गत हप्ता बेलायती राजकुमार चाल्र्सलाई कोराना भाइरस संक्रमण भएको पुष्टि भयो । चाल्र्स ७ दिन सेल्फ आइसोलेसनमा बसेर बाहिर आएका छन् । कोरोना संक्रमित भएपछि ७१ वर्षीय चाल्र्स स्कटल्याण्डमा ७ दिन सेल्फ आइसोलेसनमा बसेका थिए । सोमबार उनी चिकित्सकसँगको परामर्शपछि आइसोलेसनबाट बाहिर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
राजकुमार चाल्र्ससँगै बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, स्वास्थ्यमन्त्री म्याट हानकक, उप स्वास्थ्यमन्त्री नदिन डोरिसलाई पनि कोभिड–१९ को संक्रमण देखिएको बिबिसीले जनाएको छ । यी घटनाले विश्वभर फैलिरहेको कोरोना भाइरसले सर्वसाधारणदेखि हाइप्रोफाइल समेतलाई छोडेको छैन भन्ने पुष्टि हुन्छ ।
दुई साताअघि स्पेनका प्रधानमन्त्री पेन्द्रो सान्चेजकी श्रीमती बेगोना गोमेजमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गोमेजसँगै स्पेनका दुई मन्त्री इरेने मोन्तेरो र क्यारोलिना दारियास पनि कोरोना संक्रमित भएका छन् । युरोपमा कोरोना भाइरसबाट इटलीपछि स्पेन सबैभन्दा बढी प्रभावित भएको छ । मंगलबारसम्म कोरानाका कारण स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाइसकेका छन् भने ९५ हजार मानिस संक्रमित छन् ।
यसअघि अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि कोरोना भाइरस संक्रमित भएका थिए । कोरोनाको लक्षण देखिए लगत्तै अस्पताल भर्ना भएका डटन उपचारपश्चात चिकित्सकको परामर्श लिएर घर फर्किएको जनाइएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइरलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुईसाता अघि बेलायतको एक कार्यक्रमबाट फर्केपछि उनमा कोरोना संक्रमण देखिएको हो । श्रीमतीमा कोरोनाको संक्रमण देखिएपछि ट्रुडो पनि १४ दिन सेल्फ आइसोलेसनमा बसेका छन् ।
मध्यपूर्वी देश इरान कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित छ । करिव दुई हप्ता पहिले इरानका उपराष्ट्रपति इसक जहानगिरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । साथै सांस्कृतिक सम्पदा तथा पर्यटन मन्त्री अलि असगर मौनेसन र खानी तथा उद्योगमन्त्री रेजा रहमानीलाई पनि कोरोना संक्रमित भएका छन् । करिव एक महिना पहिले इरानका कार्यवाहक स्वास्थ्य मन्त्री इराज ह्यारिचीमा पनि कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । हालसम्म त्यहाँ २ हजार ८ सय ९८ जनाले ज्यान गुमाइसकेका छन् भने ४४ हजार ६ सय ५ जना संक्रमित छन् ।
यस्तै फ्रान्सका संस्कृतिमन्त्री फ्रयांक रियस्टर पनि कोरोना संक्रमित भएका छन् । दुई साता अघि फ्रान्सको संस्कृति मन्त्रालयले रियस्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको थियो । फ्रान्स पनि कोरोना भाइरस अति प्रभावित मुलुकमा पर्छ । वल्र्डोमिटर्सका अनुसार फ्रान्समा हालसम्म ३ हजार ५ सय २३ जनाले ज्यान गुमाइसकेका छन् भने करिव ५२ हजार मानिस संक्रमित छन् ।
यस्तै, दक्षिण छिमेकी मुलुक भारतमा गायिका कनिका कपुरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनमा एक साता अघि कोरोनाको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
लखनउस्थित सञ्जय गान्धी पोष्ट ग्र्याजुएट इस्टिच्युट अफ मेडिकल साइन्स अस्पतालमा उपचाररत कपुरको मंगलबारको पाँचौं रिपोर्टमा पनि कोरोना पोजेटिभ देखिएको दैनिक भास्करले जनाएको छ । अहिले कपुरको स्वास्थ्यमा सुधार हुँदै आएको अस्पतालका निर्देशक डा.आर. के. धिमानले बताएको दैनिक भास्करमा उल्लेख छ । अब कनिकालाई अस्पतालबाट कहिले डिस्चार्ज गरिन्छ त भन्ने प्रश्नमा डा. धिमानले कनिकाको दुईवटा कोरोना भाइरसको परिक्षण नेगेटिभ नआएसम्म डिस्चार्ज नहुने बताएको उल्लेख गरिएको छ । यतिबेला भारतमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण थुपै्र सेलिब्रिटीहरू सेल्फ आइसोलेसनमा बसेका छन् । भारतमा अहिलेसम्म कोभिड–१९ को संक्रमणबाट ४५ जनाले ज्यान गुमाइसकेका छन् भने १ हजार ५ सय ९० जना संक्रमित भएको जनाइएको छ । विश्वभर कोरोना संक्रमितहरूको संख्या ८ लाख ६० हजार १ सय ७० पुगेको वल्र्डोमिटर्सले जनाएको छ ।
जसले ज्यान गुमाए
गत आइतबार स्पेनकी राजकुमारी मारिया टेरेसाको नोबेल कोरोना भाइरसको संक्रमणबाट निधन भयो । एक साताअघि स्पेनिस क्लब रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जले पनि कोरोना भाइरसको संक्रमणकै कारण ज्यान गुमाउनुपर्यो । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए । उनकै पालामा रियलले च्याम्पियन्स लिग फुटबलको दुई पटक उपाधि जितेको थियो ।
यस्तै जापानमा पनि कोरोनाको महामारी फैलँदो क्रममा छ । भाइरसको संक्रमणका कारण जापानका चर्चित कमेडियन सामुराको मृत्यु भएको छ । निमोनियाको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका सामुरामा मार्च २३ मा कोरोना पोजेटिभ देखिएको थियो । सोही संक्रमणका कारण ७० वर्षीय सामुराको गत आइतबार निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाकी एथलेटिक्स खेलाडी मेरी रोमनको एक साताअघि कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । ८३ वर्षीया रोमनले आफ्नो स्पोर्टस् करिअरको समयमा सयौं पदक जितेकी थिइन् । साथै उनी पछिल्लो समय विभिन्न उमेर समूहका खेल प्रतियोगितामा त्यत्तिकै सक्रिय थिइन् । यतिबेला अमेरिका विश्वमा सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुनेमा पर्छ । जहाँ हालसम्म १ लाख ८८ हजार ५ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ५५ जनाको मृत्यु भएको वल्र्डोमिटर्सले जनाएको छ ।
साथै इरानमा कोरोना भाइरसको संक्रमणबाट केही सांसद तथा उच्चपदस्थ अधिकारीहरूको समेत निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, अन्य केही खेलाडीहरूले पनि कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
अहिलेसम्म विश्वका २ सय देशमा फैलिसकेको कोरोना भाइरसको महामारीबाट विश्वभर ४२ हजार ३ सय ४४ जनाले ज्यान गुमाइसकेका छन् ।