनेर केही आफन्तले हामीलाई खिसी पनि गरे । तर, अहिले आएर सबैले गज्जब गर्यौ भन्छन् । सहरको जस्तो दैनिकी यहाँको हुँदैन । यहाँको जीवन सधैं एकनासको हुन्छ । त्यसैले सहरमा जस्तो गाउँमा लकडाउनले जनजीवन प्रभावित हुँदैन । न पानी आएन भन्ने पीर । न ग्यास सकियो भन्ने चिन्ता । न भीडभाडको डर । न फोहोरमैला । आलु पोलेर खाए पनि भयो । पिँडालु उसिनेर खाए पनि भयो । मकै भुटे खाजा पनि भयो । मकै पिसे खाना पनि भयो । त्यसै अगार्निक जुगाड र प्राकृतिक मेडिटेसन छ गाउँमा । सहर पस्नु मात्रै सुख होइन । त्यसैले मलाई लाग्छ, सुखको परिभाषा बदलौं । गाउँ सिगारौं । गाउँ बनाऔं । गाउँ नछोडौं । गाउँ फर्किऔं ।